काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले परीक्षा नियन्त्रक र सहायक परीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो ।
परीक्षा नियन्त्रक देवसिह नाथले १२/१५ जना समाजवादीका नेता कार्यकर्ता कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए ।
सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ ।
विद्यार्थीहरूको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्वपूर्ण कागजातमा समेत नोक्सानी पुगेको परीक्षा नियन्त्रक नाथले बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका अनुसार अहिलेकै अवस्थामा परीक्षासम्बन्धी कुनै पनि काम गर्न सकिने अवस्थामा छैन मुख्य कम्प्युटरमा नै क्षति भएको छ । कार्यकक्षमा आएर तोडफोड गर्ने विरुद्ध प्रहरीमा निवेदन दिइएको छ ।
एक महिनाअघि समाजवादी निकट विद्यार्थी संगठनले छैठौं सेमेष्टरको समाजशास्त्र विषयको प्रश्नपत्र गत वर्षकै दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै परीक्षा नियन्त्रक र सह–परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको थियो ।
गतसाता स्वतन्त्र विद्यार्थीले परीक्षा नियन्त्रकको कार्यालयमा लगाएको तालाले तोडेका थिए ।
विद्यार्थीले ताला तोडेपछि शुक्रबार त्यसको विरोधमा समाजवादी निकट विद्यार्थी संगठनले कार्यकक्षमा तोडफोड गरेको हो ।
समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न माग राख्दै लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको छ।