सिंहदरबार जनताको लागि आएको भन्न लाज मान्नुपर्ने होइन र ? गाउँ/गाउँमा सिंहदरबार भनेको के ? प्रदेश र स्थानीय सरकार आएपछि हामीलाई फाइदा के ? यी प्रश्नहरूले मेरो मन बारम्बार घोचिरहन्छन् । घर/घरमा अर्थात् गाउँ/गाउँमा सिंहदरबार भन्नुको अर्थ पहिले काठमाडौंमा मात्रै एकीकृत भएको सिंहदरबारबाट दिइने सेवा अहिले घर/घरमा अर्थात् गाउँ/गाउँमा विभाजन गरियो भनेको होइन र ?
तर, मलाई लाग्छ गाउँ गाउँमा सिंहहरू त आए तर दरबार आएन । नत्र तपाई आफैँ भन्नुहोस् के साँच्चिकै पुगेको छ त सोझा सीधा गरिब दुखी जनताका घर/घरमा सिंहदरबार ? के यस्तैलाई गाउँ/गाउँमा सिंहदरबार भन्छन् ? मेरो विचारमा भन्दैनन् । भन्दै/भन्दैनन् !
यदि घर/घरमा सिंहदरबार आउँथ्यो भने अहिले पनि कतिपय गाउँ बस्तीका मान्छेहरूले खाद्यान्न जुटाउन घण्टौँ हिँडेर कसरत गर्नुपर्ने थिएन होला । भोक/भोकै बाच्नुपर्ने थिएन होला । नेपाल जस्तो जलस्रोतको धनी देशमा प्रशस्त सम्भावना हुँदाहुँदै जनताहरू अँध्यारोमा बस्नुपर्ने बाध्यता हुने थिएन होला ।
फोन गर्नलाई अग्ला/अग्ला डाँडाकाँडा उक्लिनुपर्ने थिएन होला । गाउँघर अनि पहाडका विद्यार्थीहरू स्कुल/कलेज खोज्दै सहर बजार धाउनुपर्ने थिएन होला । कोही कसैले पनि अस्पतालमा नपुगी अकालमै ज्यान गुमाउनु पर्ने थिएन होला । अझै पनि हाम्रो गाउँमा सडक पुगेको छैन भनी दुखेसो पोख्नुपर्ने थिएन होला ।
खासगरी जनताले खोजेको यिनै आधारभूत सुविधा होइन र महोदय ? यी सुविधा नै नपुगेका ठाउँमा सिंहदरबार पुगेको छ भन्न मिल्छ होला र ? मलाई त मिल्दैन जस्तो लाग्छ ।
मलाइ त सुन्दा पनि अचम्म लाग्छ कतिपय ठाउँमा अहिलेसम्म सडक बाटो पुगेकै छैन, विद्युत्को सुविधा छैन, इन्टरनेटको त कुरै छोडौँ फोनले समेत राम्रो काम गर्दैन । अन्य विकासको झन् के कुरा गरौं ! तरपनि तिनै ठाउँमा गएर सिंहदरबार पुगेको ठुला ठुला भाषण छाँटिन्छ । यो लाजमर्दो होइन र ? तीन तहको सरकार आयो अब त सबैलाई सुविधा हुन्छ भनेर हिजो चुनावमा नारा घन्काउनेहरू आज महाराज बनेर सिंह झैँ गाउँ/गाउँका दरबारमा बसेका छन् ।
आज लाखौँ युवाहरू विदेशी भूमिका आफ्नो पसिना बगाउँदै छन् । नेपालमा रोजगारी सिर्जना हुने सम्भावना छैन । युवालाई देशको नेतृत्वप्रति कुनै आस छैन । विदेश पलायनको डरलाग्दो तथ्याङ्क छ । हाल १९ महिनामै रोजगारीमा जानेको सङ्ख्या १३ लाख पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन विदेश जानेहरूको लर्को हुन्छ । अध्ययन, रोजगारी वा भिजिट भिसाको नाममा उतै हराउने, जसरी भए पनि विदेश जाने प्रवृत्ति बढ्दो छ ।
खै अब कसरी गर्ने जनताले यी महाराजहरूको विश्वास ? सबैको उस्तै चाल छ । संघ ,प्रदेश र स्थानीय तिनै तहमा हुने गरेका गतिविधिबाट जनताहरू सन्तुष्ट देखिँदैनन् ।
देशको संरचना परिवर्तन भएपछि जनप्रतिनिधि र तिनका नजिकका नातागोतालाई मात्र फाइदा भएको सजिलैसँग देख्न सकिन्छ । जनप्रतिनिधिहरूमा एक पटक मात्रै भए पनि नेतृत्व गर्ने र आफ्नो समृद्धितिर ध्यान दिने प्रवृत्ति देखिन्छ । अर्को पटक जनताले विश्वास गर्ने छैनन् भन्ने कुरा बुझेरै होला जनताको लागि काम गर्ने भन्दा पनि कसरी कमाउने भन्ने तिर बढी चासो दिने गरेको देखिन्छ ।
आफ्नालाई रोजगार दिने, ठेक्का पट्टा दिने, बजेट हिनामिना गर्ने लगायतका काम हुने गरेका छन् । अनि कसरी जनताहरूलाई सुविधा दिन, काम गर्न सकिन्छ ? कसरी हुन्छ देशको विकास ।
केही रोजगार खुले पनि नातेदारलाई जागिर खुवाउने । यो देश नेताहरूको आफ्नै निजी कम्पनी जस्तो भएको छ । न देशमा क्षमतावान् युवा बस्ने वातावरण छ, न पढेकालाई रोजगार मिलेको छ ।
जनताले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवा समेत पाएका छैनन् । त्यही भएर होला अहिले धेरै मानिसलाई देशमा बस्न मन लाग्दैन । देशमा बस्नलाई कुनै पार्टीको कार्यकर्ता, नेतासँग पहुँच हुनुपर्छ ।
गरिब निमुखाहरूले देशमा मौका पाउन निकै मिहिनेत गर्नुपर्छ । कहिले आउला खोइ जनताको दिन ? कहिले होला सबैलाई निष्पक्ष न्याय रु कहिले होला चौतर्फी विकास ?
कहिले ? कहिले ? कहिले ?