काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा एक करोड ९४ लाख रुपैयाँ इन्धनमा खर्च गरेको पाइएकाे छ ।
महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदनमा वीरगञ्ज महानगरपालिकाले एक कराेड ९४ लाख रुपैयाँ इन्धनमा खर्च गरेकाे पाइएकाे हाे ।
जिल्लामा एक महानगर, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह रहेका छन् ।
१४ वटै स्थानीय तहमा सात करोडभन्दा पनि बढीको इन्धन खर्च भएको महालेखा परीक्षककाे कार्यालयले जनाएकाे छ ।
इन्धनमा बढी खर्च भएपछि महालेखाले २० लाख ७३ हजार ६७२ रुपैयाँ नियमित गर्न भनेकाे छ ।
पोखरिया नगरपालिकाले इन्धनमा ३२ लाख ६८ हजार रुपैयाँ खर्च गर्दा पर्सागढीले ५८ लाख १६ हजार ९३८ खर्च गरेको छ। यद्यपि पर्सागढीमा रहेका सवारी साधनको तथ्यांकअनुसार १६ लाख ४२ हजार मात्रै इन्धन एक वर्षमा खर्च हुने महालेखाको ठहर छ ।
जगरनाथपुर गाउँपालिकाले ५२ लाख १३ हजार इन्धनमा खर्च गरेको छ ।
महालेखाले जगरनाथपुरले ३९ लाख २९ हजार ५५८ रुपैयाँ अनियमित देखिएको जनाएकाे छ ।
बिन्दवासिनी गाउँपालिकाले एक वर्षमा १४ लाख ९२ हजार २२५, धोबिनीले ३५ लाख, छिपहरमाईमा ६९ लाख ६५ हजार ६ सय, जिराभवानीले ५१ लाख ४४ हजार, कालिकामाईले ३९ लाख १० हजार ९८८ पकहा मैनपुरमा ३२ लाख २४ हजार इन्धनमा खर्च गरेका छन्।
त्यस्तै, पटेर्वा सुगौली गाउँपालिकाले ३५ लाख ४८ हजार,सखुवा प्रसौनीले ५१ लाख ८८ हजार र ठोरी गाउँपालिकाले कार्यालय प्रयोजनमा २९ लाख ९९ हजार ५६७ तथा अन्य प्रायोजन भनेर ४ लाख २८ हजार ९९२ डिजेल,पेट्रोल र मोबिल खर्च गरेको छ।
महालेखाको परीक्षणले जिल्लाका स्थानीय तहले वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख नराखेकाे जनाएकाे छ ।