नारायण नगरपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित एक नगरपालिका हो । दैलेख जिल्लाको सदरमुकाम समेत रहेको यस नगरमा वेलासपुर कोटिला, कोतगढी मन्दिर, पञ्चदेवल कृतिदेवल, वागमानी, राइली त्रिपानी जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरू समेत रहेका छन् । यस नगरपालिकामा नगर प्रमुखको कार्यभार लोमन शर्माले सम्हालिरहेका छन् ।
उनै शर्मासँग समग्र नगरको विकासका विषयमा केन्द्रित रहेर व्यवस्था डटकमका लागि रोशन भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :
तपाई यस नगरपालिकाको नगर प्रमुखको भूमिकामा हुनुहुन्छ, आफ्नो कार्यकालमा के कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
स्थानीय तहमा जनतासँग जे गर्छु भनेर भोट मागेको थिएँ, त्यही घोषणापत्रका आधारमा काम गरिरहेको छु । पहिलो वर्ष हामीले समग्र नारायण नगरपालिका विकासको योजना बनाएर त्यसमा काम गरिरहेका छौं । हामीले विशेषतः खानेपानी, शिक्षा र स्वास्थ्यमा जोड दिएका छौं ।
जनप्रतिनिधिले जनताको बिचमा रहेर काम गर्ने हो । हामीले घोषणा गरेका काम लगभग डेढ वर्षमै सकिन लागेको छ । अब चार वर्षमा हामीले घोषणा गरेका कुरा सबै सम्पन्न हुन्छ ।
खानेपानीको समस्या कसरी सम्बोधन गर्नुहुन्छ ?
नारायण नगरपालिकाको विभिन्न क्षेत्रमा खानेपानी विस्तार भइरहेको छ । पहिला पानीको महसुल अत्यन्त महँगो थियो । अहिले हामीले पाचँ हजार लिटर पानी निःशुल्क वितरण गर्ने काम गरेका छौं ।
सहारे खानेपानी आयोजनामा हामीले ७ वटा पानी टयाङकीको निर्माण कार्य अगाडी बढाएका छौं । वरिपरि खोलाले घेरिएको र प्रशस्त मुहानहरू भए तापनि बजार क्षेत्रमा खानेपानीको समस्या रहेको थियो । सहारे खानेपानी आयोजना सञ्चालनमा आएपछि छिट्टै नै खानेपानीको समस्या समाधान हुनेछ । सातवटा टयाङकीले खानेपानीको समस्या हल हुने विश्वास लिएको छु ।
स्वास्थ्य क्षेत्रमा के कस्ता काम भइरहेका छन् ?
यस पालीकाले एउटा एम्बुलेन्स, एउटा शव वाहन खरिद गरेर जनतालाई सेवा प्रदान गरिरहेको छ । सुत्केरी आमाहरूलाई निःशुल्क रूपमा स्वास्थ्य सेवा दिइरहेका छौं । ५० शैय्याको जिल्ला अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीनवटा उप-स्वास्थ्य चौकी, एक शहरी स्वास्थ्य केन्द्रले स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आइरहेका छन् । पालिकाले डाक्टरलाई घरघरमा पठाएर ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
शिक्षाको अवस्थाबारे बताउन सक्नुहुन्छ ?
विपन्न वर्गलाई पूर्ण निःशुल्क छात्रवृत्ति दिएर शिक्षामा एउटा नयाँ अभ्यासको थालनी गरेका छौँ । शिक्षकको व्यवस्थापनमा पनि पालिका अघि बढिरहेको छ । कुनै शिक्षक बिदामा बस्दा वैकल्पिक शिक्षकको व्यवस्था रहेको छ । त्यसले पठनपाठनमा क्षति नगर्ने पालिकाको विश्वास रहेको छ ।
विभिन्न भौतिक संरचनाको काम अघि बढिरहेको छ । शिक्षामा यस नगरले स्नातक सम्मको अध्ययन हुने नारायण क्याम्पस, नौ वटा माध्यामिक विद्यालय, ३२ वटा आधारभूत विद्यालय र ३७ वटा प्रारम्भिक बाल विकास केन्द्रहरूको स्तरोन्नति गरिरहेको छ । त्यसका साथसाथै चारवटा प्राविधिक शिक्षालय सञ्चालनमा रहेका छन् । हाल साक्षरता ७८ प्रतिशत रहेकामा महिला ७१.१, पुरुष ८६ पुगेको छ ।
सामाजिक सुरक्षामा पालिकाले के कस्तो पहल गरिरहेको छ ?
पचास वर्ष कटेका अविवाहित महिलालाई भत्ता दिने काम हाम्रो पालिकाले सुरु गरेको छ । यो नारायण नगरपालिकाको नयाँ काम पनि हो । एकल पुरुषलाई पनि भत्ता दिने निर्णय पालिकाले गरेको छ । आफ्नो सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागी पालिकाले घरमै लगेर भत्ता दिने कामको सुरुवात गरेको छ । ज्येष्ठ नागरिकको सम्मान गर्ने, उनीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने काम यस पालिकाले गर्दै आएको छ ।
कृषि क्षेत्रमा भएका काम र योजनाका बारे केही भन्नु छ ?
कृषि क्षेत्रमा नगरपालिकाले विभिन्न काम गर्दै आइरहेको छ । योजना अनुसार काम गर्न हामी प्रतिबद्ध रहेका छौँ ।
बाख्रा, भैँसी, गाई, बङ्गुर, माछापालन जस्ता कुरामा नगरपालिकाले सहुलियत प्रदान गर्दै आएको छ । तरकारी खेतीमा पहिलाको भन्दा धेरै लगानी गरिएको छ । अहिले नवप्रवर्धन कार्यक्रममार्फत धेरै ठाउँमा बेमौसमी तरकारी खेती हुन थालेको छ । टयाङकी र टनेल निर्माण कार्य पनि सुरु भएको छ । यसले किसानहरूलाई प्रोत्साहित गर्न सक्छ । अहिले नारायण नगरपालिकाको वडा नं. ०२ म तरकारी खेती राम्रो फस्टाएको छ । यसले अरू किसानलाई पनि प्रेरित गरेको छ । अनुदानका कार्यक्रम पनि सुरु भएको छ । किसानलाई प्रोत्साहन गर्ने यस्ता अनुदानका कार्यक्रम अझै आउने छन् । यो वर्ष हामी फलफूल खेतीमा ठुलो लगानी गर्ने योजनामा छौँ । कुन क्षेत्रमा के फल्छ विचार गरेर करिब २५ हजार बिरुवा रोप्ने काम भएको छ ।
किसानले उत्पादन मात्र गर्ने कि बजार भाउ पनि पाउने ?
भारतबाट आएका कृषि उत्पादनको मूल्यभन्दा यहाँका किसानहरूले उत्पादन गरेका सामाग्रीको मूल्य थोरै बढी हुन्छ । किसानहरूलाई प्रतिस्पर्धा गर्न सजिलो होस् भनेर हामीले अनुदान दिएको हो । बजारमा दिनुपर्ने सुविधा दिन पालिका तत्पर छ ।
ऐतिहासिक सम्पदाहरूको अवस्था कस्तो रहेको छ ?
नारायण नगरपालिका वार्ड नं. ६ मा अवस्थित वेलासपुर मन्दिर वेलासपुर देवताको नामले चिनिन्छ । बाइसे चौबिसे शासनकालमा वेलासपुर राज्य शक्तिशाली मानिन्थ्यो । यसै राज्यको अवशेषको रूपमा रहेको प्राचीन वेलासपुर दरबार भित्र रहेको वेलासपुर मन्दिर क्षेत्र एक धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदाको रूपमा रहेको छ । वि.स. १८४१ मा अमरसिंह थापाको फौजले भिषण आक्रमण गरेपछि विशाल नेपालमा समाहित भएको उक्त स्थानमा दरबारको भग्नावशेष रहेको छ । मन्दिरमा वटुक भैरव देवता रहको र मनकामना पुरा हुने विश्वास छ । त्यसैले यो मन्दिरमा वडा दसैंको अष्टमी, नवमी, रामनवमीमा विशेष भिड लाग्छ । महिनाको मंगलवार र शनिवारका दिन पनि पूजा हुने गर्दछ । वेलासपुर मन्दिरको डाँडाबाट दैलेख जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । मन्दिरमा जानको लागि सिँढीको व्यवस्था मात्र भएको छ । मन्दिरको पुनः निर्माण गर्न आवश्यक छ ।
यस क्षेत्रमा भ्यू टावर निर्माणका लागि पनि पहल भइरहेको छ । नारायण नगरपालिकाले धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदाहरूको संरक्षण गर्दै आएको छ । सम्पदाको सरसफाई पनि निरन्तर हुन्छ ।
विकास निर्माणमा बजेटको सुविधा कस्तो छ ?
राज्यले दिनुपर्ने सबै बजेट दिइरहेको छैन । कार्यक्रम बनाएका काममा पनि कहिलेकाहीँ बजेट रोकिँदा समयमा काम पुरा गर्न सकिँदैन । बजेटको अभावले राजस्व संकलनमा पनि प्रत्यक्ष असर पर्छ । बजेट नआउँदा जनता मारमा पर्ने निश्चित छ । संघीयता त आयो तर वित्तीय संघीयता भने आएको छैन ।