बैतडी । बैतडीको सिगासका बालबालिका पुल नहुँदा जोखिमपूर्ण रूपमा खोला तरेर विद्यालय जान बाध्य छन् । सिगास गाउँपालिका ६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जान्छन् ।
वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदका अनुसार उक्त खोलामा रहेको आरसिसी पुल दुई वर्षअघि बगाएको थियो । खोलामा पुल नहुँदा वडा नं ६ र ७ का बालबालिका जोखिमपूणर्रूपमा खोला तर्न बाध्य भएका हुन् ।
अस्थायी रूपमा बनाइएको काठे पुल पनि एक महिनाअघि खोलाले बगायो । विद्यालयका शिक्षिका लक्ष्मी चन्द भन्छिन्, विद्यालय जाने बालबालिकाले सास्तीपूणर् यात्रा गर्नुपरेको छ । उनले भनिन्, ‘लामो समयदेखि खोलामा पुल नहुँदा बालबालिका दिनहुँ खोला तरेर विद्यालय आउजाउ गर्छन् । पानी परेर खोलामा पानीको बहाव बढेपछि विद्यार्थीलाई आउन जान थप सास्ती हुने गरेको छ ।’
उक्त विद्यालयमा बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिकाका बालबालिका पनि अध्ययनका लागि आउने गरेका वडाध्यक्ष साउदले बताए । उनले भने, ’बैतडी, बझाङ र डोटीको सिमानामा यो विद्यालय छ । पुल बगाएपछि त्यहाँबाट आउने विद्यार्थीसमेत जोखिम मोलेर आउने गरेका छन् ।’
स्थानीय भन्छन्, ’पुल नहुँदा समस्या भएकोबारे सम्बन्धित निकायलाई जानकारी गराएका छौ तर कुनै सुनुवाइ भएको छैन ।’ को आरोप छ । वडाध्यक्ष साउदले न्वाघरीगाड खोलामा आरसिसी पुल निर्माणका लागि बजेट आएको भए पनि राजनीतिक अस्थिरताका कारण बन्न नसकेको बताए । उनले भने, ’दुई स्थानमा पुल बनाउने भनेर रु २० लाख बजेट आएको हो । सर्भे गरियो, निर्माण गर्ने भनेर समिति पनि बन्यो । हालसम्म काम अगाडि बढ्न सकेको छैन ।’
गाउँपालिका अध्यक्ष हरिसिंह धामीले न्वाघरीगाड खोलामा पुल निर्माणका लागि पहल थालिएको बताए । उनले भने, ‘पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरेका छौँ । आशा छ छिट्टै पुल निर्माण हुनेछ ।’