काठमाडौं । मानिसहरूले जति लालसा राख्छन् उति नै दुःख पाउँछन् । भगवान् गौतम बुद्धले पनि त्यही भन्छन्, 'लालसा नराख्ने हो भने दुख पाइँदैन ।' निजामती सेवाको नाममै सेवा भएकाले सेवा गर्ने उद्देश्यले आउने सन्तुष्ट हुने सहसचिव नरेन्द्रकुमार राना मगर बताउँछन् । इच्छा, आकांक्षा, लोभ बढी राख्ने मान्छेलाई दुःख हुन्छ । उनी भन्छन्, 'यस क्षेत्रप्रति मेरो कुनै असन्तुष्टि छैन । किनभने काम गर्न पाइएको छ, सेवा गर्न पाइएको छ ।'
भोगाइलाई जीवन बताउने नरेन्द्रकुमार रुकुम पश्चिमको पहाडी परिवेशमा खेली हुर्किएका हुन् । हरेक मानिसका फरक परिभाषा हुन सक्छन् । हरेक मानिसले पृथक् भोगाई भोग्छन् । सबैले सधैँ सुख या दुःख हुँदैन । घटना एउटै भए पनि त्यसले दिने दुःख र भोगाई फरक हुनसक्ने हुनाले जीवन यही हो भनेर भन्न नसकिने उनको बुझाइ छ । उनी भन्छन्, 'मानिसलाई के कुराले खुसी दिन्छ त्यही जीवन हो । तर आफू खुसी हुँदै गर्दा अरू दुखी हुनु हुँदैन भन्ने विचार गर्नुपर्छ ।'
रुकुम चौरजहारी नगरपालिका वडा नम्बर १४ (साबिक नुवाकोट गाविस)का मगर विगत ८ महिनाबाट भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।
यस अघि उनले प्रदेश सचिवको रूपमा लुम्बिनी प्रदेशमा १३ महिना सेवा प्रदान गरेका थिए । उपसचिव हुँदा उनले रोल्पा र सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका छन् । यसका अलावा उनी रुकुमको एलडीओ समेत भए । गृह मन्त्रालयमा पनि काम गरेका उनले निजी सचिव तथा शाखा अधिकृतको रूपमा विभिन्न निकायमा आबद्ध भई कार्यसम्पादन गरेका छन् । साधारण जीवनयापन अपनाउनु नै सन्तुष्टिको जड रहेको बताउने मगर आफ्नो कार्यकालमा आत्मसन्तुष्टि मिल्ने सुधारका काम गर्न चाहन्छन् ।
कक्षा १० सम्मको उकाली ओराली
उनको शैक्षिक यात्रा गाउँकै बालहित प्राथमिक विद्यालय (वर्तमान बालहित माध्यमिक विद्यालय)बाट सुरु भएको हो । कक्षा ६ सम्म सोही विद्यालयमा अध्ययन गरेका उनी आफ्नो बाल्यकाल संघर्षमय रहेको सम्झन्छन् । एक/डेढ घण्टाको उकाली ओराली गर्दै, सानो खोला तर्दै विद्यालय जाने आउने गर्नुपर्थ्यो । सल्यान र रुकुमको बिचमा रहेको विद्यालय जाँदा ओरालो पर्ने हुँदा केही सजिलो पर्ने भए पनि आउँदा उकालोमा भने गाह्रो हुने गरेको उनी बताउँछन् । निमावि बनाउने प्रक्रियामा रहेको विद्यालय ६ कक्षाबाट अघि बढ्न नसकेपछि उनले अर्को विकल्प खोज्नुपर्ने भयो ।
त्यसैले माध्यमिक तहको शिक्षा हासिल गर्नका लगी उनले सल्यान धाउनुपर्यो । सल्यानमा रहेको उक्त विद्यालय जान ३/४ घण्टासम्म हिँड्नुपर्ने हुन्थ्यो । उनले तत्कालीन भलचौर गाविस (वर्तमान दार्मा गाउँपालिका)को जनज्योति माध्यमिक विद्यालयबाट अध्ययन सुरु गरेका थिए ।
सबैभन्दा दुःखको कुरा ४ घण्टाको बाटोमा चामल, दाल, दाउरा, पिठो घरबाट बोकेर लैजानुपर्थ्यो । रुकुमको पहाड झरेर सल्यानको पहाड उक्लँदै झरेपछि बल्ल विद्यालय पुगिन्थ्यो । हप्ता/पन्ध्र दिनमा यो यात्रा दोहोरिइरहन्थ्यो ।
यसरी दैनिक ८ घण्टा हिँड्न सम्भव नभएपछि उनी डेरा गरेर बस्न थाले । निकै संघर्ष र दुःख गरेर ०५७ सालमा एसएलसी पास गरेपछि उनी आइआइए पढ्न दाङ पुगे ।
धन्यवाद बुवा....
घरको आर्थिक अवस्था बुवाको कमाइमा पूर्ण रूपमा निर्भर रहेको उनी स्मरण गर्छन् । उनका बुवा रोजगारीको लगी भारत जाने गर्थे । उनी सम्झिन्छन्, 'प्राय उहाँ घर कम बस्नुहुन्थ्यो ।' चार जना सन्तानको उचित लालन-पालनका निम्ति बुवाले निकै मिहिनेत गरेको सम्झँदै उनी कृतज्ञ पनि हुन्छन् ।
युवावस्था भारतमा बिताएका बुवा प्राय हिमाञ्चल प्रदेशतिर बढी जाने गरेको उनी बताउँछन् । पहाडमा भएको थोरै खेतीले परिवारको सबै आवश्यकता पुरा नहुने बुझेर नै उनका बुवा भारततिर लाग्ने बाध्यता बन्थ्यो । खेतीले पनि राम्रो साथ दिएको थिएन । पानी राम्रो परेको समयमा मकै, गहुँ राम्रो उब्जनी हुने गरे तापनि पानी नपरेको समयमा समस्या हुन्थ्यो । त्यसैले केही किसानले खेत बन्दकीमा लिएर खेती गर्थे । फिर्ता दिनेगरी थोरै पैसा दिएर खेती गर्न पाइन्थ्यो । यसरी उनको परिवारले बन्दकीमा खेत लिएको थियो । उक्त खेतमा काम गर्न निकै दुःख हुने गरेको उनी बताउँछन् । खेती सकिएपछि उनका बुवासहितको युवाहरूको समूह रोजगारीका लागि भारततिर जान्थे ।
नेपाल विद्या भूषण ग बाट सम्मानित
आइएसम्म घरकै सहयोगमा पढेका उनले त्यसपछि भने केही खर्च आफैँले व्यवस्थापन गर्न थाले । दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए तथा स्नातकसम्मको अध्ययन गरेका उनी त्यसबेला क्याम्पसमा १५०० विद्यार्थी रहेको सम्झन्छन् । उनले आइएमा क्याम्पस टप गरेका थिए । उनले पहिलो रोजगारीको रूपमा शिक्षण पेसा अपनाएका थिए । आइए दोस्रो वर्ष पढ्दा-पढ्दै उनले पढाउन थालेका हुन् । शिक्षकको रूपमा बोर्डिङ स्कुलमा अध्यापन गराए बापत उनले १५०० रुपैयाँ पारिश्रमिक पाउँथे । पहिलो तलब कसरी खर्च गर्नुभयो भनेर सोध्दा पढाइकै सिलसिलामा खर्च गरेको हुनसक्ने उनी अनुमान लगाउँछन् ।
जीवनको पहिलो जागिरमा केही महिना बिताएपछि उनी निमावि तहको विद्यालयमा अध्यापन गराउन गए । जहाँ निमावि तहकै पारिश्रमिक दिइन्थ्यो । स्नातकमा ७० प्रतिशत अंक ल्याएका उनी त्यति बेलाको आफ्नो ब्याचको ह्युम्यानिटिज तर्फको नेपाल टप गर्ने विद्यार्थी हुन् ।
उनले राष्ट्रपति रामवरण यादवबाट गोल्ड मेडल समेत लिएका छन् । ६२ ब्याचको टपर पुरस्कार भने ७० सालमा प्रदान गरिएको थियो । स्नातकमा टप हुनेलाई प्रदान गरिने नेपाल विद्या भूषण ग उनले प्राप्त गरेका हुन् ।
स्नातकोत्तरको अध्ययनका लागि उनले दाङ छोडे र, काठमाडौं आएर गणित विषय लिई अध्ययन गर्न थाले । गणित केन्द्रीय विभाग टियुबाट स्नातकोत्तर सक्नासाथ अध्यापन गराउने उद्देश्य लिएर उनी रुकुम फर्किए । रुकुममा कक्षा ९ देखी १२ लाई अध्यापन गराउँदै ०६५ सालदेखी ०७० सम्मको समय उनले शिक्षकको रूपमा बिताए । ०७० सालमा बल्ल उनी निजामती क्षेत्रमा प्रवेश गरेका हुन् ।
शिक्षकबाट निजामती सेवामा
उनले गणित पढेका थिए, एजुकेसन पढेका थिएनन् । त्यसैले शिक्षकको लाइसेन्स लिन पाइँदैन थियो । लाइसेन्स नभई रोजगारीको सुनिश्चितता हुने भएन । हरेक मान्छेले स्थायित्व खोज्छ । त्यसैले उनको अघि दुई विकल्प आइपुगे । एउटा विदेश जाने अर्को लोकसेवाको परीक्षा दिने । अध्ययन गर्दै गर्दा उनलाई लोकसेवामा लाग्ने ख्याल नआएको होइन तर शिक्षण पेसामा आबद्ध भएपछि त्यता ध्यान दिन पाएनन् । शिक्षणमा रोजगारीको सुनिश्चितता नभएपछि एउटा बाटो बनाउनै पर्ने थियो । स्नातकोत्तरमा उनले गणितमा ९० प्रतिशत अंक प्राप्त गरेका थिए, त्यसैले विदेश जाऊँ जस्तो नलागेको पनि होइन ।
उनी भन्छन्, 'यता नआएको भए म जीआरई गरेर अमेरिका गइसकेका हुने थिएँ । तर, एक पटक शाखा अधिकृतमा प्रयास गरौँ भन्ने लाग्यो ।'
उनले ०६९ साल चैतमा शाखा अधिकृतको लागि परीक्षा दिएका थिए । जसको नतिजा ०७० साउनमा आएको थियो । शाखा अधिकृतमा नाम निस्किएपछि उनको सरकारी जागिरे जीवन सुरु भएको हो ।
उनको पहिलो नियुक्ति रुकुम जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा भयो । गृह जिल्लामा उनले २ वर्ष काम गरे । त्यसपछि आपूर्ति मन्त्रालयमा काम गर्दा गर्दै उनी उपसचिव भए । खुलाबाटै नाम निकालेका उनले उपसचिवको रूपमा ०७३ जेठमा नियुक्त पाएका हुन् । उपसचिव भएपछि उनको पहिलो पोस्टिङ एलडीओको रूपमा भएको हो । आफ्नै जिल्लामा एलडीओ भएर उनले एक वर्ष बिताए । त्यसबेला गाउँपालिका, नगरपालिकाको पुनर्संरचना आयोगमा संयोजक भएर काम गरेको उनले बताए । १० महिना एलडीओ भएर काम गरेका उनले त्यसपछि एलडीओ भन्ने पद नै हराएको सुनाए ।
उपसचिव र सहसचिवको परीक्षामा सुरुमा असफल भए तापनि प्रयास गर्दै जाँदा सहसचिव भएको अनुभव उनले बाँडे । उपसचिव हुँदै ०७५ सालमा उनी प्रजिअ भएर सोलुखुम्बु गए । त्यहाँ एक वर्ष काम गरेपछि पुनः गृह मन्त्रालयमा फर्किए । गृहको एक वर्षे बसाइपछि पुनः प्रजिअ भएर ०७७ सालमा रोल्पा गए र ०७८ वैशाख १ गते गृहमै फर्किए ।
कोरोना महामारीको समयमा काठमाडौंका सहायक सिडिओलाई कोरोना लाग्नाले काठमाडौंको सहायक सिडिओ भएर उनले काम गरेको बताए । कसूरजन्य सम्पत्ति व्यवस्थापन इकाई भन्ने निकायमा केही महिना बसे र कार्तिकमा सहसचिवको नियुक्ति उनले पाएका हुन् । सहसचिवको लागि उनले ०७८ साल साउनमा परीक्षा दिएका थिए भने असोजमा यसको नतिजा आएको थियो । उनले असोज २४ गते नियुक्ति बुझेका हुन् । सिफारिस असोज २४ गते गरिए तापनि नियुक्ति १ गते पाएको उनी बताउँछन् । नियुक्ति पाएपछि मङ्सिर १५ गते उनी लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय गए । उनले ०७९ पुस २६ गतेसम्म उनले काम गरेका हुन् । त्यसअघि नै उनको निर्णय भरतपुर भएकाले उनी भरतपुर गए र हाल ८ महिनाबाट उनी भरतपुरमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका निभाइरहेका छन् ।
कर्मचारीतन्त्र सुधारका लागि समाज र राजनीति सुधारिनुपर्छ
निजामती कर्मचारी नागरिकप्रति जबाफदेही हुनुपर्ने र प्रणाली विकास गर्नुपर्ने कुरामा उनी विशेष जोड दिन्छन् । उनी भन्छन्, 'कर्मचारीतन्त्र भनेको प्रणाली हो । प्रणालीको विकास गर्न सकियो भने सफल भइन्छ ।' कर्मचारी परिवर्तनको निर्माता नरहेको उनी प्रस्ट पार्छन् । परिवर्तन समाजले, राजनीतिज्ञले गर्छन् भने त्यो परिवर्तनलाई व्यवस्थापन कर्मचारीतन्त्रले गर्ने उनको भनाइ छ । उनी कर्मचारीले कानून बमोजिम काम गर्ने हुनाले धेरै अपेक्षा राखिनु नहुने बताउँछन् ।
हाम्रो देशको सन्दर्भमा उचित प्रणाली नभएका कारण कर्मचारीलाई काम गर्न गाह्रो अवस्था रहेको उनले बताए । कर्मचारीलाई विभिन्न किसिमको आक्षेप लगाउने गरिन्छ । समाजले नै यसमा समस्या उत्पन्न गर्ने उनको बुझाइ छ । उनी भन्छन्, 'हामीले कहिल्यै एउटा व्यापारीले १ लाखको लगानी गरेर कसरी अरबपति भयो भनेर प्रश्न गर्ने गरेका छैनौं । उसलाई छुट दिनुले हाम्रो समाजको प्रतिबिम्ब देखाएको छ । कर्मचारीतन्त्र सुदृढ बनाउन पहिला समाज सुधारिनुपर्छ, राजनीतिक नेतृत्व सुधारिनुपर्छ ।'
सेवाग्राहीले सेवा प्रदायकलाई नभेट्नु नै प्रणाली रहेको उनी प्रस्ट्याउँछन् । उनी भन्छन्, 'यो गर्न सकियो भने प्रणाली बन्छ ।' हाम्रो समाजको शुद्धीकरण पनि आवश्यक रहेको र कर्मचारीमा कस्ता मान्छे ल्याउने भन्ने कुरा सोच्न जरुरी रहेको उनले बताए । छोटो समयमा धनी हुने सपना लिएर निजामती सेवामा आउनेलाई उनी यो कमाउन आउने ठाउँ नरहेको बताउँछन् ।
उनी भन्छन्, 'कर्मचारीले सेवा गरे बापत केही वेतन पाउने हो । भर्खरै निजामती सेवामा प्रवेश गरेकाहरू रातारात कमाउने, गाडी चढ्ने, घर बनाउने सपना देख्छन् । हाम्रो समाजले नै यस किसिमको वातावरण सिर्जना गरिदिएको छ । यस्तो प्रवृत्ति कम गर्न जरुरी छ ।'
प्रविधिले सुधारको बाटोतिर लैजान्छ भन्ने उनलाई विश्वास छ । सेवाग्राही र सेवा प्रदायक भेट नभए, सबै सेवा प्रविधिमय भए अवस्था सुदृढ हुँदै जाने उनको बुझाइ छ । यसको लागि कर्मचारीलाई उचित तालिम दिई दक्ष बनाउने र समाजलाई प्रविधिसँग अभ्यस्त बनाउन आवश्यक रहेको छ ।
निवृत्तअघि सुधारको चाहना
निवृत्त हुनुभन्दा अघि निजामती सेवालाई सुधार गर्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्छ । सुधारको वातावरण बनोस्, त्यसमा काम गर्न पाइयोस्, सुझावहरू कार्यान्वयन होस् भन्ने उनको अपेक्षा छ । अहिलेको अवस्थामा कर्मचारीतन्त्र, राजनीति र समाज मिलेर जानुपर्ने अवस्था छ । राष्ट्र समस्यामा पर्दा नागरिक पनि समस्यामा पर्ने हुनाले सबैले गम्भीर भएर सोच्न जरुरी रहेको उनले बताए । यसमा आफूले केही योगदान दिन सके उनलाई 'मैले राम्रो गरेँ' भन्ने लाग्ने थियो । यद्यपि अहिलेसम्म उनलाई आफूले राम्रो गरे भन्ने लागेको छैन । उनी भन्छन्, 'सेवाको लागि राज्यले पैसा दिएको छ र सेवा दिनैपर्ने जिम्मेवारी भएकाले सेवा दिएको हुँ ।'
समाज र राजनीतिक वातावरण परिवर्तन भए राजनीतिको छायाको रूपमा रहेको कर्मचारीतन्त्र स्वतः परिवर्तन हुने उनी विश्वस्त छन् । राजनीति तथा प्रशासनमा अहिले आएका युवाहरूलाई आफ्नो स्वार्थ छोडेर परिवर्तनको संवाहक बन्न उनी सुझाव दिन्छन् ।