प्याजको कालोबजारी गरे वाणिज्य विभागले कारबाही गर्ने

प्याजको कालोबजारी गरे वाणिज्य विभागले कारबाही गर्ने

काठमाडौं । दैनिक उपभोग्य वस्तु प्याजको कालोबजारी गरेको पाइएमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने चेतावनी दिएको छ । 

विभागले विज्ञप्ति जारी गर्दै प्याजको कालोबजारी गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको हो ।सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि बजारमा प्याजको कालोबजारी बढेको छ । 

व्यापारीले आन्दोलनका नाममा भारतबाट प्याज आयात नगर्ने र लुकिछिपी ल्याइएको प्याजलाई चर्को मूल्यमा उपभोक्तालाई बेचिरहेका छन् । बजेट भाषणअघि थोक बजारमा प्रतिकिलो ३५ रुपैयाँमा पाइने प्याजको खुद्रा मूल्य व्यापारीले मनोमानी तोकेर प्रतिकिलो १२० रुपैयाँसम्म कायम गरेका छन् । 

विभागका कर्मचारी अनुगमनमा जाँदा कालोबजारी गरेको नपाइएको महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए । कालिमाटीका ठुला होलसेलर र आयातकर्ताको गोदाममा छापा मार्दा जम्मा २ दाना प्याज भेटिएको ठाकुर बताउँछन् । खुद्रा पसलमा समेत अनुगमन गर्दा नभेटिएको विभागले बताउँदै आएको छ । 

तरपनि बजारमा छ्यापछ्याप्ती कालोबजारीको प्याज चर्को मूल्यमा किन्न उपभोक्ता बाध्य छन् ।

press-relesce-consumer-protection2080-03-011686980820.jpeg