काठमाडौं । सुनसरी जिल्लास्थित बराहक्षेत्र नगरपालिका धार्मिक पर्यटनको हिसाबले महत्वपूर्ण स्थान हो । कोशी नदीको किनारमा रहेको यो नगरपालिका नेपालको स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो । धार्मिक तथा प्राकृतिक हिसाबले समेत महत्वपूर्ण यो स्थान कोशी नदी नजिकै रहेको छ । नदी नजिक रहेका कारण जलक्रीडा गर्न समेत मानिसहरू त्यहाँ पुग्ने गरेका छन् ।
वराहक्षेत्रमा लाग्ने अर्ध कुम्भ र कुम्भ मेला पनि प्रख्यात रहेको छ । यसै बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार गत स्थानीय तहको निर्वाचनमा करिब ५ हजार मतान्तरले विजयी भएकी हुन् । उपप्रमुख सुनुवारसँग पालिकाको विकास लगायत समग्र विषयमा केन्द्रित रहेर व्यवस्था डटकमका लागि सुरज पराजुलीले गरेको कुराकानीको सम्पादित अंश :
नगरपालिकाको उपप्रमुखसम्मको यात्रा कसरी तय गर्नुभयो ?
निर्वाचनमा उम्मेदवारी दिनुभन्दा निकै अगाडीबाट म सक्रिय रुपमा जनसेवाको काममा लाग्ने गरेकी थिएँ । विभिन्न संघ/संस्थामार्फत समाजमा सकारात्मक असर पुर्याउने काममा मेरो सहभागिता रहने गर्थ्यो । पार्टीको तर्फबाट पनि सक्रिय रूपमा जनताको काम गरिरहेको हुँदा जनमानसमा परिचित भएकी थिएँ ।
विभिन्न आयामबाट जनतामाझ परिचित भइसकेपछि निर्वाचित हुन गाह्रो भएन । मेरा विगतका कार्यहरूलाई मूल्यांकन गरी पार्टीले विश्वास गरेर टिकट दियो ।
नगरपालिकामा के-कस्ता योजना सञ्चालन भइरहेका छन् ?
नगरपालिका क्षेत्रमा यातायातको सर्वसुलभ सुविधा होस् भनेर बाटो निर्माणको कामलाई प्राथमिकतामा राखेका छौं । नगरपालिकामा खानेपानी उचित व्यवस्था गर्न केही योजनाहरूमा काम गरिरहेका छौं । नगरपालिकाको बिकट स्थान सुर्यकुण्डमा खानेपानीको योजनाहरू तयार भएको छ ।
महिला सशक्तीकरणका लागि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेका छौँ । परनिर्भरता हटाउनका लागि महिला उद्यमी उत्पादनमा विशेष ध्यान दिएका छौं । शिक्षाको विषयमा कुरा गर्नुपर्दा कतिपय नगरपालिकाको समन्वयमा निजी स्रोतबाट विद्यालयमा शिक्षकहरू थप गर्ने काम गरेका छौं । बालबालिकालाई विद्यालयमा आकर्षित गर्नका लागि खाजाको व्यवस्था मिलाएका छौं ।
खेलकुदका विभिन्न कार्यक्रममा पनि नगरले सहयोग गर्ने गरेको छ । कृषि कार्यलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू ल्याउने योजना रहेको छ । सुर्यकुण्डमा उत्पादन भएको बेसारलाई गुणस्तरीय रूपमा प्याकेजिङ गरेर बजारीकरण गर्ने काममा अगाडी बढेका छौं ।
स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले आफ्नो सामर्थ्यले भ्याएसम्मको काम गरिरहेको छ । नगरपालिकामा करिब ५ वटा साना ठुला स्वास्थ्य संस्था छन् । नगरको एक अस्पतालमा १५ शैय्या, चतराको अस्पतालमा पनि शैय्या थप्ने काम भर्खरै गरेका छौं । चिकित्सकहरूको राम्रो प्रबन्ध मिलाएका छौं । समग्रमा काम भइरहेको छ ।
महिला भएकै कारणले काम गर्न कुनै असुविधा महसुस गर्नुभएको छ ?
हामी फरक पार्टीका जनप्रतिनिधि छौं । त्यसैले पूर्ण रूपमा सहज हुने कुरा भएन तर, अहिलेसम्म मिलेर काम गरिरहेका छौं । प्रायः बैठकमा सहभागिताको लागि बोलाइन्छ । निर्णय लिने बेलामा बसेर छलफल गर्ने गरेका छौं । अहिलेसम्म काम गर्न गाह्रो भएको छैन । महिला भएकै कारण फरक व्यवहार गरेको महसुस गरेको छैन ।
धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि केही योजना बनाउनु भएको छ ?
आगामी चैतमा आयोजना हुन लागेको कुम्भ मेलाको लागि केही बजेट छुट्याएका छौं । त्यसलाई उचित व्यवस्था कसरी गर्ने र तिर्थालुलाई कसरी उचित सुविधा दिने भन्ने विषयमा काम गरिरहेका छौं । यसको लागि समितिहरू बनिरहेका छन् । मेला कसरी सफल बनाउने भन्ने कुरामा नगर स्तरीय छलफल भइरहेको छ । बराह क्षेत्रको प्रवर्धन गर्ने विषय पनि विचाराधीन छ ।
आगामी दिनमा नगरमा के-के गर्ने योजना बनाउनु भएको छ ?
महिला सशक्तीकरणको विषयलाई विशेष प्राथमिकतामा राखेको छु । उनीहरूलाई उद्यमी बनाएर सक्षम बनाउने मेरो लक्ष्य छ । त्यसैगरी बाटोघाटोको उचित व्यवस्था होस् भन्ने चाहना छ ।
शिक्षित समाज निर्माणका लागि शिक्षा क्षेत्रलाई स्तरोन्नति गर्ने उद्देश्य छ । विद्यालयमा निगरानी गर्ने, विद्यार्थी आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याउने सोच लिएकी छु । स्वास्थ्य, खेलकुद, कृषि लगायतका विषयमा पनि काम गर्ने इच्छा छ तर सोचे अनुरूप बजेट नआएका कारण समस्या देखिएको छ ।
अन्त्यमा तपाईंलाई नगरको बारेमा केही भन्नु छ ?
मेरो भन्नु खासै केही छैन, सकेसम्म यो पाँच वर्षमा मेरो कामहरूबाट नै जनताले महसुस गरुन् भन्ने छ । यस क्षेत्रलाई धार्मिक, पर्यटकीय हिसाबले एक नमुना नगर बनाउन सफल भइयोस् । योजना अनुरूप काम गर्न पाइयोस् र जनताले जनप्रतिनिधिको कामलाई महसुस गरुन् भन्ने छ । यसमा काम गरिरहेकी छु ।