'किन पढ्नुपर्यो र ?' 'भोलि बिहे भएर जाने त हो ।' 'छोरी त अर्काको हो ।' छोरीलाई अन्माउने बेलामा आमाबुवा के भन्नुहुन्छ याद गर्नुभएको छ ? 'लौ है हामीले हजुरलाई छोरी सुम्पिएका छौँ, पाले पुण्य मारे पाप ।' छोरीका लागि भट्ट्याइने तर सबैभन्दा दुःख लाग्दो कथन यस्तै हुन्छन् । छोरी कतै दाइजो ल्याउने स्रोत बन्छिन् त कतै भ्रूण हत्यामा पर्छिन् । आखिर कहिलेसम्म छोरी लेनदेनको स्रोत रहलिन् ? दुःख लाग्छ ! के छोरीको जीवन यस्तै हो ? के उनको अस्तित्व छैन ? यस्ता थुप्रै प्रश्नहरू मेरो दिमागमा उथलपुथल गरिरहन्छन् । यी प्रश्नहरूको उत्तर भेटेको छुइन । तर, मलाई लाग्छ आम मानिसको छोरी प्रतिको सोच त्यतिबेला मात्र बदलिन्छ जब छोरी शिक्षित भएर समाजमा आफूलाई स्थापित गर्छिन् । यतिबेला समाजले छोरीलाई हेर्ने दृष्टिकोण पनि बदलिन्छ । नत्र समाजमा गाइँगाइँ-गुइँगुइँ गर्दै गरिने परिवर्तनका कुराहरू भाषण र नारामा सीमित हुन्छन् । व्यवहारमा हात लाग्यो शून्य हुन्छ ।
समाजलाई सही दिशामा लानु छ भने छोरी शिक्षित हुन आवश्यक छ । समाज हामीले परिकल्पना गरेको भन्दा भिन्न छ । एकनासको छैन, गतिशील छ । समाजको गतिशीलता सँगसँगै सामाजिक व्यवहारहरू पनि परिवर्तन हुँदै जान्छन् । परिवर्तनशील समाजमा वर्गको उत्पत्तिसँगै छोरीहरू विविध किसिमका हिंसाको सिकार बन्दै आएको देखिन्छ । अहिलेको परिवेशमा विशेष गरी हिंसा छोरी भएकै मात्र कारणबाट हुने गरेको पाइन्छ । जसको प्रमुख कारण पुरुष प्रधान (पितृसत्तात्मक) समाज व्यवस्था, सामन्ती र पूरातनवादी चिन्तन हो । अझ विशेष गरेर छोरीहरूको सम्पत्तिमा अधिकार नरहनुले हिंसात्मक घटनाहरूलाई थप जटिल बनाइदिएको छ । त्यसकारण छोरीहरूलाई वर्ग संघर्ष के हो भन्ने ज्ञान हुन जरुरी छ । यसले पनि छोरीको लागि शिक्षा अपरिहार्य रहेकोतिर इंगित गर्छ ।
जब छोरी शिक्षित हुन्छिन् तब आफ्ना अधिकारका कुरामा जानकार हुन्छिन् र समाजलाई असल बाटोमा निर्देशित हुनेछ । हुन त नेपालको इतिहासमा छोरीहरूले आफूमाथि भएका विभेद, अन्याय, अत्याचार शोषण र उत्पीडनको अन्त्यका लागि आवाज उठाइरहेको देखिन्छ ।
आफ्ना हक-अधिकार स्थापनाका लागि विभिन्न कालखण्डमा विभिन्न संघ संगठन र संस्थाहरूको माध्यमबाट या स्वयम् आवाज बुलन्द पारेको देखिन्छ । तर आवाज आवाजमै सीमित भए । माग मागमै सीमित भए । महिलाको अधिकार व्यवहारमै स्थापित गर्नका लागि छोरी शिक्षित हुनुपर्छ । छोरी शिक्षित भएमा परिवार मात्र हैन समाज नै शिक्षित हुन्छ ।
परिवार र समाजमा छोरीको भूमिका विशेष रहन्छ । वास्तविक धरातलमा उभिएर हेर्ने हो भने छोरीको स्थान अनौठो छ । छोरीहरूले स्वयंलाई र आफ्नो क्षमतालाई चिन्न आवश्यक छ । एक किसिमले हेर्ने हो भने छोरीलाई शिक्षा प्रदान नगरेकै कारणले पनि आजसम्म छोरीमाथि बल मिचाई हुने गरेको छ ।
छोरी मान्छेले मात्र होइन समाजले पनि छोरीलाई शिक्षाको आवश्यकताबारे नजिकबाट बुझ्नुपर्ने हुन्छ । भनिन्छ 'एउटा व्यक्तिलाई शिक्षा दिनु केबल त्यही व्यक्तिलाई शिक्षा दिनु हो तर एउटी छोरीलाई शिक्षा दिनुको अर्थ पुरै समाजलाई शिक्षित बनाउनु हो ।' किनकि छोरी समाजको पहिलो शिक्षक हुन् ।
नेपोलियन बोनापार्टले भनेका थिए 'मलाई एउटा असल आमा देऊ, तिमिलाई एउटा असल राज्य दिनेछु' यस कथनबाट एउटी छोरीलाई समाज परिवर्तनको सही माध्यमको रूपमा खडा गर्न सकिन्छ भन्ने बुझिन्छ । त्यसैले छोरी शिक्षित बन्नु एक परिवारको लागि मात्र अपरिहार्य छैन, समाज र राज्यको पनि उत्तिकै जरुरी छ ।