काठमाडौं । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी र एक जना स्थानीय घाइते भएका छन् । ढुंगामुढा प्रहारबाट नं.३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन् ।
ड्युटीमा रहेको सशस्त्र प्रहरीमाथि एक्कासी ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा सोही उपमहानगरपालिका १४ बस्ने १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका हुन् ।
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट शुक्रबार राती ९ः३० बजे नम्बर ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो ।
हार्डवयरका सामानको पुरा भन्सार तिरेको नपाइएपछि सशस्त्र प्रहरीले सामान बरामद गरेको हो ।
तर, भन्सार छलिका उक्त सामान फिर्ता पाउनुपर्छ भनि ल्याउने व्यक्तिहरु र स्थानीय बासिन्दा करीब १ सयदेखि १२० जना भेला जम्मा भई ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेका थिए ।
तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र विओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गरेपश्चात फिर्ता भए ।
तर, सामान ल्याउने व्यक्तिहरु पुनः रातको १०ः३० बजे सो स्थानमा आई ड्युटीमा रहेको सशस्त्र प्रहरीमाथि एक्कासी ढुंगामुढा गरेर भाग्ने क्रममा स्थानीय घाइते भएका हुन् ।
सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।