काठमाडौं । बेसीशहर नगरपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित पालिका हो । जिल्ला सदरमुकाम रहेको नगरपालिका भएकाले स्वभाविक रुपमा अन्य पालिका भन्दा बेसीशहर केही बिकसित पनि छ । साबिक बेशीशहर, गौनशहर, उदिपुर, चण्डीस्थान, बागलुङपानी गाविस(वडा नं ३,४,७,८ र ९), बाझाखेत, हिलेटक्सर (वडा नं ९) र चितीलाई गाभेर बेसीशहर नगरपालिका बनाइएको हो । ११ वटा वडाहरू रहेको यस नगरपालिकामा उप-उष्णकटिबंधीय हावापानी छ । बेशीशहर नगरपालिकाको उत्तरबाट अन्नपूर्ण २, माछापुच्छ्रे, लमजुङ हिमाल हेर्न सकिन्छ ।
यही नगरपालिकाको नेतृत्व गरिरहेका छन् नगर प्रमुख गुमानसिंह अर्यालले । नेकपा एमालेका नेता समेत रहेका उनी दोस्रो कार्यकालका लागि नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । नगर प्रमुख अर्यालसँग पालिकाको विकास निर्माण लगायतका विषयमा केन्द्रित रहेर व्यवस्था डटकमले गरेको कुराकानीको सारसंक्षेप
स्थानीय तहको सरकारलाई सिंहदरबार भनेर पनि चिनिन्छ । तपाईं निर्वाचित भएको पनि एक वर्ष पुरा भइसकेको छ । स्थानीय सरकारप्रति बेसीशहर नगरपालिकाका जनताको कस्तो दृष्टिकोण छ ?
स्थानीय तहका सरकारलाई घर-घरको सिंहदरबार भनेता पनि व्यवहारिक रूपमा अधिकारको दिइएको छैन । हामीसँग भएका अलि-अलि अधिकारहरू पनि सिंहदरबारमा भएको सरकारले खोसेको अनुभव छ । ५० हजार देखि दुई लाखसम्मको योजनाहरू संघीय सरकारले हाल्ने गरेको छ ।
तपाईँले भन्नु भएको जस्तै घर-घरमा सिंहदरबार आएको हो तर, संघीय सरकार र प्रदेश सरकारले प्रस्तुत गरेको भूमिका केन्द्रीकृत रहेको छ । काठमाडौंमा सिंहदरबार छ । पोखरामा प्रदेश सरकार रहेको अवस्था छ । उनीहरूले बजेट पनि आफैँ राखेका छन् । कार्यसम्पादनको कुरा गर्दा ४०-५० प्रतिशत पनि काम गरिएको छैन ।हाम्रो पालिकामा कम बजेट भएता पनि ८५ प्रतिशत काम सम्पन्न भएको छ । विकास बजेट करिब ९४ प्रतिशत छ । ठेक्कापट्टाले नगरेको काम बाहेक अरू कामहरूमा हाम्रो शत-प्रतिशत काम रहेको छ । सिंहदरबारले निर्वाह गर्नुपर्ने भूमिकाहरूलाई स्थानीय तहका हामी जस्ता जनप्रतिनिधीहरूले निर्वाह गर्दै आएका छन् ।
पालिकाले सम्पादन गर्दै आएको कामका बारेमा जनताले कस्ता प्रतिक्रिया दिएका छन् ?
इमानदारिताका साथ अनियमितता, आर्थिक घोटाला नगरी जनतासमक्ष जाने हो भने, जनताहरूले अवश्य राम्रो प्रतिक्रिया दिन्छन् । मेरो सन्दर्भमा अहिलेसम्म पाँच वटा चुनावमा निर्वाचित भएको छु । नगर प्रमुखको रूपमा यो मेरो दोस्रो कार्यकाल हो । यसअघि ३ सयको भिन्नता र अहिले गठबन्धन हुँदा पनि २ हजारको अन्तरले निर्वाचित भएको हुँ । मेरो विजयबाट पनि जनताले दिएको प्रतिक्रिया बुझ्न सकिन्छ ।
पालिकाको विकासका लागि बजेट विनियोजन के-कसरी भएको छ ?
जनताका बीचमा जान मलाई कुनै आपत्ति छैन । जनताका बीचबाट गएर पनि संघीय सरकारले हाम्रो लागि बजेट दिएको छैन । गत वर्ष १२ करोड राजस्व उठेको पैसाबाट ८ करोड मात्र हाम्रा लागि दिइएको थियो र बाँकी ४ करोडको हिसाब भएको छैन । संघीय सरकार र प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदानमा ८ करोड आउने कुरा थियो तर बजेट भने पाएका छैनौं । योजनाहरू छनौट गरेर सम्पन्न गरेका थियौँ तर भुक्तानी दिन नसकेर यो वर्ष तिर्दै छौं ।
अघिल्लो आर्थिक वर्ष पनि माथिल्ला तहका सरकारले ४ करोड बजेट कटौती गरेका हुन् । समानीकरण अनुदानबाट १५ करोड बजेट आउनुपर्नेमा १३ करोड मात्र आएको थियो । राजस्वमा १२ करोड आउनुपर्नेमा १० करोड मात्र दिइयो । त्यसमध्ये २३ करोड पैसा पठाइएको थियो । जसबाट १४ करोड चालु पूँजीका लागि छुट्यायौँ । ७ करोड वार्डमा दियौँ । हाम्रो आन्तरिक आयोग सानो भएकाले यातायात, खानेपानी, सिचाई, कृषि, जन-स्वास्थ्य, शिक्षा, वन संरक्षण, संस्कृति संरक्षणमा बाँकीको दुई करोड खर्च भएको छ ।
हामीले जनताका आकांक्षा महोत्वाकांक्षालाई पुरा गर्न सकेका छैनौं । पर्याप्त बजेट नभएकाले विकासका पक्षमा हामी पछाडि परेका छौं । संघीय सरकार र प्रदेश सरकारले बजेट पर्याप्त दिँदैनन् । आएका बजेटहरू पनि नसोधी कटौती गरिन्छ ।
नगर प्रमुखका रुपमा यो तपाईं दोस्रो कार्यकाल । कार्य सम्पादनमा कत्तिको सहजता भएको छ ?
नगर प्रमुखको रूपमा दोस्रो कार्यकालमा छु । जनताहरूले मबाट परिणाम खोजिरहेका छन् । संघीय सरकार र प्रदेश सरकारले पर्याप्त बजेट नदिएका कारणले विकासको कामहरूमा बाधा, अवरोध आइरहेको हुँदा अपेक्षा अनुरूपको परिणाम दिन नसकेको अवस्था छ । अधुरा रहेका योजनामा पनि हामी खट्दै छौं ।
हाम्रो नगरपालिकामा सदरमुकाम पर्दछ । यहाँ बिजुली, खानेपानीको राम्रो व्यवस्था छ । सडकको कुरा गर्ने हो भने ७० वटा बाटो ढलान गरेका छौं । करिब सय वटा सामुदायिक भवनको निर्माण गरेका छौं ।
निर्वाचनका समयमा तपाईं र तपाईंको पार्टीले जारी गरेको घोषणापत्र अनुसार कत्तिको प्रतिबद्धता पुरा गरेँ जस्तो लागेको छ ?
नगर प्रमुखको रुपमा पहिलो कार्यकालमा जारी गरेको घोषणा पत्रबाट ९० प्रतिशत कुराहरूलाई सम्बोधन गरेका थियौँ । दोस्रो कार्यकालको कुरा गर्ने हो भने. कृषि क्षेत्रको विकासका लागि केही कदमहरू चालेका छौं । कृषि व्यवसायलाई आधुनिकीकरण, यान्त्रीकरण गर्नका लागि ७० वटा आधुनिक हलोको वितरण, मल वितरण, टनेल, गोठका छाना, भकारी निर्माणहरू लगायतका लागि हामीले काम गरेका छौं ।
यातायातको क्षेत्रमा सम्पूर्ण वार्डहरूमा बाटो बनाउनका लागि ढलान, पिच, नाली खन्ने जस्ताका कामहरू हुँदै छ ।खानेपानीका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गरेका छौं । बजेट पर्याप्त नभएको हुनाले २-३ वटा वाडमा धाराका कार्यक्रम अधुरो रहेको छ ।
सिँचाइको क्षेत्रमा पनि विभिन्न ठाउँहरूमा कुलो खन्ने गरेका छौं । सिचाइका लागि पानीका ठुला पाइपको व्यवस्था गरेका छौं । स्वास्थ्यका क्षेत्रमा पनि हामीले सुत्केरी महिलाहरूका लागि भत्ताको व्यवस्था गरेका छौं । अस्पतालसम्म आउनका लागि एम्बुलेन्स मार्फत निःशुल्क सेवा दिएका छौं । केही जनताका लागि बीमाको व्यवस्था पनि गरेका छौं । ६० वर्ष नाघेका एकल पुरुष लगायतका व्यक्तिहरूका लागि भत्ताको व्यवस्था गरेका छौं ।
दोस्रो कार्यकालमा प्रतिबद्धता पुरा गर्न कस्ता बाधा-अवरोधहरू आएका छन् ?
हाम्रो नगरपालिकामा कार्यसम्पादन समयमै हुन्छ । सबैभन्दा ठुलो चुनौती भनेको संघीय सरकार र प्रदेश सरकारले पर्याप्त बजेट नपठाएको कारणले केही योजनाहरूमा बाधा तथा अवरोधहरू आएका छन् ।
तपाईँको नगरपालिका जिल्ला सदरमुकाम पनि हो । यहाँका जनताले कर तिर्ने कुरामा कस्ता दृष्टिकोण राखेका छन् ?
हाम्रा नगरपालिकाका जनताहरू कर तिर्ने कुरामा अघि नै छन् । कर तिर्ने कुरामा पछाडि नभए पनि जनताहरू सन्तुष्ट भने छैनन् । उनीहरूलाई कर तिर्न नपरे पनि हुन्थ्यो, कर्मचारी तथा जनप्रतिनिधिहरूलाई भत्ता किन दिनु जस्ता कुराहरूमा चाहिँ गुनासो रहेको सुन्न पाइन्छ ।
अन्य पालिकाहरूमा नगरप्रमुखको उप-प्रमुख, कर्मचारी, वडा अध्यक्षहरूसँग मनमुटाब भएका कुरा सुनिन्छ, तपाईँको अनुभवले के भन्छ ?
यस पालिकामा मेरो ६ वर्षे कार्यकालको अनुभव छ । अहिले सम्म कुनैपनि निर्णयहरूमा फरक मत पाएको अनुभव छैन । यहाँका कर्मचारीहरू पनि भ्रष्ट नभएकाले उहाँहरूसँग कुनैपनि योजनामा समन्वय, सहकार्य गर्नमा समस्याहरू पैदा भएको छैन ।
अन्त्यमा केही कुरा राख्न चाहनुहुन्छ ?
अन्य पालिकामा जस्तै हाम्रो नगरपालिकाका जनताहरूको पनि माग, आकांक्षा, अपेक्षाहरू छन् । ती अपेक्षालाई पुरा गर्नका लागि हामी दिनरात खटेका छौं । तर पालिकामा भएको सीमित बजेट र स्रोतका अभावले जनताका मागहरूलाई सम्बोधन गर्न सकेका छैनौं । हामी नियम, कानून, सरकार तथा संविधानका दायरामा रहेर कार्यसम्पादन गर्दैछौँ । परिणामहरू ढिला आउन सक्छन् त्यसैले जनताहरूलाई धैर्यता राख्न अनुरोध गर्दछु ।