माओवादी निकट रहेर पनि स्वतन्त्र रूपमा नाटक गर्दै आएका रंगकर्मी किशोर अनुरागले आफूले हिँडिरहेको बाटो बदलेका छन् । नेकपा माओवादी केन्द्रका माथिल्ला नेता तथा संगठनबाट आफूले पार्टीलाई दिएको योगदानको सही मूल्यांकन भन्दा पनि माओवादी नेताहरू विचारवाट स्खलित भएको कारण बाटो बदलिएको बताउँछन् उनी ।
रंगमञ्चमा दुई दशक बिताइसकेका अनुराग अहिले धार मात्रै होइन, आफू निकट साथीहरू जननाट्य मञ्चतिर आएको पनि बताउँछन् । उनी भन्छन्, ‘माओवादी नेतृत्वले देखेका सपना र आमकार्यकर्ताहरूले देखेका सपनामा भिन्नता देखियो । सांस्कृतिक आन्दोलनमा माओवादी सुक्यो र उनीहरूको भनाइ र गराइमा फरक पाइयो । एमाले पार्टीबाट संघमा काम गर्दा भिजन मिल्नुको साथै भाषणभन्दा बढी आफ्नो काम गर्न सक्छु भन्ने भएपछि म यता लागेको हुँ ।’
आफ्नै वातावरण र परिवेशको पात्रलाई नाटक लेखनमार्फत् मञ्चमा देखाउन माहिर छन् अनुराग । तर पछिल्लो समय नाटकको अवस्था झन्झन् खस्किएको लाग्छ उनलाई । नाटक खस्किनुको पहिलो कारण राज्यले अनदेखा गर्नु ठान्छन् । पहिलो नाटक ‘मरुभूमि’बाट रंगमञ्चमा देखिएका अनुराग नाटकको व्यवस्थापन राज्यले गर्नु पर्ने बताउँछन् ।
नाटकमा काम गरेकालाई राज्यले न प्रोत्साहन गर्छ, न त ठाउँमा लान्छ । नाटकमाथि त राज्यले सौतेनी व्यवहार गरेको मान्छन् अनुराग । भन्छन्, ‘वर्षमा एकाध नाटक महोत्सव गरेर नाटक माथि उठ्दैन । राज्यले बलियो नीति ल्याउनुपर्यो । त्यसलाई सशक्त ढंगले कार्यान्वयन गर्नुपर्यो । नाटक लेखनमा स्रष्टालाई हौस्याउनुपर्यो । तब नाटक अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धीका रूपमा खरो उत्रिन सक्छ ।’
‘रंगमञ्चलाई व्यवस्थिति बनाउन स्वतन्त्र रंगकर्मीलाई संगठित गर्न राज्यले नै कदम चाल्नुपर्छ’, उनी भन्छन्, ‘राज्यले नाटकलाई व्यवस्थित गर्न सकेन । न रुचिका साथ रंगमञ्चलाई माथि उठाउन खोज्यो । जति कोसिस भएका छन् ती सब निजी क्षेत्रबाट भएका हुन् ।’
नाटकको व्यवस्थापनमा आफू गम्भीर भएको बताउने अनुराग संगठनमा बसेरै नाटक सुधार्ने सोचमा छन् । उनी भन्छन्, ‘नाटकलाई माथि उठाउनका लागि नै राज्यलाई झकझकाउन संगठनमा आबद्ध भएको हुँ ।’
नाटकमा काम गरेकालाई राज्यले न प्रोत्साहन गर्छ, न त ठाउँमा लान्छ । नाटकमाथि त राज्यले सौतेनी व्यवहार गरेको मान्छन् अनुराग । भन्छन्, ‘वर्षमा एकाध नाटक महोत्सव गरेर नाटक माथि उठ्दैन । राज्यले बलियो नीति ल्याउनुपर्यो । त्यसलाई सशक्त ढंगले कार्यान्वयन गर्नुपर्यो । नाटक लेखनमा स्रष्टालाई हौस्याउनुपर्यो । तब नाटक अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धीका रूपमा खरो उत्रिन सक्छ ।’
विभिन्न संगठनमा आबद्ध भए पनि अनुराग स्वतन्त्र रंगकर्मी भएर आफूलाई चिनाउन चाहन्छन् । तर स्वतन्त्र रंगकर्मी भएर काम गर्न पनि आफ्नै खाले चुनौती त भन्छन् । संगठनबिना केही गर्न सकिँदैन पनि भन्छन् उनी । नाटक एक्लै गर्न सकिँदैन । नाटक गर्न पनि कलाकार तथा प्राविधिक दुवै जनशक्तिको खाँचो पर्छ । निजीस्तरबाट जति नाटक घर बनेका छन् ती रंगकर्मीकै जोडबलबाट बनेको नकार्न सकिँदैन । किन ?
‘तपाईंले सोध्नु भएको प्रश्न महत्त्वपूर्ण छ । हामीले नाटक घर कहाँ गएर खोज्ने, नाटक कहाँ गएर गर्ने ? पहिलो चुनौती हो । सरकारले कुनै नाटक गर्न थिएटर घर त बनाइदिएको छैन’, अनुराग भन्छन्, ‘निजी थिएटरहरूले आफै नाटक उत्पादन गरेर देखाउँछन् र अन्य समुहले लेखन/निर्देशन गर्न चाहेमा उहाँहरूसँग सहकार्य गरी व्यवस्थापन गर्नु पर्छ । त्यो कारणले गर्दा हामीले कुनै थियटर घरमा गएर नाटक गर्न अझै चुनौती छ ।’
नाटकमा अझै निरन्तरता दिँदै आएका अनुुरागले थुप्रै रंगकर्मी जन्माएका छन् । कसैले निरन्तरता दिइरहेका छन् भने कोही पलायन पनि भएका छन् । उनका अनुसार अहिले पनि केही रंगकर्मी निरन्तर रंगमञ्चमा लागिरहेका छन् । ‘केही रंगकर्मीहरू अहिले पनि मेहनत, धैर्यता र क्षमताले काम गरिरहेका छन्’, उनले भने ।
स्वतन्त्र रंगकर्मीको समूह भए पनि अनुरागले अहिलेसम्म थिएटर घर बनाउने सोंच चाहिं बनाउन सकेनन् । तर उनी बनाउन नसकेको होइन, भन्छन्, ‘पहिला त्यति चासोका साथ लिइनँ । अहिले भने साथीभाइहरू मिलेर काठमाडौं बाहिर थिएटर घर स्थापना गर्ने कि भन्ने छ ।’
तर अनुराग नाटक घरमात्रै नभएर नाटक लेखन नै सुधार हुनुपर्ने बताउँछन् । जंगे पिल्लर, खहरे घाट जस्ता नाटक लेखन तथा निर्देशन गरिसकेका अनुराग नाटक लेखन कमजोर रहेको स्वीकार्छन् । भन्छन्, ‘अहिले नाटक लेखन कमजोर हुनुमा पहिलो कारण त कलाकार मात्रै हुन खोज्नु, निर्देशनको मोह हुनु र राम्रा लेखकलाई पारिश्रमिक दिएर लेखाउन नसक्नु हो । शोखले लेखेका नाटकहरु मात्रै बलियो भएका छन् । अहिले लेखक नाटकभन्दा उपन्यास लेख्न लालायित हुन्छन् । चर्चा र पैसाका हिसाबले नाटकमा भन्दा अन्य विधामा कलम चलाउन चासो राख्छन् ।’
उनले भनेझैं नाटक लेखन कमजोर त छँदै छ । त्यसैमा वरिष्ठ रंगकर्मीहरू भने विदेशी नाटक नै गर्न हौसिन्छन् । किनकि नेपालीलाई बलियो नदेख्ने र आफू पनि नलेख्ने भएकाले यस्तो भएको बताउँछन् उनी ।
नाटक कमजोर भएकै कारण दर्शक पनि सोचेजस्तो थिएटर घरसम्म नपुगेकोमा भने अनुराग अनकनाउँछन् । दर्शन थिएटर घरसम्म पुगेका छन् तर नाटक लेखन र निर्देशन र कलाकारलाई छनोट गरेर थिएटर घरसम्म पुगेको बताउँछन् उनी ।
जस्तै: केही समय अगाडि अनुप बरालले निर्देशन गरेको 'डेथ अफ अ सेल्समेन'को नेपाली रूपान्तरण 'यौ सपनाकाे अवसान' चालिस दिन चलेको थियो । जसले लाखौँको व्यापार गर्यो । अनुराग भन्छन्, ‘नाटकले दर्शक नपाएको होइन पाइरहेका छन् । केवल कस्तो नाटक चलिरहेको छ भन्नेले भने फरक पार्छ ।'
अनुरागकाे नाटकमा प्रगतिशील संवेदनशील र समाज सुधार हुन्छ । समस्यालाई निराकरण गर्न नाटकमार्फत् बुझाउँछन् । नाटकलाई सही व्यवस्थापन गर्न नाटक बलियो हुनुपर्ने बताउँछन् उनी ।
तर अहिलेका नयाँ रंगकर्मीहरू इन्टरनेटको दुनियाँले दुनियाँभरिको नाटक बुझेका छन्, हेरेका छन् । त्यसैले उनीहरूको रोजाइमा पनि विदेशी नाटक नै पहिलो स्थानमा परेको बताउँछन् उनी ।
तर अनुराग स्वदेशकै नाटकमा काम गर्न रुचाउँछन् । भन्छन्, ‘जस्तै मैले गरेकाे जंगे पिल्लर नाटक सीमा अतिक्रमणका बारेमा हो । जुन लामो समय चल्यो । जसले मलाई पनि चिनायो । म आफैं सुस्ता पुगेर जनजीवन हेरेर ,त्यहीका पात्रहरूलाई जस्ताको त्यस्तै ल्याएर यहाँको मञ्चमा देखाएको थिएँ ।’
अनुरागकाे नाटकमा प्रगतिशील संवेदनशील र समाज सुधार हुन्छ । समस्यालाई निराकरण गर्न नाटकमार्फत् बुझाउँछन् । नाटकलाई सही व्यवस्थापन गर्न नाटक बलियो हुनुपर्ने बताउँछन् उनी ।
'सुधार र परिवर्तन भन्ने चिज एक्कासि आउने होइन, तर पनि मैले प्रस्तुत गरेको नाटकले कुनै हदसम्म समाजमा जातीय भेदभाव र पीडित न्यायको पक्षमा वकालत गराउँछ', उनले भने ।
महान रुसी लेखक प्रख्यात आख्यान कृति आमामाथि उनी नाटक गर्ने तयारमा छन् । दसैंको अवसर पारेर ल्याउन खोजेका रंगकर्मी अनुराग रंगकर्मी जहिले सचेत र चेतनशील हुनुपर्ने बताउँछन् । भन्छन्, ‘अब रंगकर्मीहरू एक भएर लाग्नु पर्ने समय आएको छ ।’