काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । साउन १, २०८० देखि नै कार्यान्वयनमा जाने बजेट ल्याउन केही ढिला भए पनि प्राधिकरण सञ्चालक समितिले मंगलबार आर्थिक वर्ष २०८०/८१ बजेट पास गरेको हो ।
गत आर्थिक वर्ष २०७९/८० को तुलनामा प्राधिकरणले यो वर्ष ५ अर्ब १९ करोड रुपैयाँ कम बजेट ल्याएको छ ।
अन्तर्राष्ट्रिय स्तरका दुई वटा विमानस्थल गौतमबुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेकाले यो वर्ष केही बजेट घटाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
हालसम्म नेपालको हवाई क्षेत्रमा काम गर्ने एउटै निकायको रूपमा रहेको नागरिक उड्डयन प्राधिकरणले नै हवाई सञ्चालन, नियमन र विमानस्थल पूर्वाधारको विकास निर्माण आफैले गर्दै आएको छ ।
चालु आर्थिक वर्षका कूल ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलबाट १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गर्ने जनाएको छ । थप नेपाल सरकारबाट सेयर बापत प्राप्त गर्ने र ऋण बापतको समेत गरी ६ अर्ब ६४ करोड विनियोजन भइसकेको छ ।
हाल प्राधिकरणको विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी ६ अर्ब ७ करोड बैंक मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।
यता सरकारबाट मूल्य अभिवृद्धि करबापत् फिर्ता पाउनुपर्ने २ अर्ब ३४ करोड रुपैयाँ र २०८० साउन १ को पेस्कीबापतको मौज्दात रकम ४ अर्ब ८५ करोड गरी ३६ अर्ब ६६ करोड रुपैयाँ स्रोत भर्ना हुने प्राधिकरणको भनाइ छ ।
यस्तै, यो वर्ष प्राधिकरणले विमानस्थल पूर्वाधार तथा विकास निर्माणमा १९ अब खर्च गर्ने जनाएको छ । दैनिक कार्य सञ्चालन तथा कर्मचारी अवकाश र चालु खर्च शीर्षकमा प्राधिकरणले ४ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नेपाल सरकारलाई लाभांशबापत २९ करोड बुझाउने, कर्मचारीलाई बोनसबापत ५ करोड ८९ लाख वितरण गर्ने, आयकर व्यवस्थामा २ अर्ब १३ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोषमा १ अर्ब ६३ करोड र वायु यान सञ्चालन कोषको ननअपरेटिभ खातामा ८२ करोड गरी ३६ अर्ब ६५ करोड उपयोग ९व्यय० तर्फ विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।