काठमाडौं । तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र युद्ध जारी थियो । रुकुमकी बिमला रोका श्रेष्ठ त्यतिबेला स्कुल लेभलको विद्यार्थी थिइन् । घर छेउछाउमा माओवादीका कार्यकर्ताहरू छ्याप्छ्याप्ती हुन्थे । उनीहरूले लडाइँ, त्याग र संघर्षका कुरा गर्थे । बिमला सानै भएकाले डराउँथिन् ।
तर त्यो समयमा त्यही कुरासँग जुधेर अगाडि बढ्नु थियो उनलाई । माओवादीको उद्गमस्थल रुकुमकी बिमलालाई ती कुराहरूले खासै असर गरेनन् । उमेर सानै भएका कारण पनि तत्कालीन द्वन्द्वरत पक्षले बढी फोर्स गर्न नसकेको बिमलाको भोगाइ छ ।
'सानै उमेर भएर पनि होला, द्वन्द्वका कारण हुने गतिविधिहरू देख्दा डर लाग्थ्यो । तर त्यतिबेलाको परिस्थिति त्यस्तै थियो । त्यो परिस्थितिसँग जुधेर नै बाँच्नुपर्ने अवस्था थियो । त्यसरी नै हामी हुर्कियौं, पढ्यौं', उनले भनिन्, 'सामान्य विद्यालयमा आएर हाम्रो कार्यक्रममा जाऊँ, हिँड भन्ने सम्मका कुरा भए । केही कार्यक्रममा सहभागी हुनुबाहेक ठूला गतिविधिमा सहभागी हुनुपरेन । सानै उमेर भएका कारण पनि त्यसो भएको हुनसक्छ ।'
रुकुमको दुर्गम गाउँमा जन्मिए पनि बिमला रोका श्रेष्ठ (३०) लाई पढ्न, लेख्न पाउने सुविधाबाट कुनै बन्देज थिएन । दुईजना आमामध्ये कान्छी आमातिरकी माइली छोरी बिमला पढेर जीवनमा केही गर्न चाहन्थिन् । जसमा उनका परिवारले पनि साथ दिए ।
तिनै बिमला अहिले नेपाल सरकारको उपसचिव पदमा कम उमेरमै नाम निकाल्ने विरलै प्रतिस्पर्धीमध्ये एक बनेकी छिन् । १० वर्षे माओवादी युद्धबाट ग्रस्त रुकुममा जन्मे-हुर्केकी बिमलाले विसं २०६९ सालमा १९ वर्षको उमेरमै खरिदारबाट सरकारी सेवा प्रारम्भ गरेकी हुन् ।
प्सल टुसम्मको मात्र पढाइ पूरा गरेको समयमा सरकारी सेवा प्रवेश गरेकी विमलाको जिल्ला हुलाक कार्यालय, रुकुममा पहिलो पोस्टिङ भएको थियो ।
मुसिकोट खलंगा बहुमुखी क्याम्पसबाट अंग्रेजी विषय लिएर स्नातक गरेकी उनले सरकारी सेवामा प्रवेश गरेको पाँच वर्ष विसं २०७३ सालमा शाखा अधिकृतमा नाम निकालेकी थिइन् ।
सरकारी सेवामा प्रवेश गरेपछि एकपछि अर्को गर्दै सफलता हासिल गर्दै आएकी विमलालाई पछाडि फर्कनुपरेको छैन । अधिकृतमा नाम निकाल्न सफल भएपछि उनको पहिलो पोस्टिङ सिस्ने गाउँपालिका रुकुम-पूर्वमा भएको थियो ।
अधिकृतको रूपमा पहिलो जिम्मेवारी त्यसमाथि संघीयता कार्यान्वयन गर्ने पहिलो अभ्यास भएकाले जिम्मेवारी चुनौतीपूर्ण थियो । तर त्यो जिम्मेवारी पनि उनले सुझबुझपूर्ण ढंगले निर्वाह गरिन् । आफूलाई आएको जिम्मेवारी सक्दो निभाउने कोसिस गरेको उनी बताउँछिन् ।
३ वर्ष सिस्ने गाउँपालिकामा बसेकी बिमलाले जिल्ला समन्वय समिति, रुकुम पूर्व, नेपाल ट्रष्टको कार्यालय, काठमाडौंमा काम गरेकी थिइन् । उपसचिवमा नाम निकालेपछि उनको पहिलो पोष्टिङ उपराष्ट्रपतिको कार्यालयमा भएको थियो । अहिले उनी शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्र, भक्तपुरमा कार्यरत छिन् ।
रुकुम जिल्लाबाट उपसचिव पदमा नाम निकाल्ने पहिलो महिला कर्मचारीसमेत रहेकी उनी निजामती सेवा प्रवेश गरेको छोटो समयमै लोभलाग्दो सफलता हासिल गर्ने सीमित कर्मचारीमध्ये एक हुन् ।
अधिकृत बनेकै वर्ष २०७३ मा रुकुमकै भूमे गाउँपालिका निवासी चन्द्रसिंह श्रेष्ठसँग उनको अन्तरजातीय विवाह भएको थियो । उनीहरू दुवै जनाले एकैपटक शाखा अधिकृत पदमा नाम निकालेका थिए ।
जागिरकै सिलसिलामा सिस्ने गाउँपालिकामै रहेका बेला २०७५ सालमा बिमलाले छोरालाई जन्म दिइन् । श्रीमान्-श्रीमती दुवै सरकारी सेवामा भए पनि उनीहरूको जिम्मेवारी भने फरक-फरक गाउँपालिकामा थियो । त्यसैले सँगै बस्न सकिने अवस्था नहुँदा सुत्केरी अवस्थामा पनि उनले एक्लै बच्चा र कार्यालयको जिम्मेवारी सम्हालिन् ।
'हाम्रो कार्यालय टाढा-टाढा थियो । सरकारी सेवामा सुत्केरी बिदा भए पनि दुर्गम क्षेत्रमा २-३ जना कर्मचारीले चलाउनुपर्ने बाध्यता हुन्छ । त्यसमाथि भर्खर सुत्केरी भए पनि नयाँ आर्थिक वर्षको बजेटको तयारी गर्नुपर्ने भएका कारण कार्यालय आएर काम गर्नुपर्यो', उनले विगतका अनुभव सुनाइन् ।
बिमलाले सरकारी विद्यालयमै पढेर खरिदार हुँदै उपसचिवसम्मको सरकारी यात्रा तय गरेकी हुन् । उनको घरबाटै स्कुल नजिकै थियो । ४-५ मिनेटको दूरीमा पुग्न सकिने विद्यालयमा उनी आफ्ना दाइहरूसँगै पढ्न जान्थिन् ।
मुसिकोट नगरपालिका १३ छिवाङ रुकुम निवासी बिमलाका ८ जना दिदीबहिनी र २ जना दाजुभाइ छन् । त्यसमध्ये दुई जना दिदीले एसएलसीसम्मको अध्ययन गरेका छन् । तर अरूले भने धेरै पढ्न पाएनन् ।
उनको घरमा छोराको खोजीमा धेरै दिदीबहिनी भएका थिए । त्यसमध्ये कान्छीतिरकी माइली छोरी रहेकी बिमला आफैं पनि पढ्न चाहेकाले उनलाई कसैले रोकटोक गरेन । उनको बुवाले पनि बिमलालाई मन लागुञ्जेल पढ्न दिनुपर्छ भनेका थिए । त्यसैले उनले पढाइलाई निरन्तरता दिइरहिन् ।
छोरीमात्रै धेरै भएका कारण बिमलाको ठूलीआमा र दिदीहरूले आफन्त र समाजको अपहेलना भोग्नुपर्यो । सोही पीडा र अपहेलनाबाट छोराको चाहनाले उनकी ठूलीआमाले बिमलाको आमालाई मनाएर आफ्नो श्रीमानसँग दोस्रो विवाह गराइदिएकी थिइन् ।
जेठीतिरबाट धेरै छोरीहरू जन्मिसकेका थिए । त्यसमाथि बिमलाको आमातिरबाट पनि बिमला छोरीकै रूपमा जन्मिँदा उनी नचाहेको सन्तान थिइन् । परिवारमा अस्तित्व नभएको सन्तानको रूपमा रहेकाले बिमलाले आफ्नो अस्तित्व स्थापित गर्न केही फरक हुनुपर्छ भन्ने कुरा सधैं मनमा लिएर हिँडिन् । जसले उनलाई जीवनमा अगाडि बढ्न मार्गनिर्देश गरिरह्यो ।
जीवनमा आफ्नो अस्तित्व निर्माण गर्न आफूले गरेको मेहनत र परिवारको गर्व र विश्वासका कारण थप केही गर्नुपर्छ भन्ने प्रेरणा प्राप्त भएको बिमला बताउँछिन् ।
गाउँकै प्रभात माविबाट एसएलसी पास गरेकी विमलाले प्लस टु पढ्न भने त्रिभुवन जनता मावि मुसिकोट खलंगा आइन् ।
पहिलो प्रयासमै खरिदार र शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी विमलाले उपसचिवमा भने आन्तरिकमा पहिले एकचोटि जाँच दिएकी थिइन् । तर नाम भने दोस्रो प्रयासमा निकाल्न सफल भएकी हुन् ।
जागिरसँगै सन्तानको जिम्मेवारी पनि आफैंले निर्वाह गर्दै आएकी उनले जागिर र सन्तानको हेरचाह गरेर बचेको समयमा पढेर उपसचिवसम्मको यात्रा तय गरेकी हुन् । उनलाई यहाँसम्म पुग्न सजिलो भने पक्कै थिएन ।
'पढ्न गाह्रो छ । त्यसमाथि मेरा लागि त समय निकाल्नै झन् धेरै चुनौती छ । त्यही पनि मैले आफ्नो तर्फबाट सकेको कोसिस गरें', उनी भन्छिन्, 'जागिरबाट बचेको समयमा समय निकालेर कोसिस गरेर पढें । मेरा लागि दिनमा २-३ घण्टाको समय पढाइलाई दिनु पनि ठूलो कुरा थियो ।'
सदरमुकाम मुसिकोटमा प्लस टु सक्नेबित्तिकै बिमलाले स्थानीय विद्यालयमा पढाउन थालेकी थिइन् । साथीहरूले सरकारी जागिरको चर्चा गरेको सुनेर उनले पनि सरकारी जागिरको जाँचको तयारी गरेकी थिइन् ।
परिवारको सहयोगमा पढाइसँगै सरकारी सेवामा प्रवेश गरेकी बिमलाका निम्ति उनका श्रीमान पनि उपसचिवसम्म पुग्न साथ, सहयोग गर्ने अर्का महत्त्वपूर्ण व्यक्ति हुन् । कामकै सिलसिलामा भेट भएर उनीहरूले विवाह गरेका थिए ।
काम गर्ने क्रममा हुने गरेका अप्ठ्यारा कुराहरूको सेयरिङ तथा थप अगाडि बढ्नुपर्छ भन्ने कुरामा बिमलाका निम्ति उनका श्रीमान् चन्द्र ब्याकबोन नै हुन् ।
'कामको प्रकृति, पेशा एउटै हुँदा सहज हुने रहेछ । उहाँ (श्रीमान्)कै प्रेसर हो- उपसचिवसम्मको यात्रा तय गर्न सक्नुमा', उनी भन्छिन्, 'फाराम भरिदिने, जाँच दिन लगाउने । सक्दिनँ भन्नै दिनुहुन्न । उहाँकै कारण मलाई थप पढ्नुपर्छ, नाम निकाल्नुपर्छ भन्ने ऊर्जा मिल्यो ।'
श्रीमानको निरन्तरको हौसला र आफ्नो मेहनतले आफूलाई धेरै ठूलो ऊर्जा मिलेको उनी बताउँछिन् । २०७३ सालमा रुकुम जिल्लाबाट मात्रै १०-११ जनाले अधिकृत पदमा नाम निकालेका थिए । त्यसमध्ये बिमलासहित दुई जनाले मात्र २०७९ सालमा उपसचिव पदमा नाम निकाल्न सफल भएका छन् ।
पढेर कहिल्यै नसकिने बताउने बिमलाले जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छिन् । तर उनको अझै अर्को एउटा विषयमा मास्टर्स र एलएलबी पढ्ने तयारी छ ।
सरकारी सेवामा नाम निकाल्न सकिँदैन भनेर लोकसेवातिर ध्यानै नदिने युवापुस्ताका निम्ति बिमला एउटा उदाहरण हुन् । के विषय पढ्ने हो, त्यसमा ध्यान केन्द्रित गरेर पढ्नु नै प्रमुख विषय रहेको उनको भनाइ छ ।
२०७९ मा प्रशासनतर्फ १७ जनाले उपसचिव पदमा नाम निकालेका थिए । त्यसमा बिमलाले खुला र आन्तरिक दुवैमा नाम निकाल्न सफल भएकी थिइन् । आन्तरिक प्रतिस्पर्धामा आरक्षणको व्यवस्था नभएकाले आफ्नै बलबुतामा नाम निकाल्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् ।
परिवारमा पढ्नुपर्छ भन्ने वातावरण पाएकाले यहाँसम्मको यात्रा तय गरेकी बिमलाको परिवारमा दाइ स्वास्थ्य सेवामा छन् भने बहिनी नेपाल बैंकमा कार्यरत छिन् ।
अझै माथिल्लो पदमा पुग्ने लक्ष्य राखेकी बिमलाको सचिवसम्म पुग्ने चाहना रहेको बताउँछिन् । उनी भन्छिन्, 'सकेसम्म त माथि नै पुगौं भन्ने इच्छा सबैको हुन्छ । मेरो पनि त्यही इच्छा छ । हेरौं, मैले कोसिस जारी नै राख्नेछु । सके त मुख्य सचिव नै हुने हो । तर सचिवसम्म त पुगिन्छ होला भन्ने लागेको छ ।'