काठमाडौं । टुकीको उज्यालोमा अक्षरहरू छामेर, लालटिनको प्रकाशमा सूत्रहरू मुसारेर उपसचिव जमुना मिश्रको विद्यार्थी जीवनमा शिक्षा भरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तल्लो तलामा भेटिएकी उनीसँग बाल्यकालको कुरा गर्नासाथ पहिले चितवनको रत्ननगर १ स्मरण गरिन् । किनभने उनी त्यही भूगोलको हावापानी, माटोसँग मितेरी गाँसेर जन्मे-हुर्केकी, खेले-पढेकी थिइन् । सोही ठाउँमा हाँस-खेल गर्दै हुर्किएकी उनले बाल्यकालका तितामिठा दिनहरू खर्च गरेकी थिइन् ।
घरमा बिजुली बत्ती नभएका कारणले मिश्रलाई सँगै बसेर पढ्न मन लाग्दैनथ्यो । टुकी या लालटिनको उज्यालोमा शिक्षाको ज्योति ग्रहण गर्नुपर्ने बाध्यता थियो । गर्मी महिनामा रुखको छहारीमुनि गुन्द्रीमा बसेर पढ्ने गरेको उनी सम्झिन्छिन् ।
उनका बुवा तथा परिवार तनहुँबाट बसाइँ सरेर चितवन पुगेका हुन् । यद्यपि उनको सम्झनामा पहिले चितवन नै आउँछ । कृषि पेसामा आबद्ध परिवारको आर्थिक अवस्था कमजोर रहेको उनी सम्झिन्छिन् । कृषि कर्म गर्नका लागि पर्याप्त जग्गाजमिन समेत परिवारसँग थिएन । कसैगरी आमाबुवा र छोराछोरी समेत १० जनाको परिवारलाई खान भने पुग्थ्यो । ६ छोरी र २ छोरामध्ये उनी साइँली तथा जुम्ल्याहा सन्तान हुन् । जुम्ल्याहाअन्तर्गतका गंगा जमुनामध्ये उनी जमुना हुन् ।
छोरी धेरै भएको कारणले समाजमा उनको परिवारले अपहेलनाको सामना समेत गर्नुपर्यो । परिवारले छोरीलाई किन पढाएर राखेको भन्ने खालका अभिव्यक्तिहरूको सामना गर्नुपर्थ्यो । तर, उनका बुवाले छोराछोरीमा कहिल्यै भिन्नता गरेनन् । त्यति बेलाको समयमा एसएलसी पास गरेपछि छोरीहरूको विवाह गर्ने चलन थियो । तर, उनका बाबुले भने छोरा-छोरी जागिरमा प्रवेश गरेर आफ्नो खुट्टामा उभिएपछि मात्र विवाह गराउने धारणा राख्थे ।
परिवारको ६ जना छोरीमध्ये अहिले ५ जना निजामती सेवामा छन् । उनी भन्छिन्, 'हामी छोरीहरू शिक्षालाई निरन्तरता दिएर निडर, निष्पक्ष र परिवारको सर्पोट पाएका कारणले आत्मनिर्भर भएर आज यो स्थानमा छौँ ।'
कृषि कर्मलाई सम्हाल्दै उनको विद्यार्थी जीवन अघि बढ्यो । कक्षा ६ सम्म घर नजिकै रहेको वैरिया प्राथमिक विद्यालयमा अध्ययन गरेकी जमुनाले नेपाल माध्यमिक विद्यालयबाट थप अध्ययनलाई अगाडी बढाइन् । सोही विद्यालयबाट ०४७ सालमा एसएलसी दिएर उनी ०४८ सालमा उत्तीर्ण समेत भइन् । त्यो समय याद गर्दै उनी भन्छिन्, 'त्यतिबेला एसएलसीको नतिजा आउनै ६ महिना लाग्ने गर्थ्यो ।'
सानैबाट कम बोल्ने स्वभावकी जमुनाको लिखित राम्रो भएता पनि बाहिर धेरै घुलमिल हुन रुचाउँदिन थिइन् । प्रायः शान्त देखिने जमुनालाई पढाइमा अब्बल पाउँदा शिक्षकहरू समेत छक्क पर्थे । 'यस्तो पढाइ होला जस्तो सोचेको थिएनौँ', शिक्षकहरू भन्थे ।
बाल्यकालका तितामिठा यादहरू सम्झँदै गर्दा उनी आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयमा साथीभाइले खाजा खाएता पनि आफू खाजा नखाई घर पुग्ने गरेको स्मरण गर्छिन् ।
विद्यालयको पढाइ सकेर ४ बजे घरमै उपलब्ध मकै, रोटी खान पुग्नुपर्थ्यो । खाजा खाइसकेर आराम गर्ने या पढिहाल्ने मौका मिल्दैनथ्यो । घरका कामहरूमा सहयोग गर्नुपर्ने हुन्थ्यो । घाँस दाउरा गर्ने, बाली गोडमेल गर्ने लगायतका काम सक्नै पर्ने हुन्थ्यो । बिहान पनि यावत् कामहरू सकेर मात्र विद्यालयतिर गोडाहरू लम्कन्थे ।
साथीभाइसँग कम खेल्ने जमुनाको पढाइ देखेर भने साथीहरू पछ्याउँथे । परीक्षामा पनि आएको लेख्ने नआएको छोड्ने बानी थियो । जीवनमै कहिल्यै चिट नचोरी र कुनै साथीको नहेरी/नसोधी परीक्षा दिएको उनी सुनाउँछिन् । उनी भन्छिन्, 'मैले जीवनमा 'क' अक्षर पनि नचोरी अहिलेको अवस्थामा आइपुगेकी हुँ । म आफ्नै सामर्थ्यले भ्याउने जति मात्र गर्थेँ ।'
फुपूको छोराले खोलिदिएको एमबिएसम्मको ढोका
एसएलसीपछि घरबाट ४५ मिनेटको दूरीमा रहेको श्री कमर्स क्याम्पस (वर्तमान सहिद स्मृति मल्टिपल क्याम्पस)मार्फत उनले आफ्नो अध्ययनलाई अघि बढाएकी हुन् । क्याम्पसमा कमर्स नै पढाइ हुने भएकाले उनले कमर्स पढिन् । घर बाहिर राखेर पढाउने घरको अवस्था पनि थिएन । बिहान साढे चार बजे उठेर कलेजको नियमअनुसार साडी लगाएर तयार भई जाँदा निकै समय लाग्ने गर्थ्यो ।
स्वभावतः कलेजमा समेत उनले त्यति धेरै साथी बनाइनन् । परीक्षा पास गरेको देख्दा क्याम्पसका अंग्रेजी शिक्षकले दंग पर्दै भनेका थिए, 'तपाईं कहिल्यै कक्षामा केही नसोध्ने, केही नबोल्ने मान्छे राम्रो पढ्नुहुने रहेछ । तपाईंको भित्री पढाइ रहेछ ।' ०५१ सालमा रेगुलर आई कम पास गर्दै सोही क्याम्पसबाट उनले स्नातक तहसम्मको अध्ययन सकेकी हुन् ।
०५४ सालमा तत्कालीन २ वर्षे स्नातक तह पास गरेको उनले बताइन् । स्नातक तह उत्तीर्ण गरेपछि उनको पढाइमा पूर्णविराम लाग्ला जस्तो भयो । बाहिर राखेर पढाउने घरको अवस्था थिएन । त्यसमाथि छोरीलाई पठाइहाल्न पनि परिवारलाई गाह्रो थियो । अब पढाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता थियो । यसैबीच उनको फुपूका छोरा विमलराज बगाले उनलाई सहयोग गर्न अघि बढे । र, थप अध्ययनको लागि काठमाडौं आउन आग्रह गरे ।
जमुनाको परिवारसँग नजिक रहेका बगाले काठमाडौंमा तथ्यांक सेवामा नायब सुब्बा थिए । उनको दिदीबहिनी कोही नभएको कारणले पनि जमुनाका दिदीबहिनीलाई उनी धेरै माया गर्थे र दिदीबहिनीले पनि दाइलाई गर्थे । काठमाडौं आएर उनी शंकरदेव क्याम्पसमा भर्ना भइन् । लैनचौरमा रहेको दाइको कोठामा बसेर स्नातकोत्तरको (एमबिए) अध्ययन पुरा गरिन् ।
टेलिकम छोडेर लेखातर्फ
अध्ययन सकेपछि धेरैले उनलाई कलेजमा अध्यापन गराउन अनुरोध गरे । दोस्रो वर्षको अध्ययन गर्दै गर्दा चितवन फर्किएर प्लस टु अध्यापन गराउन सल्लाह दिए । तर, उनका दाइले 'कलेज पढाउने होइन । अस्थायीतिर लाग्ने होइन । लोक सेवा पढ्नुपर्छ ।' भनी निजामती सेवाको विकल्प दिए ।
दाइको निरन्तर हौसला-प्रेरणा पाएपछि यो बाटोमा हिँड्ने मन उनले बनाइन् । उनी यसमा लाग्ने पक्कापक्की भएपछि दाइले लोक सेवा आयोगमा सुब्बा रहेका एकजना साथीलाई भेट्न पठाए । जसले किताबहरू सूची बनाइदिए । किताब भेला पारेपछि सुरु भयो तयारी ।
त्यो बेला नायब सुब्बा, खरिदार र नेपाल टेलिकमले आवेदन खुलाएका थिए । उनले सुब्बामा र टेलिकममा परीक्षा दिइन् । ०६० सालमा उनले टेलिकममा सुब्बामा नाम निकालिन् र अन्तर्वार्ता दिइन् । उनको नाम वैकल्पिकमा निस्किएको थियो । ०६० सालको अन्त्यतिर उनले लेखा परीक्षण सेवामा पनि सुब्बामा नाम निकालिन् ।
लेखा परीक्षण अधीक्षकमा नाम निकाल्दा १४ जनामा उनी एकजना मात्र महिला थिइन् । उनी अन्तर्वार्तामा २ नम्बरमा सिफारिस भएकी थिइन् । टेलिकममा वैकल्पिकमा नाम निस्किएकाले पछि बोलाउँदा उनी गइनन् ।
आर्थिक रूपमा राम्रो हुन्छ भन्दै धेरै जनाले टेलिकममा जान आग्रह गरेका थिए । तर, उनले यो क्षेत्रमा ल्याउने या बाटो देखाउने दाइको सल्लाह अनुसार सरकारी सेवा नै रोजिन ।
सरकारी जागिर सामाजिक रूपमा प्रतिष्ठित जागिर हुनाले उनले टेलिकमको जागिर नखाने निर्णय लिइन् । पढाइ राम्रो भएको कारणले भोलीको दिनमा अधिकृत हुने सम्भावना समेत रहेको दाइले बताएका थिए । लिखित र अन्तर्वार्ता कटाएपछि आयोगले ०६१ साल जेठ ३ गते उनले सिफारिस पाइन् । र, ४ गते महालेखा परीक्षकको कार्यालयमा पहिलो नियुक्ति लिएर निजामती यात्रा सुरु गरिन् ।
सुब्बाबाट अधिकृतसम्मको यात्रा
उनी धेरै लामो समय सुब्बा भएर बसिनन् । ०६३ असोज ८ गते प्रशासन सेवामा अफिसरमा नाम निकालिन् । यसअघि महिला मन्त्रालयले सञ्चालन गरेको तयारी कक्षामा उनले एक महिना सहभागिता जनाएकी थिइन् । स्टाफ कलेजका शिक्षकहरूले नाम निस्किन्छ भनेर प्रोत्साहन गरेपछि ०६२ साल माघमा उनले अफिसरको परीक्षा दिएकी हुन् । लिखितको नतिजा साउनमा आयो । यसैबिच जेठमा उनको विवाह पनि भयो ।
उनले तीन ठाउँमा नाम निकालेकी थिइन् । प्रशासन सेवामा उनले अन्तर्वार्ता दिइन् भने अन्य दुईमा दिइनन् । अन्तर्वार्तामा नाम निस्किएपछि असोज ८ गते प्रशासन सेवाको शाखा अधिकृतको नियुक्ति लिइन् । त्यसपछि उनको ३ महिने सेवा प्रवेश तालिम सुरु भयो । तालिम पश्चात् माघमा राष्ट्रिय सतर्कता केन्द्रमा उनको पदस्थापना र उनले त्यहाँबाट अधिकृतको पदमा बसेर सेवा सुरु गरिन् । उनी त्यस बेला गर्भवती समेत भएकाले सतर्कता केन्द्रमा गएको उनी बताउँछिन् । वैशाखमा उनले छोरीलाई जन्म दिइन् र प्रसूति बिदापछि ०६४ साउनमा सरुवा भएर राष्ट्रिय योजना आयोगमा गइन् । श्रीमान् पनि योजना आयोगमा भएकाले त्यहीँको लागि उनले माग गरेकी थिइन् । जसले गर्दा बच्चा हेरविचार गर्न सजिलो हुन्थ्यो । करिब ८ वर्ष जति योजना आयोगका विभिन्न शाखामा उनले काम गरिन् ।
आमा र कार्यालय प्रमुखको भूमिका सँगसँगै
०७३ सालमा जिल्लाको अनुभव लिनुपर्छ भन्ने लाग्यो र, ०७३ असोजमा उनी डिभिजन सहकारी कार्यालय जुम्ला पुगिन् । यसबीचमा उनको दोस्रो सन्तानको पनि जन्म भइसकेको थियो । बच्चा सानो भएको कारणले उनी मन हुँदाहुँदै जिल्ला जान पाएकी थिइनन् । सानो छोरा बोकेर जुम्लामा उनले कार्यालय प्रमुख र आमा भएर डेढ वर्ष बिताइन् । त्यहाँबाट कर्णाली अञ्चलका पाँचै जिल्ला हेर्नुपर्ने थियो । विभिन्न कार्यक्रमको सिलसिलामा उनी पाँचै जिल्ला पुगेकी छिन् ।
डिभिजन सहकारी कार्यालयको काम सहकारी दर्ता गर्नुपर्ने हुन्थ्यो । जसको अधिकार कार्यालय प्रमुखलाई मात्र दिइएको हुन्थ्यो । शिविरहरू लगेर ठाउँ-ठाउँमा सहकारी दर्ता गर्नुपर्थ्यो । लेखा सम्बन्धी, सहकारीको सिद्धान्तसम्बन्धी तालिमहरू दिनुपर्थ्यो ।
कार्यालय प्रमुख भएर कसरी काम गर्ने भन्ने कुराको अनुभव पनि उनले यहीँबाट लिन पाएकी हुन् । आएका समस्या र चुनौतीसँग कसरी सामना गर्ने, तत्काल निर्णय कसरी गर्ने लगायतका कुराको अनुभव पनि यहीँबाट मिल्यो ।
त्यस बेलाको अनुभव सुनाउँदै उनी भन्छिन्, 'कहिलेकाहीँ काठमाडौंका मन्त्रालयबाट फोन जान्थ्यो । म मन्त्रीको मान्छे बोलेको तपाईँले मैले भनेको काम गरिदिनुहोस् भन्ने अभिव्यक्ति आउँथे । तर म कानूनसम्मत गर्ने हो । यसरी भनेको भरमा काम गर्न सक्दिन भन्थेँ ।'
उनीहरू तपाईं महिला भएर त्यसरी कुरा गर्न मिल्छ ? भन्दै चर्को स्वर गर्थे । उनी त्यसको जवाफमा लोकसेवाले महिला पुरुष भनेर कुर्सीमा नपठाएको स्पष्ट पार्थिन् । उनी 'मलाई सहकारी अधिकृत र यस कार्यालय प्रमुख बनाएर पठाएको हो । जो भएपनि कानूनसम्मत काम गर्ने हो' भन्दै जवाफ फर्काउँथिन् ।
यही बसाइँको क्रममा उनी अर्को एक घटना पनि सम्झिन्छिन् । ०७४ को निर्वाचनमा उनलाई महिला बुथको मतदान अधिकृत बनाएर पठाइएको थियो । जुम्लाको सदरमुकामबाट आधा घण्टाको दूरीमा रहेको मतदान केन्द्रमा 'निर्वाचन सम्पन्न गरिदिनु पर्यो' भनी उनलाई खटाइएको थियो । कर्मचारीको टोली लिएर उनी बुथमा गएर काम गर्दै गर्दा तत्कालीन सांसदले 'मेरो मतदान केन्द्रमा निर्वाचन कार्यालयले हेपेर महिला मतदान अधिकृत पठायो' भनेको उनले सुनिन् । यो कुरा कानमा परेपछि नराम्रो महसुस हुने नै भयो । त्यसैले बाहिर आएर माननीयज्यूलाई निर्वाचन अधिकृतको कार्यालयले महिला/पुरुष भनेर नपठाएको उनले बताइन् । 'पुरुषले गर्दा के हुन्थ्यो र महिलाले गर्दा के हुँदैन थियो ?’ भन्दै फरक सोधिन् । साथै निर्वाचनको काम स्वच्छ र निष्पक्ष रूपमा गरेर देखाउने प्रतिबद्धता जनाइन् । उनको जवाफपछि माननीय प्रभावित मात्र भएनन् आफूले सक्दो सहयोग गर्ने बाचा समेत गरे ।
उनी पुगेको भूगोलमा महिलालाई केही कतै विभेद गरिएको उनले महसुस गरिन् । कृषि तथा घरका काममा महिला खट्ने, पुरुषहरू फलानो पार्टीको मान्छे हुँ भन्दै हिँड्ने परिवेश थियो । अधिकांश पुरुषको दुई तीन विवाह भएको भेटिन्थ्यो । यी विवाह गाउँपालिकामा पनि दर्ता हुँदैन थिए । यो कुरा उठाउनुको कारण सहकारी दर्ता गर्न स्थायी ठेगाना चाहिन्थ्यो । यसरी सहकारी दर्ता नभएपछि उनलाई फोन आउँथ्यो । 'म फलानो पार्टीको हो, उहाँ मेरी श्रीमती हो' भन्दै सहकारी दर्ता गरिदिन भनिन्थ्यो । तर जमुना लिखित रूपमा प्रमाणित हुने कागजात माग्थिन् । कागजात नभई दर्ता गर्न मिल्दैन भन्दा चर्को स्वर आउँथ्यो ।
प्रदेश मन्त्रालयको अनुभव
०७४ सालमा जुम्लामा कार्यरत रहँदा उनी उपसचिवमा बढुवा भइन् । उपसचिवमा बढुवा भएपछि उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिरी जनाइन् । त्यतिबेला भर्खरै प्रदेश मन्त्रालयको स्थापना भएको थियो । माघ १५ गते नियुक्ति बुझेर १८ गते बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा उपसचिवको रूपमा उनको पोस्टिङ भयो । चिठी बुझेर नयाँ कार्यालयको स्थापना गर्नुपर्ने भएकाले र मन्त्री आउने हुनाले उनीहरूलाई यथा शीघ्र जान भनियो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नियुक्ति पाएकी जमुना भन्छिन्, 'त्यो मन्त्रालयको स्थापना नै हामीहरूले गरेको हो ।' हाजिर भएको जानकारी संघीय मामिला तथा प्रशासन मन्त्रालय, निजामती किताब खानामा पठाउनका लागि चौरमा बसेर चिठी लेखेर पठाएको उनी सम्झिन्छिन् । उनले प्रदेश मन्त्रालयमा डेढ वर्षको अनुभव लिइन् ।
जिल्ला समन्वय समितिको एउटा हलमा उनको मन्त्रालय स्थापना भएको थियो । स्थापनाका लागि सचिव र उपसचिव मात्र पुगेका थिए । कार्यालय राख्नका लागि प्रजिअको संयोजकत्वमा एउटा समिति रहेको उनले बताइन् । जिल्ला शिक्षा कार्यालयको भवनमा आन्तरिक मामला तथा कानून मन्त्रालय राख्ने कुरा भएको थियो । तर, धेरै वर्षदेखि त्यहाँ बसेको कार्यालय तुरुन्तै सर्ने अवस्था थिएन । त्यसैले दुई वटा कोठा मात्र कार्यालयले मन्त्रालयको लागि छुट्ट्याएको थियो ।
सचिवसँग मिलेर आफैँले कोठामा झाडु-पोछा लगायत कोठामा चाहिने फर्निचरको व्यवस्थापन गरेको र साँझ ७बजे एउटा फाइल उठाइ निर्णय गराएर मन्त्रीको पदावली गरेको कुरा उनी स्मरण गर्छिन् ।
संघीय मामिला तथा प्रशासन मन्त्रालयले कडा निर्देशन दिएपछि बिस्तारै कर्मचारीहरू पनि आउन थाले । त्यसपछि कार्यालयको काममा सहजता हुन थाल्यो ।
०७५ साल चैतमा उनी मुस्लिम आयोगमा सरुवा भइन् । त्यहाँ गएर उनले मुस्लिम महिलाहरूको मुद्दाबारे बुझ्ने मौका पाइन् । डेढ वर्षको बसाइँमा उनले मुस्लिम महिलाहरूको पिडाहरू बुझ्ने मौका पाइन् । त्यहाँ कार्यरत रहँदा विभिन्न जिल्लाहरूमा कार्यक्रम लिएर गएको उनको अनुभव छ ।
त्यतिबेला विभिन्न स्थानमा मुस्लिम महिलाहरूलाई घरबाट बाहिर निकाल्न समेत गाह्रो भएको उनले सुनाइन् । एक कार्यक्रमअन्तर्गत सिलाइ-कटाइको कार्यक्रम लिएर उद्घाटन गर्न जाँदा चार बजेसम्म कार्यक्रम सुरु हुन सकेन । महिलाहरू इच्छुक थिए तर उनीहरूको नागरिकता लगायतका कागजात पुरुषले राखेका थिए । कार्यक्रमको बारेमा थाह पाएर महिलाका श्रीमान्, ससुरा तथा अन्य पुरुष सम्झौता गर्न आउँथे । 'हामीले हाम्रा चेलीबेटी पटायौँ भने त्यसको बदलामा के दिनुहुन्छ ? कति भत्ता दिनुहुन्छ ?' जस्ता कुरा उनीहरू सोध्थे ।
यो नेपाल सरकार कार्यक्रम हो, यसमा भत्ताको व्यवस्था हुँदैन तर उनीहरूलाई सिप सिकाएर, क्षमता विकास गर्ने हो, आत्मनिर्भर बनाउने हो भन्दै बुझाउन खोज्दा उनीहरू भत्ता नआउने भए नपठाउने कुरा गर्थे । हामी खाजा ख्वाउँछौँ, सिप सिकाउँछौँ र अन्तमा बिउ पुँजीको रूपमा सिलाई मेसिन वितरण गर्छौँ ।
यसले आर्थिक रूपमा सबल हुन मदत पुर्याउँछ भन्दा समुदायका पुरुषहरू भत्ताको व्यवस्था नभए आफ्ना छोरी, बुहारी तथा सम्पूर्ण महिलालाई भाग लिन नदिने भन्दै विरोध गर्थे । यद्यपि महिलाहरूले भने रोएर आफ्नो इच्छा जाहेर गर्थे ।
उक्त क्षेत्रमा महिलालाई अविश्वास गर्ने गरिन्थ्यो । 'त्यो कार्यक्रममा गइस् भने घर नआइज भन्छन्' भन्दै बन्देज लगाइन्थ्यो ।
'हामीलाई पनि तपाईं जस्तै भएर हिँड्न मन छ । आफ्नो खुट्टामा उभिने मन छ तर हामीलाई घरबाट निस्किन दिँदैन' भन्दै महिलाहरू आफ्नो दुखेसो पोख्थे । तर पुरुषहरूले बुझ्दैन थिए ।
प्राथमिकतामा नपरेको शाखाको जिम्मेवारी, तर केही गर्ने विश्वास
०७७ साल मङ्सिर १० गते उनको सरुवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भयो । मन्त्रालयको प्राथमिकतामा नपरेको कुनै उपसचिव टिकेर नबस्ने, धेरै काम पनि नहुने शाखा भनेर हाल कार्यरत शाखामा उनको पदस्थापन भएको उनी बताउँछिन् ।
उनी भन्छिन्, 'अहिले त्यहीँ काम गर्नु अरू शाखा खाली भएपछि सरुवा गरिदिन्छु सचिवज्यूले भन्नुभयो ।' तर जहाँ बसेर गरे पनि काम गर्ने हो भनेर उनले उक्त प्रस्ताव सहर्ष स्वीकार गरिन् । साथै सकेसम्म कुनै नतिजा देखाउने दृढ विश्वास उनले लिइन् ।
उक्त शाखामा काम गर्दैगर्दा ६ महिना पछि अर्को शाखामा स्थान रिक्त भएकाले जमुनाको इच्छा बुझियो । सचिवले जमुनाको कामको पनि निकै प्रशंसा गरे । तर, उनले काम शाखाले नभएर आफैँले सिर्जना गर्ने बताउँदै उक्त शाखामा केही गरेर देखाउने बताइन् । उनी उक्त शाखामा सन्तुष्ट छिन् । यस शाखामा काम गर्दा अपांगता भएका व्यक्तिलाई कसरी सशक्तीकरण गर्ने, उनीहरूको विकासमा कसरी काम गर्ने भन्ने कुरा जानिन् । आफू नीतिगत तहमा पुगेपछि धेरै कानूनहरू पनि बनेको उनी बताउँछिन् ।
यस शाखामा आउनु अघि उनले अपांगता भएका व्यक्तिहरूलाई साधारण रूपमा मात्र बुझेकी थिइन् । तर यस शाखामा आइसकेपछि यसभित्र रहेका धेरै आयामहरू बारे उनले बुझ्न पाइन् ।
निजामती सेवाको १९औँ वर्षको यात्रा
निजामती सेवामा १९औँ वर्षदेखि काम गरिरहेकी जमुना यस सेवामा काम आफैँ सिर्जना गर्नुपर्ने बताउँछिन् । उनी 'म गर्न सक्छु' भनेर गर्न सके यस क्षेत्रमा काम गर्न सकिने विश्वास राख्छिन् ।
राजनैतिक प्रभावका कारण कर्मचारीलाई रुचि लागेको कार्यालयमा तथा अध्ययन अनुरूप काम गर्न पाउने वातावरण नभएकोमा उनी दुखी छिन् । रुचि भएको र अध्ययन अनुसारको कार्यालयमा काम गर्न पाउँदा कार्यसम्पादनमा अझ राम्रो नतिजा आउने उनको बुझाइ छ ।
निजामती सेवामा २ वर्ष पुगेपछि सरुवा गर्न मिल्ने कानूनी व्यवस्था भए तापनि नियम पूर्ण रूपमा पालना नभएको उनी बताउँछिन् । उनी आफू फाइल बढुवाबाट आउनु पर्दा नमजा लागेको उनी बताउँछिन् । किनभने उनको पढाइ राम्रो थियो । विवाह गरेर पारिवारिक जिम्मेवारी थपिएपछि उनको अध्ययनमा रोकिए जस्तो भयो । घरबाट सोचे जस्तो सहयोग नपाएको उनी गुनासो गर्छिन् । 'पढेरै नाम निकालेर अगाडी बढ्नुपर्थ्यो तर पारिवारिक समर्थन नभएका कारण सम्भव भएन', उनी भन्छिन् 'एक्लै बच्चा हेर्नुपर्ने/हुर्काउनुपर्ने र जागिर पनि सम्हाल्नु पर्ने थियो ।'
दुई महिनाकी छोरी छोडेर कार्यालय गएका दिनहरू उनको मानसपटलमा ताजै छन् । दिउँसो उनको बच्चा हेरिदिने मान्छे हुँदैन थियो । उनी दुखी हुँदै भन्छिन्, 'आग्रह गर्दा पनि परिवारले साथ दिएन । 'पारिवारिक साथ नभएका कारण आफ्नो यात्रा सोचे अनुरूप अघि बढाउन नपाएकोमा उनलाई नमजा लाग्छ । अफिसरसम्म आउँदा उनले जुन स्तरको तयारी गरिरहेकी थिइन् त्यो रोकियो । क्षमता हुँदाहुँदै पनि अघि बढ्न नपाएकोमा उनलाई फर्किएर हेर्दा जीवन कता कता तितो लाग्छ ।
कर्मचारीतन्त्रमा प्रवेश गरिसकेपछि सबैले अगाडीकै बाटो पहिल्याउन खोज्छन् । सके सचिव नभए सहसचिव हुने चाहना प्रायमा हुने उनी बताउँछिन् । नीति निर्माण तह सम्म पुग्नुपर्छ भन्ने उनलाई लाग्छ ।
निजामती सेवालाई सर्वसाधारणले हेर्ने दृष्टिकोण नकारात्मक रहेकोमा उनलाई अप्ठ्यारो लाग्छ । किनभने सबै कर्मचारी उस्तै हुँदैनन् । उनी सबै निजामती कर्मचारीलाई समान तरिकाले नहेर्न अनुरोध गर्छिन् । उनी भन्छिन्, 'हामी नैतिकता, अनुशासन, आचरणमा बसेर ऐन कानूनलाई पछ्याएर काम गर्ने कर्मचारीहरू पनि छौँ । कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्न सके निजामती सेवामा धेरै उम्दा कर्मचारी रहेका छन् ।'