रंगमञ्चको व्यवस्थापन गर्न राज्यले जहिले पनि अनदेखा गर्‍यो 

रंगमञ्चको व्यवस्थापन गर्न राज्यले जहिले पनि अनदेखा गर्‍यो 

माओवादी निकट रहेर पनि स्वतन्त्र रूपमा नाटक गर्दै आएका रंगकर्मी किशोर अनुरागले आफूले हिँडिरहेको बाटो बदलेका छन् । नेकपा माओवादी केन्द्रका माथिल्ला नेता तथा संगठनबाट आफूले पार्टीलाई दिएको योगदानको सही मूल्यांकन भन्दा पनि माओवादी नेताहरू  विचारवाट स्खलित भएको कारण बाटो बदलिएको बताउँछन् उनी । 

रंगमञ्चमा दुई दशक बिताइसकेका अनुराग अहिले धार मात्रै होइन, आफू निकट साथीहरू जननाट्य मञ्चतिर आएको पनि बताउँछन् । उनी भन्छन्, ‘माओवादी नेतृत्वले देखेका सपना र आमकार्यकर्ताहरूले देखेका सपनामा भिन्नता देखियो । सांस्कृतिक आन्दोलनमा माओवादी सुक्यो र उनीहरूको भनाइ र गराइमा फरक पाइयो । एमाले पार्टीबाट संघमा काम गर्दा भिजन मिल्नुको साथै भाषणभन्दा बढी आफ्नो काम गर्न सक्छु भन्ने भएपछि म यता लागेको हुँ ।’

आफ्नै वातावरण र परिवेशको पात्रलाई नाटक लेखनमार्फत् मञ्चमा देखाउन माहिर छन् अनुराग । तर पछिल्लो समय नाटकको अवस्था झन्‌झन् खस्किएको लाग्छ उनलाई । नाटक खस्किनुको पहिलो कारण राज्यले अनदेखा गर्नु ठान्छन् । पहिलो नाटक ‘मरुभूमि’बाट रंगमञ्चमा देखिएका अनुराग नाटकको व्यवस्थापन राज्यले गर्नु पर्ने बताउँछन् । 

नाटकमा काम गरेकालाई राज्यले न प्रोत्साहन गर्छ, न त ठाउँमा लान्छ । नाटकमाथि त राज्यले सौतेनी व्यवहार गरेको मान्छन् अनुराग । भन्छन्,  ‘वर्षमा एकाध नाटक महोत्सव गरेर नाटक माथि उठ्दैन । राज्यले बलियो नीति ल्याउनुपर्‍यो । त्यसलाई सशक्त ढंगले कार्यान्वयन गर्नुपर्‍यो । नाटक लेखनमा स्रष्टालाई हौस्याउनुपर्‍यो । तब नाटक अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धीका रूपमा खरो उत्रिन सक्छ ।’ 

‘रंगमञ्चलाई व्यवस्थिति बनाउन स्वतन्त्र रंगकर्मीलाई संगठित गर्न राज्यले नै कदम चाल्नुपर्छ’, उनी भन्छन्, ‘राज्यले नाटकलाई व्यवस्थित गर्न सकेन । न रुचिका साथ रंगमञ्चलाई माथि उठाउन खोज्यो । जति कोसिस भएका छन् ती सब निजी क्षेत्रबाट भएका हुन् ।’

नाटकको व्यवस्थापनमा आफू गम्भीर भएको बताउने अनुराग संगठनमा बसेरै नाटक सुधार्ने सोचमा छन् । उनी भन्छन्, ‘नाटकलाई माथि उठाउनका लागि नै राज्यलाई झकझकाउन संगठनमा आबद्ध भएको हुँ ।’

नाटकमा काम गरेकालाई राज्यले न प्रोत्साहन गर्छ, न त ठाउँमा लान्छ । नाटकमाथि त राज्यले सौतेनी व्यवहार गरेको मान्छन् अनुराग । भन्छन्,  ‘वर्षमा एकाध नाटक महोत्सव गरेर नाटक माथि उठ्दैन । राज्यले बलियो नीति ल्याउनुपर्‍यो । त्यसलाई सशक्त ढंगले कार्यान्वयन गर्नुपर्‍यो । नाटक लेखनमा स्रष्टालाई हौस्याउनुपर्‍यो । तब नाटक अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धीका रूपमा खरो उत्रिन सक्छ ।’ 

विभिन्न संगठनमा आबद्ध भए पनि अनुराग स्वतन्त्र रंगकर्मी भएर आफूलाई चिनाउन चाहन्छन् । तर स्वतन्त्र रंगकर्मी भएर काम गर्न पनि आफ्नै खाले चुनौती त भन्छन् । संगठनबिना केही गर्न सकिँदैन पनि भन्छन् उनी । नाटक एक्लै गर्न सकिँदैन । नाटक गर्न पनि कलाकार तथा प्राविधिक दुवै जनशक्तिको खाँचो पर्छ । निजीस्तरबाट जति नाटक घर बनेका छन् ती रंगकर्मीकै जोडबलबाट बनेको नकार्न सकिँदैन । किन ? 

‘तपाईंले सोध्नु भएको प्रश्न महत्त्वपूर्ण छ । हामीले नाटक घर कहाँ गएर खोज्ने, नाटक कहाँ गएर गर्ने ? पहिलो चुनौती हो । सरकारले कुनै नाटक गर्न थिएटर घर त बनाइदिएको छैन’, अनुराग भन्छन्, ‘निजी थिएटरहरूले आफै नाटक उत्पादन गरेर देखाउँछन् र अन्य समुहले लेखन/निर्देशन गर्न चाहेमा उहाँहरूसँग सहकार्य गरी व्यवस्थापन गर्नु पर्छ । त्यो कारणले गर्दा हामीले कुनै थियटर घरमा गएर नाटक गर्न अझै चुनौती छ  ।’ 

नाटकमा अझै निरन्तरता दिँदै आएका अनुुरागले थुप्रै रंगकर्मी जन्माएका छन् । कसैले निरन्तरता दिइरहेका छन् भने कोही पलायन पनि भएका छन् । उनका अनुसार अहिले पनि केही रंगकर्मी निरन्तर रंगमञ्चमा लागिरहेका छन् । ‘केही रंगकर्मीहरू अहिले पनि मेहनत, धैर्यता र क्षमताले काम गरिरहेका छन्’, उनले भने । 

स्वतन्त्र रंगकर्मीको समूह भए पनि अनुरागले अहिलेसम्म थिएटर घर बनाउने सोंच चाहिं बनाउन सकेनन् । तर उनी बनाउन नसकेको होइन, भन्छन्, ‘पहिला त्यति चासोका साथ लिइनँ । अहिले भने साथीभाइहरू मिलेर काठमाडौ‌ं बाहिर थिएटर घर स्थापना गर्ने कि भन्ने छ ।’ 

तर अनुराग नाटक घरमात्रै नभएर नाटक लेखन नै सुधार हुनुपर्ने बताउँछन् । जंगे पिल्लर, खहरे घाट जस्ता नाटक लेखन तथा निर्देशन गरिसकेका अनुराग नाटक लेखन कमजोर रहेको स्वीकार्छन् । भन्छन्, ‘अहिले नाटक लेखन कमजोर हुनुमा पहिलो कारण त कलाकार मात्रै हुन खोज्नु, निर्देशनको मोह हुनु र राम्रा लेखकलाई पारिश्रमिक दिएर लेखाउन नसक्नु हो । शोखले लेखेका नाटकहरु मात्रै बलियो भएका छन् । अहिले लेखक नाटकभन्दा उपन्यास लेख्न लालायित हुन्छन् । चर्चा र पैसाका हिसाबले नाटकमा भन्दा अन्य विधामा कलम चलाउन चासो राख्छन् ।’

उनले भनेझैं नाटक लेखन कमजोर त छँदै छ । त्यसैमा वरिष्ठ रंगकर्मीहरू भने विदेशी नाटक नै गर्न हौसिन्छन् । किनकि नेपालीलाई बलियो नदेख्ने र आफू पनि नलेख्ने भएकाले यस्तो भएको बताउँछन् उनी । 

नाटक कमजोर भएकै कारण दर्शक पनि सोचेजस्तो थिएटर घरसम्म नपुगेकोमा भने अनुराग अनकनाउँछन् । दर्शन थिएटर घरसम्म पुगेका छन् तर नाटक लेखन र निर्देशन र कलाकारलाई छनोट गरेर थिएटर घरसम्म पुगेको बताउँछन् उनी ।

जस्तै: केही समय अगाडि अनुप बरालले निर्देशन गरेको 'डेथ अफ अ सेल्समेन'को नेपाली रूपान्तरण 'यौ सपनाकाे अवसान' चालिस दिन चलेको थियो । जसले लाखौँको व्यापार गर्‍यो । अनुराग भन्छन्, ‘नाटकले दर्शक नपाएको होइन पाइरहेका छन् । केवल कस्तो नाटक चलिरहेको छ भन्नेले भने फरक पार्छ ।'

अनुरागकाे नाटकमा प्रगतिशील संवेदनशील र समाज सुधार हुन्छ । समस्यालाई निराकरण गर्न नाटकमार्फत् बुझाउँछन् । नाटकलाई सही व्यवस्थापन गर्न नाटक बलियो हुनुपर्ने बताउँछन् उनी ।  

तर अहिलेका नयाँ रंगकर्मीहरू इन्टरनेटको दुनियाँले दुनियाँभरिको नाटक बुझेका छन्, हेरेका छन् । त्यसैले उनीहरूको रोजाइमा पनि विदेशी नाटक नै पहिलो स्थानमा परेको बताउँछन् उनी । 

तर अनुराग स्वदेशकै नाटकमा काम गर्न रुचाउँछन् । भन्छन्, ‘जस्तै मैले गरेकाे जंगे पिल्लर नाटक सीमा अतिक्रमणका बारेमा हो । जुन लामो समय चल्यो । जसले मलाई पनि चिनायो । म आफैं सुस्ता पुगेर जनजीवन हेरेर ,त्यहीका पात्रहरूलाई जस्ताको त्यस्तै ल्याएर यहाँको मञ्चमा देखाएको थिएँ ।’

अनुरागकाे नाटकमा प्रगतिशील संवेदनशील र समाज सुधार हुन्छ । समस्यालाई निराकरण गर्न नाटकमार्फत् बुझाउँछन् । नाटकलाई सही व्यवस्थापन गर्न नाटक बलियो हुनुपर्ने बताउँछन् उनी ।  

'सुधार र परिवर्तन भन्ने चिज एक्कासि आउने होइन, तर पनि मैले प्रस्तुत गरेको नाटकले कुनै हदसम्म समाजमा जातीय भेदभाव र पीडित न्यायको पक्षमा वकालत गराउँछ', उनले भने ।

महान रुसी लेखक प्रख्यात आख्यान कृति आमामाथि उनी नाटक गर्ने तयारमा छन् । दसैंको अवसर पारेर ल्याउन खोजेका रंगकर्मी अनुराग रंगकर्मी जहिले सचेत र चेतनशील हुनुपर्ने बताउँछन् । भन्छन्, ‘अब रंगकर्मीहरू एक भएर लाग्नु पर्ने समय आएको छ ।’