काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान विकास केन्द्र पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार कार्की सहित उनका श्रीमती उर्मिला थापा कार्कीविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले कार्कीले पदको दुरुपयोग अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा सार्वजनिक सेवा प्रदेश गरेको २६ वर्षको अवधिको आयव्यय विश्लेषण गर्दा ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ ६६ पैसा बराबरको सम्पत्तिको स्रोत खुल्न नआएको जनाएको छ ।
आयोगले वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिब नदेखिने किसिमको कार्की र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन गरेको प्रमाणित भएको भन्दै सार्वजनिक पद धारण गरेका कार्कीले साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै कार्कीलाई बिगो ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ ६६ पैसा कायम गरिएको जनाएको छ ।
साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ ग¸ दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) अनुसार बिगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढे बढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको आरोप पत्रमा उल्लेख छ ।
यसैगरी कार्कीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैर कानुनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती उर्मिला थापा कार्कीसमेतको नाममा जग्गाहरू खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको बताइएको छ ।
लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम उर्मिला थापा कार्कीलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढे बढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।
हेर्नूहोस् आरोपपत्रः