काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत प्रचार सामग्री टाँस्ने र वितरण गर्ने तीन जनालाई कलंकीबाट नियन्त्रणमा लिएर जरिवाना तिराएको छ ।
विभिन्न पदमा रोजगारको अवसर उल्लेख भएको पर्चाको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर महानगरले जरिवाना तिराएको हो ।
उनीहरुलाई नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईं र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले पक्राउ गरेको जनाइएको छ ।
महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ ।
पर्चा वितरण गर्दै हिड्ने गणेश आचार्य एस.वी.जब. सर्भिस लिङ्कसँग आवद्ध छन् । यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ ।
तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ । कर्मचारी मागको संख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ ।
अन्तरवार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ । काम कसले दिने हो, कम्पनी कस्तो हो, त्यसको विवरण खुलाइएको छैन ।
गएको बुधबार काठमाडौं महानगरपालिकाको उपप्रमुखको सचिवालयमा रोजगारका नाममा युवायुवती ठगिँदै छन् भन्ने गुनासो आएको थियो ।