काठमाडौं । नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले यस्तो बताएका हुन् ।
गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा सरकार संवेदनशील रहेको उनको भनाइ छ ।
भन्सार प्रशासनलाई चुस्त बनाएर राजस्व संकलनको लक्ष्य वृद्धि एवम् पुँजीगत खर्च समयमै गर्ने गरी नीतिगत व्यवस्थाको तयारी भइरहेको समेत उनको जानकारी दिए ।
मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन चेम्बरले मुख्यसचिव अर्याललाई सुझाव दिएको छ ।
नवनियुक्त मुख्यसचिवलाई बधाई एवम् शुभकामना दिने क्रममा चेम्बरले समयबद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवम् प्रभावकारी बनाउन सुझाव दिएको हो ।
अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरले जनाएको छ ।
समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुने र कर तिर्न जाँदा समेत घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्त्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यकता रहेको चेम्बरको भनाइ छ ।
यस्तै, संसदमा विचाराधीन अधिकांश आर्थिक विधेयकहरूलाई अगाडि बढाउन सहजीकरण गरिदिन पनि चेम्बरले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराएको छ।