काठमाडौं । काठमाडौं भित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रो बस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउन्टर थप भएका छन् ।
काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्क भित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउन्टर थपिएको हो ।
यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउन्टर राखेर सञ्चालन हुँदै आएका माइक्रो बस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउन्टर थपिएको हो ।
काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउन्टरसमेत हटाएको थियो ।
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की, चाबहिल क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टिकट काउन्टर हटाइएको जानकारी दिनुभयो ।
महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जिप नयाँ बसपार्क भित्रबाट सञ्चालन भएका छन् । माइक्रो बस तथा जिपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउन्टरको व्यवस्था गरिएको छ ।
नयाँ बसपार्क भित्रबाट माइक्रो बस तथा जिपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले ५६ नयाँ टिकट काउन्टर थप गरेको छ । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले काठमाडौं महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जिप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउन्टर निर्माण गरिएको बताए ।
उनले भने, 'नयाँ बसपार्क भित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको छ ।'
यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधन मात्र सञ्चालन हुँदै आएका थिए । यसअघि काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रो बस र बल्खुबाट हेटौँडा चल्ने टाटा सुमो सञ्चालन हुँदै आएका थिए ।
काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने क्षमता रहेको छ ।
रासस