काठमाडौं । सोमबार उच्च अंकले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.४२ अंकको विन्दुमा कायम भएको हो ।
आज २ सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिदबिक्री हुँदा रु एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक १.९८ अंक र वित्त समूहको उपसूचक १.९२ अंकले घटेको छ । बैंकिङ समूह ०.४३, विकास बैंक १.४४, जलविद्युत् १.५६, लगानी १.३१ र जीवन बीमा समूह ०.९९ अंकले घटेको छ ।
त्यसैगरी, उत्पादन तथा प्रशोधन १.०८, लघुवित्त १.४०, निर्जीवन बीमा १.४०, व्यापार ०.७८ र अन्य समूहको उपसूचक ०.२४ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य आज ९.९९ अंकले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक लिमिटेडको रु सात करोड ५६ लाख १८ हजार नौ सय २० बराबरको दुई लाख २४ हजार नौ सय ४४ कित्ता शेयर किनबेच भएको छ ।