काठमाडौं । गत बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र 'हल्कारा'ले उत्कृष्ट प्रतिक्रियाका बाबजुद दर्शकको उपस्थिति न्यून भयो । दोश्रो हप्ता पुग्दा प्रायः हलहरुबाट निस्केको यो चलचित्र सुन्धारास्थित सिटिसि मलमा रहेको 'सिडिसि सिनेमा'मा भने साँझ ५:३० बजेको शो चलिनै रह्यो ।
पुरै दोश्रो हप्ता एक मात्र हलमा चलेको 'हल्कारा' तेस्रो हप्ताको शनिवार सिडिसि सिनेमा कै अर्को हलमा समेत थपियो । यो क्रम अब अर्को चलचित्र हल विश्वज्योती हलसम्म पुगेको छ । गणतन्त्र दिवसको दिन रिलिजको तेस्रो हप्ताको सोमवारदेखि विश्वज्योती हलमा साँझ ६ बजेको शो थपिएको छ ।
विश्वज्योती हलका म्यानेजर रविन पौडेलले लगातार सोधिन थालेपछि शो राखेको बताए । उनले भने, 'विश्वज्योतीबाट पहिले नै उत्रिएको भएता पनि पछिल्ला केही दिनयता लगातार दर्शकहरूको सोधपुछ आउन थालेपछि शो राखेका हौँ । सोमवार सानो हलमा राखिएको शो लगभग हाउसफुल भइसकेको छ । मंगलबारदेखि ठुलो हलमा पनि रिलिज गर्दैछौँ ।'
त्यस्तै, सिडिसि सिनेमाका सञ्चालक जीवन शाक्यले आफ्नो हलमा लगातार सफल रुपमा 'हल्कारा' चलिरहेको बताए । उनले कहिलेकाहीँ दुई शो समेत चलिरहेको बताए । चलचित्रका निर्देशक विक्रम सापकोटाले ढिलै भए पनि दर्शकको रोजाइमा परेकोमा खुसी व्यक्त गरे । उनले भने, 'मैले सोचेको थिएँ प्रतिक्रियाका आधारमा पहिलो हप्ता नै दर्शकहरूको चाप बढ्नेछ, दुर्भाग्यवश त्यसो हुन सकेन । तेस्रो हप्तामा आइपुग्दा भने नसोचेको भइरहेको छ ।'
अभिनेता महेश त्रिपाठीले ढिलै भए पनि दर्शकको चासो बढेकोमा दंग रहेको प्रतिक्रिया दिए । प्रदर्शन पूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिवभलहरुमा अवार्डहरू हात परेको यो चलचित्रले समीक्षकहरूको उत्कृष्ट प्रतिक्रिया पाएको छ । यस चलचित्र हल्कारामा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ भने विनिता थापामगर, प्रकाश दाहाल , स्व. दीपक क्षेत्री , शारदा गिरी ,पशुपति राई लगायतको अभिनय रहेको छ ।