काठमाडौं । शहरी विकाश मन्त्रालयको भवनमा पुग्दा सचिव रवीन्द्रनाथ श्रेष्ठ काम गरिरहेको अवस्थामा भेटिए । आफ्नो काम गर्न पाउँदा रमाउने या भनौँ सन्तुष्ट हुने श्रेष्ठ काभ्रेको पाँचखालमा जन्मिएका हुन् ।
पाँचखालबाटै एसएलसी पास गरेका उनले पुलचोक इन्जिनियरिङ क्यासबाट स्नातक गरेका हुन् । निजामती क्षेत्रमा प्रवेशको कुरा गर्नुपर्दा २०४७ सालमा खानेपानी इन्जिनियर भएर उनी यो यात्रामा हिँडेका हुन् । सडक विभाग र सो अन्तर्गतका निकायमा काम गरेका उनी सिभिल इन्जिनियर अन्तर्गतका सबै निकायमा काम गरिसकेका एक कर्मचारी हुन् ।
निजामती यात्राका दौरान ०६२ सालमा उपसचिव भएका उनी ०६६ सालमा सहसचिव भएका हुन् । व्यापारिक पारिवारिक पृष्ठभूमि भएका उनी समयले आफूलाई जागिरे बनाएको बताउँछन् । यसमा उनको राम्रो पढाई र क्षमताले पनि मलजल गर्ने काम गरेको थियो । परिवार र समाजले सरकारी जागिर नै खानुपर्छ भन्दै दिशानिर्देश गर्नुले पनि यो बाटोमा हिँड्न प्रेरित गर्यो ।
उनले सडक विभागको क्षेत्रीय निर्देशक भएर सुदूरपश्चिम, पूर्वाञ्चल विकाश क्षेत्रमा समेत काम गरेका छन् । सडक विभागको उपनिर्देशक तथा महानिर्देशक भएर समेत काम गरेका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि सहसचिव भएर जिम्मेवारी निभाएका छन् ।
सचिवमा बढुवा भइसकेपछि सिचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र र शहरी विकाश मन्त्रालयकाम गरेका श्रेष्ठको अवकाश आगामी असोज ११ गते हुँदैछ ।
आफूले गरेका कामहरू सम्झँदा खुसी लाग्छ
सचिव श्रेष्ठ आफूले गरेको काम र रोजेको पेसा औचित्यपूर्ण भएको बताउँछन् । सरकारी जागिरे भएकाले नै देश दर्शन र समाजका भएका सडक तथा खानेपानी जस्ता समस्याहरूको समाधान गर्न पाएकोप्रति गर्व गर्छन् । सुर्खेत अछाम ,रोल्पा, धादिङ, लगायतका क्षेत्रमा खानेपानी पुर्याउन तथा धाराहरू वितरण गर्न खटेर काम गरेको उनी सम्झिन्छन् । डोलीडारमा गएर थुप्रै झोलुङ्गे पुल र सडक बनाएको स्मरण गर्दै आफूले काम गरेको क्षेत्रका मानिसहरूले याद गरिरहने उनी बताउँछन् । उक्त क्षेत्रका जनताले धन्यवाद प्रकट गरिरहन्छन् ।
रेलवेको सुरुवाती कामका बेला उनले भौतिक मन्त्रालयको सचिव रहेको बताउँदै उक्त कामको जस पनि आफूलाई जाने उल्लेख गरे ।
यातायात व्यवस्थामा ७० नम्बर कायम गर्न पनि उनले नै पहल गरेका हुन् । हाल ७० नम्बर ल्याउनेले सवारी लाइसेन्स लिन पाउने व्यवस्था छ । यसको सूत्रधार सचिव श्रेष्ठ हुन् । राष्ट्रिय सतकर्ता केन्द्रको सचिव हुँदा बेथितिहरूलाई सुधार गर्न अहम् भूमिका खेलेको उनको भनाइ छ । साथै, केन्द्रमा रहँदा भ्रष्ट्राचार रोक्नका लागि विभिन्न अपरेसनहरू समेत गरेको उनी सुनाउँछन् । गुणस्तरहीन काम गर्ने, भ्रष्टाचार गर्ने/ गराउनेलाई उचित कानूनको पालना गराउने काममा आफू लागेको उनले बताए । शहरी विकाश मन्त्रालयमा आएपछि संघिय संसद् भवन बनाउन र समयमै काम सम्पन्न गर्न पहल गरेको हुँदा त्यहीअनुसार काम भइरहेको उनले उल्लेख गरे । अबको बर्खे अधिवेशनबाट संसद् सोही भवनबाट चल्ने गरी तयारी गरिएको छ ।
धरहरा सम्पन्न हुन लागेको बताउँदै सबै काम आफ्नो कार्यावधिमा सक्ने लक्ष्य उनले लिएका छन् । असोज ६ देखि ८ गते सम्ममा धरहरा उद्घाटन गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे । कामलै सम्मान गर्ने सचिव कतिपय स्थानमा हिँडेर समेत काम गर्न खटिएका छन् । योजनाका काममा ज्यादै दुःख पाएको समेत उनको अनुभव छ ।
नेपालमा काम गर्ने प्राविधिक हातहरू कम छन्
नेपालमा प्रविधिको विकासले फड्को मार्न नसकेको कुरा पटक–पटक हामीले सुन्दै आएको हो । सरकारले पनि प्राविधिक जनशक्ति प्रयोगलाई प्रोत्साहन गर्न सकेको देखिँदैन । यसै बारेमा पनि निकै आवाजहरू उठ्ने गरेका थिए/छन् । सचिव श्रेष्ठ पनि नेपालमा उद्योगको विकास हुन नसकेको कारण मेकानिकल इन्जिनियर क्षेत्रका मान्छे नभएको र भएका उद्योगले पनि गति लिन नसकेको बताउँछन् । प्राविधिक मान्छे र वैज्ञानिकहरू ज्यादै कम भएको बताउँदै प्रविधिलाई सरकारले प्राथमिकता नदिएको समेत उनी गुनासो गर्छन् ।
देश विकास नहुनुको मूल कारण यही नै रहेको उनको ठहर छ । उनी भन्छन्, 'सीप सम्बन्धी तालिम दिने जनशक्ति छैन । हाम्रा धेरै परियोजनामा बाहिरी जनशक्तिले काम गर्छन् । सरकारले पर्याप्त तालिम दिएको छैन र प्राविधिक जनशक्तिलाई कम महत्त्व दिने गरेको पाइएको छ । यसले गर्दा पनि समस्या भएको छ । सीप भएकाले अवसर पाएका छैनन् ।' निजी क्षेत्रलाई पनि सरकारले उत्साहजनक बनाउन नसकेको उनको बुझाइ छ ।
सरकारले के गर्नुपर्छ ?
पछिल्लो समय एसइई तथा प्लस टु पास गरेपछि विदेश जाने युवाको संख्या बढ्दै गएको छ । नेपालमा कम मात्र कमाइ हुने र पढ्दै कमाउन नसकिने वातावरण भएकाले युवा शक्ति सरकारी क्षेत्रमा आकर्षण हुन नसकेको उनले बताए । उनी भन्छन्, 'नेपालमा आइटी सम्बन्धी जान्ने मान्छे नभएर पनि धेरै समस्याहरू आएका छन् । सवारी चालक अनुमतिपत्र, राहदानी लिन लाइन बस्नुपर्ने अवस्था छ ।'
सरकारले प्राविधिक सीप भएका राम्रा मान्छेहरूलाई प्राथमिकता दिनुपर्ने उनको माग छ । उनी भन्छन्, 'नेपालमा अर्को पनि समस्या छ । आफ्नो विषयभन्दा बाहिर गएर बोल्ने र ज्ञान नभएको क्षेत्रमा काम गर्ने बानी छ । बाहिरी देशमा यस्तो हुँदैन । सरकारले प्राविधिक सीप भएका मान्छेहरूलाई प्राथमिकता दिनुपर्छ ।'
जीविकोपार्जनको मुख्य आधार कृषि भएपनि नेपालमा कृषिमा काम गर्ने प्राविधिक र प्रविधि नै नभएको बताउँदै अहिले पनि किसानहरू हातले विषादी छर्कन बाध्य रहेको उनले उल्लेख गरे । केही गर्न चाहने जनशक्ति तथा हातलाई राष्ट्रले रोक्नुपर्ने तर्क उनी राख्छन् ।
देश विकासका लागि सम्बन्धित विषयमा जानकार मान्छेको सल्लाह लिनुपर्ने उनको सुझाव छ । सचिव श्रेष्ठ गफ गर्ने मान्छेहरूको सल्लाह लिए गफ मात्र हुने बताउँछन् । उनी भन्छन्, 'कुन क्षेत्रमा कसले काम गर्न सक्छ भन्ने निर्क्योल गरी जिम्मा दिनपर्छ । राजनीतिज्ञले काम गर्ने लक्ष्य लिने हो, काम सम्बन्धित विज्ञलाई नै दिनुपर्छ ।'
सहयोगभन्दा सल्लाह दिने मान्छे बढे
सचिव श्रेष्ठका अनुसार प्राविधिक क्षेत्रमा काम गर्न ज्यादै चुनौती रहेको छ । यस क्षेत्रमा चाहिने नचाहिने कुराको सामना गर्नुपर्ने हुन्छ । कुनै काम गर्न खोज्दा निर्णय प्रक्रियामा हतोत्साहित हुनुपर्ने अवस्था रहेको छ । उनी भन्छन्, 'हरेक मान्छेको आफ्नो-आफ्नो काम गर्ने तरिका हुन्छ । नेपालमा सल्लाह दिने तर सहयोग नगर्ने मान्छे बढे । नयाँ पुस्ताले यो चुनौती झेल्नुपर्छ ।'
उनी सरकारी कर्मचारी विनम्र हुनुपर्ने र जनताको काम गर्छु भन्ने सकारात्मक सोच भएको हुनुपर्ने बताउँछन् ।
सञ्चार माध्यमले फ्याक्ट चेक गर्नुपर्छ
पछिल्लो समय सञ्चार माध्यमले गलत तरिकाले जानकारी दिँदा कर्मचारीमा एक किसिमको नैराश्यता छाएको उनको भनाई छ । कतिपय सञ्चार माध्यमले वास्तविकतामा नगईकन आफू अनुकूल लेखिदिने गर्नाले कर्मचारीमा एउटा किसिमको तनाव उत्पन्न भएको उनले बताए ।
उनी भन्छन्, 'मिडियाले लेख्ने कुरा लेख्नुपर्छ तर त्यो तथ्यपरक हुनुपर्छ । कतिपयले आफ्नो स्वार्थ अनुसार लेख्नाले कर्मचारी हतोत्साहित भएका छन् ।' अब आउने नयाँ सरकारी कर्मचारीले यो चुनौती पनि सहन सक्नुपर्ने हुन्छ ।
नयाँ पीढीलाई सकारात्मक भएर काम गर्न र सबैको कुरा सुनेर आफूले उचित निर्णय गर्न उनी सुझाव दिन्छन् । श्रेष्ठले जागिरे जीवनमा धेरै चुनौती र गाह्रो अवस्था झेलेका छन् । यसबाट आफूले धेरै कुरा सिकेको उनको भनाइ छ । आफूले पाएका दुःख तथा विभिन्न स्वार्थी समूहले दिएको पिडाबारे कर्मचारी बोल्नुपर्ने उनी बताउँछन् ।
वर्तमानको निर्णय भविष्यमा ठिक नहुन सक्छ
विगतमा गरिएको निर्णयले भविष्यमा असर गर्ने हुनाले यसमा सचेत रहन उनी सुझाव दिन्छन् । उनका अनुसार कर्मचारीले काम गर्दा 'चेन अफ कमान्ड'मा गर्नुपर्ने हुन्छ । वर्तमान अवस्थामा गरेको कुराले कालान्तरमा असर पुर्याउने उनको बुझाइ छ ।
'सडक विभागमा काम गर्दा घरहरू भत्काउने काम गरिन्छ । कुनै बेला त्यही घर भत्काउनु गलत थियो भन्दा कर्मचारी दोषी देखिन्छ । हामीले धरहरा बनाइरहेका छौं । कसैले यो बनाउनु गलत थियो पनि भन्न सक्छ । यसलाई कर्मचारीको खराब नियत भन्न मिल्दैन ।' उनी भन्छन्, 'अहिले कपन खोला खनिरहेको अवस्था छ । हिजोसम्म त्यहाँ बाटो बनाउन उपयुक्त हुन्छ भनेर बनाइएको थियो । आज उनीहरूमा दोष देखाउन मिल्दैन । २० वर्षपछि के ठिक होला भन्ने सबै जानकारी हुँदैन ।'
करिब डेढ महिना मात्र अवकाश हुन बाँकी रहेका श्रेष्ठ अवकाश पछि आफू व्यवसाय गर्ने बताउँछन् ।