काठमाडौं- गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र र प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटालाई मुद्दा लागेको छ ।
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रम बिनाअनुमति जथाभावीरूपमा डाँडा र रूख काटेपछि प्रमुख रिसाल र अधिकृत सापकाेटामाथि मुद्दा लागेकाे हाे ।
उनीहरूविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार मुद्दा दायर गरिएको हो ।
मुद्दामा विस्तृत अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरिएको थियो । तर दुवैजना धरौटीमा रिहा भएका छन् ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख गणेश पन्तले दुवै जना जनही ५० हजार रुपियाँ धरौटीमा रिहा भएकाे जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा ६ मा अनुमति नलिइ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा काम गरे कायम भएको बिगोको दोब्बर जरिवाना र एक वर्षसम्म कैद र बिगो कायम नभएको कसुरमा कसुरको मात्रा हेरी २० हजार रुपियाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग अनुमति नै नलिइ गोकर्णेश्वर नगरपालिकाले खेलकुद मैदान बनाउन शिवपुरीको डाँडामा डोजर र स्काभेटर चलाएको थियो । सोही कार्य गरेकाे भन्दै दुवैजना विरुद्ध मुद्दा दायर भएकाे थियाे ।
स्रोतका अनुसार प्रमुख रिसाल, प्रमुख प्रशासकीय अधिकृत सापकोटा र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका तत्कालीन प्रमुख लक्ष्मणप्रसाद पौड्यालको मिलेमतोमा मुद्दा केही कमजोर पारिएको पाइएकाे छ ।
निकुञ्जका तत्कालीन प्रमुख पौड्यालको केही दिनअघि मात्रै सरुवा भएको थियो । हाल पौड्यालको ठाउँमा पन्त छन् ।
नागार्जुन राष्ट्रिय निकुञ्जले गत २०७९ फागुन १८ गते अवैध रूपमा डोजर चलाएको र रूख काटेको प्रतिवेदन पेस गरेको थियो ।
कार्यालय प्रमुख पौड्यालको चलखेलका कारण अभियोगपत्र ढिला गरी दर्ता भएको स्रोतको दाबी छ ।
निकुञ्जले रुख काटेको विषयमा भने स्थानीय सानु तामाङलाई अघि सारेको छ ।
यस प्रकरणमा तरुण दलका क्षेत्रीय नेता एवं स्थानीय खेलकुद समितिका सभापति सञ्जय लामालाई भने जोगाइएको छ । उनले स्काभेटर लिएर गएका थिए ।