काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा २०५२ सालमा इन्जिनियर भएर सरकारी सेवामा प्रवेश गरेका हुन् । पङ्तिकार उनको कार्यकक्षमा पुग्दा नेपाली पोसाक दौरा सुरुवालमा कार्यालयको काममा व्यस्त उनी भेटिए । एक हिसाबले कुराकानीका लागि समय मिलाउन उनलाई निक्कै हम्मे हम्मे थियो । सेवाग्राहीको भीड रहेको उक्त मन्त्रालयमा प्रतीक्षा कक्षमा बसेर पालो कुर्नेलाई उनले हँसिलो मुहारमा सेवा प्रवाह गरिरहेका थिए ।
कुराकानीकै क्रममा सरकारी विद्यालयमा अध्ययन गरेका सचिव शर्माले सरकारी जागिरे भइएला भन्ने सपना नरहेको बताए । चितवन निवासी उनले ०४१ सालमा एसएलसी पास गरेका हुन् । त्यसपछि काठमाडौं आएर उनले पुलचोक इन्जिनियरिङ कलेजमा भर्ना भएर अध्ययन गरे । काठमाडौंमा अध्ययनकै क्रममा लोक सेवा पढ्नुपर्छ भन्ने चेत बस्न थालेपछि उनले लोक सेवाको अध्ययनलाई पनि सँगै निरन्तरता दिए ।
मास्टर्स एण्ड इन्जिनियरिङ कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातकोत्तर तह गरिसकेपछि शर्माले पढाइलाई निरन्तरता दिँदै लोक सेवा अध्ययनलाई अगाडि बढाए । ०६२ सालमा उनले उपसचिवमा नाम निकाले । ०६९ सालमा सहसचिव भएका उनी १० वर्ष पछि गत ०७९ को कार्तिकमा सचिव पदमा बढुवा भएका हुन् ।
सचिव शर्माले आफूले सचिव भइसकेपछि प्राविधिक विधामा विभिन्न नवीन प्रविधिको प्रयोग गर्ने सपना देखेका छन् । जागिर खानु भनेको देश बुझ्ने र देशलाई योगदान गर्ने अवसरको रूपमा उनी लिन्छन् । सचिव शर्मा दुर्गम गाउँमा विकासको चाहाना बढी हुने भएकाले दुर्गममा सेवा गर्न पाउनु कर्मचारीको लागि ठुलो अवसर रहेको बताउँछन् । उनी भन्छन्, 'दुर्गम गाउँमा धेरै विकासका चाहना हुन्छन् । त्यहाँ राम्रोसँग काम गर्न सकियो भने ठुलो जनजीवनमा प्रभाव पर्छ । कर्मचारीलाई सम्मान तथा हौसला पनि दुर्गम गाउँमा नै हुन्छ ।'
गाउँमा राम्रो काम गर्न सके सकारात्मक परिवर्तन सँगै सबैले सम्झने र उत्साह थपिने परिपाटी रहेको उनी बताउँछन् । आज मात्र नभएर हिजो पनि असल कर्मचारीप्रति जनताले मान सम्मान दिने गरेको उनले बताए । गुल्मी, पाँचथर, रोल्पा प्युठान, अर्घाखाँची,नुवाकोट, लहान, बुटवलका पनि दुर्गम गाउँमा काम गरेका उनलाई अहिले पनि त्यहाँका जनसमुदायले सम्झिरहने बताउँछन् ।
गुणस्तर र समयमै काम सम्पन्न गर्ने खुबी राख्नुपर्छ
सरकारी कार्यालयमा जागिर खाएपनि जो कोहीले सरकारी काम नै कार्यान्वयन गर्ने गराउने भएकाले आफैले नियम विपरीत कुनैपनि काम नसक्ने उनको भनाइ छ । तर नीतिगत काम गर्दा छिटो छरितो र भरपर्दो हुनेगरी काम गर्नका लागि आफै छेउमा बसेर उचित गुणस्तर र समयमै काम सम्पन्न गर्ने दक्षता इन्जिनियरले राख्नुपर्ने शर्माको भनाइ छ । तत्कालै जनताले उपभोग गर्न पाउने गरी प्रतिफल दिन सधैँ उत्सुक हुनुपर्ने उनको मान्यता छ ।
सडक तथा पुल पुलेसा निर्माण गर्दा पनि जनताले प्रतिफल पाउने गरी छिटो छरितो र समयमै योजना सक्नका लागि सधैँ अगाडि बढ्नुपर्ने उनको माग छ । उनी कुनैपनि आयोजनामा काम गर्ने इन्जिनियरहरूले त्यही बसेर निश्चित समयमा काम सम्पन्न गराइदिनु पर्ने कुरामा सुझाव समेत दिन्छन् । यसो भएमा जनता खुसी भएर त्यही मान्छेलाई सुझिरहने भन्दै त्यसका लागि इन्जिनियरले धेरै मेहनत गर्नुपर्ने बताउँछन् ।
सडक विभाग अन्तर्गतका कार्यालयहरूमा लामो समय काम गरेको शर्माले जनतालाई जे चिजको आवश्यकता छ त्यो चिज पुरा गर्न कर्तव्य ठानेर काम गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, 'सरकारले हामीलाई तलब सुविधा दिन्छ । त्यसबापत हामीले देश र जनताको सेवा गर्नुपर्छ । यति गर्दा जनताले हामीलाई सम्झनुहुन्छ । यो नै नेपालको सुन्दर पक्ष हो ।'
इन्जिनियरिङ पेसाबाट सन्तुष्ट
सचिव शर्मा आफूले रोजेको पेसामा सन्तुष्ट रहेको बताउँछन् । दुर्गम गाउँका विभिन्न सडक, पुल बनाउन पहल तथा अथक मेहनत गरेको बताउने उनी बताउँछन् । 'प्युठानको चकचकेबाट रोल्पा पुर्याउने बाटोलाई त्यही बसेर काम गरियो । पाल्पाबाट अर्घाखाँची जाने बाटो, आर्थिक छहराबाट सन्धिखर्क जाने बाटो । सालझन्डिबाट पाल्पा जाने बाटो, रामपुरको समेत बाटो बनाउने काम गरियो', उनी भन्छन्, 'प्युठानको खलंगाबाट मच्छी जाने बाटो बनाएको । झिम्रुकको पुल बनाउँदा पाएको दुख सम्झना आउँछ । तर मलाई त्यो सम्झँदा खुसी नै लागेको छ । यस्तै तराइका जिल्लाहरूमा पनि विभिन्न काम गरियो यी सबै पल सम्झन लायक छन् । कति दिन खाइएन भोकै भइयो । पहिरोमा पनि बसियो । तर म कामलाई सम्मान गर्छु ।'
जागिरे जीवनमा यी सबै कुराहरू सामान्य मान्नुपर्ने र इन्जिनियरिङ काम गर्ने झन्झट लिनु नहुने उनी बताउँछन् । सडक विभागको जागिरे हुँदा शर्माले कहिलेकाहीँ सडकमा भोकै सुतेको पालमा सुतेको पनि अनुभव सुनाए । पहिरोमै बसेर पहिरोसँगै काम गरेका उनले आफ्नो कर्तव्यबाट कहिल्यै नपन्छिएको बताउँछन् । जुनसुकै काम गाह्रो भएकाले उनी काममा मज्जा लिन सक्ने मान्छे मात्र सरकारी सेवामा आउनुपर्ने बताउँछन् ।
सोचेका कुरा सबै पुरा हुँदैनन्
पछिल्लो समय सरकारी सेवामा आकर्षण हुने भन्दा पनि विदेश कमाउन तथा पढ्न जानेको संख्या बढेको छ । विदेशमा कमाउँदै पढ्न पाउने वातावरण भएकाले पनि मानिसहरू विदेशतिर जाने चलन जस्तै बनेको छ । उनी पनि यो कुरामा सहमत छन् ।
उनी भन्छन्, 'पहिले भन्दा सरकारी पेसामा आउने मान्छेको संख्या र आकर्षण घटेको छ । पहिले सेवा गर्न सरकारी मात्र थियो अहिले युवा विदेश जाने उतै कमाउने सोचमा हुन्छन् । यतै पनि कर्मचारी क्षेत्रमा काम गर्दा राम्रो नै हुँदै गएको छ ।'
हाल सबैतिर आर्थिक संकट रहेकाले पनि कर्मचारीको तलब भत्तामा सुधार हुन नसकेको उनी बताउँछन् । सरकारले योजना बनाउँदा चुकेको भन्दै पढिहाल्ने र पढेपछि जागिर पाइहालिन्छ भन्ने मानसिकता युवामा रहेको बताउँछन् । उनी जुनसुकै विषय पढेपनि लोकसेवामा ज्यादै प्रतिस्पर्धा भएकाले विभिन्न अप्सनहरूको खोजी गर्नुपर्ने बताउँछन् । आफूले सोचेका कुराहरू सबै पुरा नहुने भन्दै मानिसले आफूलाई लचिलो बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।
सरकारी क्षेत्रबाट नभए निजी क्षेत्रमा पनि फोकस हुनुपर्ने उनको भनाई छ । उनी भन्छन्, 'निश्चित क्षेत्रमा आफूलाई अब्बल बनाए पनि चुप लागेर बस्ने अवस्था छैन । भने जस्तो जागिर नपाइएला तर थाक्नु भने हुँदैन ।'
सरकारी सेवामा सम्भावना छ
नेपालमा पनि सरकारी जागिरमा थुप्रै सम्भावना र अवसरहरू छन् । सरकारले करार सेवामा समेत कर्मचारी भर्ना गरिरहेको छ । राम्रो अंक ल्याएका युवा बिदेसिने क्रम भने अहिले पनि रोकिएको छैन । प्राविधिक क्षेत्रमा अझ कर्मचारी कम मात्र भएको आँकडामा पनि देख्न सकिन्छ । सचिव शर्मा इन्जिनियरिङ कलेज व्यापक मात्रामा खुले पनि त्यहाँबाट उत्पादित जनशक्तिको प्रयोग नै नभएको बताउँछन् ।
देश विकासको चरणमा रहेकाले धेरै भन्दा धेरै इन्जिनियर खपत हुनुपर्ने उनको भनाई छ । तर त्यसो हुन नसकेको उनको भनाई छ ।
निजामती क्षेत्रलाई एकै डालोमा हालेर हेर्दा आकर्षित गर्ने योजनाहरू राज्यले जारी गर्न नसकेको उनको भनाइ छ । उनी इन्जिनियर खपत हुने खालको बजेट ल्याउन र बाहिरबाट मानिस ल्याउने प्रचलनलाई रोक्नुपर्ने बताउँछन् ।
उनी भन्छन्, 'हाइड्रोपावर प्लान नयाँ बाटो खोल्ने प्रोजेक्टमा थुप्रै इन्जिनियर राख्न सकिन्छ । कन्स्ट्रक्सन कम्पनीमा पनि इन्जिनियर राख्नुपर्ने पोलेसी ल्याउनुपर्छ । अर्का कुरा इन्जिनियरहरू आफैलाई मिलेर निर्माण कम्पनी खोल्दा उसलाई सहुलियत दिन सक्यो भने सहुलियत दिन सक्यो भने पनि राम्रो हुन्छ ।'
सरकारी सेवामा पहिलेभन्दा धेरै इन्जिनियरहरूको दरखास्त परेको भन्दै उनले घटेको भन्न नमिल्ने बताउँछन् । उनी भन्छन्, 'सरकारले प्राविधिक जनशक्तिलाई बोझ ठान्नुहुँदैन । पर्याप्त अवसरहरू दिनुपर्छ । स्थानीय तह र प्रदेशमा प्राविधिक जनशक्ति र दरबन्दी थप्नुपर्छ । यस्तो गरेमा कामको गुणस्तर राम्रो हुन्छ । निजामती सेवा ऐनले त्यसलाई समेट्छ भन्ने लागेको छ ।'
इन्जिनियरले के गर्नुपर्छ ?
हामीले सामान्य अर्थमा बुझ्दा इन्जिनियर भनेको सृजनशील क्षमता भएको मान्छे हो । उनले नयाँ प्रविधिसँग सधैँ अपडेट भइरहनुपर्छ । इन्जिनियर कुर्सीमा बसेर मात्र काम गर्ने पेसा होइन । हामीले के पढ्दा कस्तो उपलब्धि लिन सकिन्छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।
सचिव शर्मा पनि इन्जिनियरिङमा नयाँ कुराहरू गर्छु भन्ने ज्ञान र स्वभाव हुनुपर्ने कुरा बताउँछन् ।
उनी भन्छन्, 'अध्ययनलाई नयाँ प्रविधिसँग जोड्छु । म जुनसुकै काम गर्ने सक्छु । प्रविधिको बारेमा जानकारी राख्छु भन्ने खालको हुनुपर्छ ।'
फिल्डको काममा आनन्द
सचिव शर्मा अलि बढी व्यवस्थापकीय क्षेत्रमा काम गर्दा नीतिगत कुराहरूमा समस्या आउने बताउँछन् । मन्त्रालयमा काम गर्दा गाउँमा काम गरेको सम्झना हुने समेत उनी बताउँछन् । तर काम गर्दा आफूले जुनसुकै काममा आनन्द लिनुपर्ने कुरामा उनको जोड छ । उनी भन्छन्, 'तत्कालका लागि आफूले के गर्नुपर्ने हो त्यतातिर फोकस हुनुपर्छ ।'
उनी बेला बेलामा मिडियाले पनि कर्मचारीका कुराहरू राखिदिए अझ कर्मचारीमा काम गर्ने ऊर्जा बताउँछन् ।कर्मचारीमा नकारात्मक कुराले फ्रस्टेसन लेभल बढ्ने भएकाले जे छ सत्य त्यो विषय मात्र सञ्चार माध्यमले उजागर गर्नुपर्ने समेत बताउँछन् ।