काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामा पनि श्रम कानुन लागू हुने फैसला गरेको छ । यससम्बन्धी रिटमा सुनुवाइ गर्दै गत असार १८ मा सर्वोच्च अदालतले गरेको उक्त फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको हो । सर्वोच्च अदालतको पूर्णपाठ वित्तीय क्षेत्र (बैंक तथा वित्तीय संस्था) मा पनि श्रम कानुन लागू हुने स्पष्ट उल्लेख छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।
फैसलामा सर्वोच्चले बैंक तथा वित्तीय क्षेत्रको श्रम मामिला विवाद श्रम अदालतले पुनरावेदकीय क्षेत्राधिकार ग्रहण गर्न पाउने भनिएको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, ०७३ रहेकाले जन्म दिने ऐनमा भएको कानुनी प्रावधानविपरीत सामान्य ऐनका रूपमा रहेको श्रम ऐन आकर्षित हुन नसक्ने र श्रम अदालतले क्षेत्राधिकार नभएको विषयमा प्रवेश’ गरेको भन्दै श्रम अदालत, श्रम तथा रोजगार कार्यालय र आफ्ना कर्मचारी अञ्जना ढकाललाई विपक्षी बनाई दायर गरिएको रिट सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।
‘बैंक तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन, नियमन, निरीक्षण तथा सुपरिवेक्षणका सम्बन्धमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, ०७३ नै मातृ कानुन र विशेष ऐन हुने भएतापनि श्रमसम्बन्धी विवाद निरूपण तथा कर्मचारी सेवा–सुविधाका विषय श्रम ऐन, ०७४ को दायराभित्र नै पर्ने देखिन्छ,’ पूर्णपाठमा उल्लेख छ ।