घरबहाल कर स्थानीय निकायलाई नै प्रयोग गर्न काठमाडौँ महानगरको संघलाई आग्रह

घरबहाल कर स्थानीय निकायलाई नै प्रयोग गर्न काठमाडौँ महानगरको संघलाई आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले घरबहाल कर स्थानीय निकायलाई नै प्रयोग गर्न दिन सं‌घ सरकारसमक्ष आग्रह गरेका छन् ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै स्थानीय तहअन्तर्गत रहेको घर बहाल कर उठाउने कार्यका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

पत्रमा सरकारअन्तर्गतका आन्तरिक राजश्व कार्यालयलगायतले संकलन गरेको घर बहाल रकम उपलब्ध गराइदिन पनि अनुराेध गरिएकाे छ ।

'महानगरले प्राप्त गर्नुपर्ने करिब १ अर्व ४३ करोड ४० लाख रुपैयाँ आय पाउन सकेको छैन भने अर्कोतिर करदाता दोहोरो मारमा परेका छन्', पत्रमा लेखिएकाे छ ।

साथै पत्रमा अबदेखि स्थानीय निकायले नै घर बहाल कर उठाउन पाउनुपर्ने माग पनि गरिएकाे छ ।

'बहाल कर संकलनमा संघ सरकारले देखाएको लोभका कारण स्थानीय तह र करदातामा परेको समस्या समाधानका लागि संविधानले दिएको अधिकार स्थानीय सरकारलाई निर्वाध प्रयोग गर्ने वातावरण तयार गरिदिनुहुन संघीय सरकारलाई आग्रह गर्दछाैँ', पत्रमा उल्ले‍ख छ ।