जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मधेस प्रदेशले छात्रवृत्तिमा गम्भीर लापरबाही गरेको तथ्य बाहिरिएको छ ।
परिषद्ले सञ्चालन गरेको निःशुल्क छात्रवृत्ति तर्फको परीक्षाको सार्वजनिक नतिजामा गम्भीर लापरबाही गरेको फेला परेको हो । प्रकाशित नतिजामा कोटामै नपर्ने झा र यादवलाई दलिततर्फ निःशुल्क छात्रवृत्ति कोटामा नतिजा सार्वजनिक गरिएको छ भने मुस्लिम कोटामा पासवानलाई सिफारिस गरिएको छ ।
त्यस्तै, मण्डल थर भएका व्यक्तिको नामावली दलिततर्फ राखिएको छ । यद्यपि, एउटा मण्डल समुदाय भित्रको जाति दलित र मण्डल समुदायभित्रकै अर्को जनजातिमा पर्ने गर्छ । तर, सो दलित कोटातर्फ परेका मण्डल भने दलित नभई जनजाति रहेको स्रोतको दाबी छ ।
सोमवार परिषद्ले प्रकाशित गरेको नतिजामा दलित कोटामा डब्लु कुमार यादव र कार्तिकेश झाको नाम सार्वजनिक गरेको छ । त्यस्तै, मुस्लिम कोटामा विकास पासवानको नाम उल्लेख छ ।
डिप्लोमा सिभिल इन्जिनियरिङ तर्फको नतिजामा डब्लु, कार्तिकेश र विकासको नतिजा त्रुटिपूर्ण आएको हो । यस्तै, डिप्लोमा जियोमेट्रिकस इन्जिनियरिङ तर्फको नतिजामा राजाबाबु यादवलाई मधेसी दलित कोटामा उत्तीर्णमा नाम राखेको छ ।
सोही कोटाको वैकल्पिकमा मधेसी दलित सिकेन्द्र कुमार महरालाई वैकल्पिक सूचीमा राखेको छ । यसै संकायको सबै छात्रलाई छात्रातर्फको पास लिस्टमा राखेर परिषद्ले नतिजा प्रकाशन गरेको छ ।
परिषद्ले सार्वजनिक गरेको दर्जनौँ नतिजामा जनजाति मण्डललाई पनि दलित कोटामा राखिएको छ भने दलितलाई जनजातिमा राखेर वैकल्पिक सूचीमा राखेको केही विद्यार्थीहरुको गुनासो छ ।
नतिजा त्रुटिपूर्ण प्रकाशन भएको व्यापक विरोध आएपछि उक्त नतिजा परिषद्ले हाल स्थगन गरेको छ । परिषद्ले आफ्नो वेबसाईटमार्फत प्रकाशन गरेको सो नतिजा अहिले डिलिट नै गरिसकेको छ ।