काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई नेताहरूले श्रद्धाञ्जली दिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छन् । उनले राष्ट्रिय झन्डा ओढाएर स्वर्गीय नेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जलीको फूल चढाएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेता, विभिन्न दलका नेताहरू र शुभेच्छुकले नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।
पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर भोली दिउँसोसम्म श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राख्ने बताइएको छ ।
नेता नेम्वाङको अन्त्येष्टि भने बिहीबार हुने भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताएका छन् । विदेशमा रहेका नेम्वाङका छोराहरू आउन ढिलो हुने भएकाले अन्त्येष्टि पर्सिका लागि सरेको हो ।
हेर्नूहोस् थप तस्बिरहरूः