काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् । नेपाल र भारतबीच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत सरकारले जग्ग उपलब्ध गराए महानगरले रंगशाला बनाउने घोषणा गरेका हुन् ।
सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा पहल गर्ने उनी बताउँछन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्, ‘फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो– यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ? श्रीलंकाको अध्यागमन चकित पर्नेगरीको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए, त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला ।’
‘टीभीमा देखिने विराट, रोहितहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडीहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरुको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो । ठिक त्यहि बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।’
उनले श्रीलंकामा नेपाल र भारतबिच खेल भइरहेको रंगशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् ।
‘केही प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद । यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ’, उनले लेखेका छन् ।
यस्तोमात्रै रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेलको विकास हुन सक्ने बालेनले प्रस्ट पारेका छन् ।
‘एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ’, उनले लेखेका छन् ।