काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी गरी १२ जनाको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै अतिरिक्त समूहमा रहेका अधिकृतहरूको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार, गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुर र सन्तबहादुर सुनुवारलाई रोल्पाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
त्यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई डोटी र डोटीकी प्रजिअ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासी पूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेलाई सिरहामा सीडीओ बनाएर पठाइएको छ ।
यस्तै सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ । खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । यस्तै,रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर गृहले सरुवा गरिएको हो ।
यसैगरी उता, कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ ।
जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ । त्यस्तै काभ्रेको सहायक सीडीओ महेश कुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।