काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
बालुवाटारस्थित निवासमा साढे १ बजे हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । हृदयघातपछि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको अस्पतालका चिकित्सकले बताएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे शिक्षण अस्पताल पुगिसकेका छन् ।
वि.सं. २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मिएका सुवास नेम्वाङ २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भएका थिए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आएका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचन र ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम- २ विजयी बनेर उनी संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएका थिए ।
०७४ को संसदीय निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट विजयी भएका उनी गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका थिए । तर उनी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग पराजित भए ।
कानूनमा स्नातक गरेका नेम्वाङ केही समय कानून व्यवसाय समेत गरेका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बने । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित थिए ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा आवद्ध भएर नेम्वाङ २०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा छन् ।
२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष बनेका थिए ।