उड्डयन प्राधिकरणले सोध्यो काठमाडौं महानगरका मेयरलाई स्पष्टीकरण

उड्डयन प्राधिकरणले सोध्यो काठमाडौं महानगरका मेयरलाई स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण मागेको छ । महानगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लगाएको फेन्सिङ तारबार काटेपछि प्राधिकरणले स्पष्टीकरण मागेको हो ।

प्राधिकरणका उपप्रबन्धक प्रकाशचन्द्र शर्माले शुक्रबार पत्र पठाएर स्पष्टीकरण मागेका हुन् । महानगर प्रहरीको टोलीले जेठ ३२ मा काठमाडौं–९ स्थित प्राधिकरणको जग्गामा लगाएको फेन्सिङ तारबार काटेको थियो । प्राधिकरणका कर्मचारीले सोधपुछ गर्दा महानगर प्रमुख बालेनको आदेश बमोजिम काटिएको जवाफ दिएको प्राधिकरणले जनाएको छ । 

त्यसैले मेयर साहको प्रत्यक्ष संलग्नता रहेकाले सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ । तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानून बमोजिम कारबाही गरिने प्राधिकरणले चेतावनी समेत दिएको छ ।

प्राधिकरणले भनेको छ', 'फेन्सिङ तारबार काटी लैजाने कार्यमा तपाईंको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसूरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन गर्ने हो? यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० जेठ ३२ को निर्णयानुसार जानकारी गराइन्छ ।'