काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ लाग्ने गरेको पाइएको छ ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा आयोगका सचिव रामेश्वर दंगालले तथ्यांक प्रस्तुत गर्दै १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी परेको जानकारी दिए ।
आयोगमा आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको दंगालले जानकारी गराएका हुन् । तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरी मात्र फर्छ्यौट भएको छ ।
२३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।
कसुर स्थापित भएको प्रतिशत पनि २०७९/८० मै सबैभन्दा कम छ । यो आर्थिक वर्षमा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको छ । सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८८.२४ प्रतिशत कसुर स्थापित भएको अख्तियारका सचिव दंगालले जानकारी दिए ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फर्छ्यौट २०७८/७९ मा ७०.५६ प्रतिशत भएको छ । यसैगरी सबैभन्दा कम २०७९/८० मा ५६.३३ प्रतिशत उजुरी फर्छ्यौट भएको छ ।
अख्तियारका अनुसार २०७४/७५ मा १९४८८, २०७५/७६ मा २४०८५, २०७६/७७ मा २५१५२, २०७७/७८ मा २२६२५ र २०७८/७९ मा २४३३१ उजुरी दर्ता भएको छ ।