कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख छन् विष्णुकुमार भाम । अघिल्लो निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपछि समाज सेवासहित व्यक्तिगत योगदानका कारण चर्चामा आएका नगर प्रमुख भाम गत वर्षको स्थानीय निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका हुन् । देशकै सबैभन्दा ठुलो रारा ताल पनि यही नगरपालिकामा पर्छ । नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएका प्रमुख भामले स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकता दिएको बताउँछन् । प्रस्तुत छ, छायानाथ नगरपालिका प्रमुख भामसँग गरिएको कुराकानी ।
तपाईं नगर प्रमुखमा निर्वाचित भएको एक वर्ष अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?
छायानाथ रारा नगरपालिकामा कार्यक्रमलाई थप प्रभावकारी र पारदर्शी ढङ्गले कार्यान्वयन गर्ने अभियानमा छौँ । सुशासनसहितको दिगो विकास र गुणस्तरीय विकास निर्माणका योजनामा जोड दिनलाई यहाँका समुदायमा मौलाएको बेथितिले सुशासनमा संस्थागत विकास स्थापना हुन नसक्नु आजको चुनौती रहेको छ । जसले गर्दा मेरो घोषणापत्र अनुसारको दिगो विकास लक्ष्य अनुसार सुशासनमा स्थापना गर्ने कुरालाई चुनौती मानेका छौँ ।
तपाईंले पालिकामा गर्नुपर्ने कामहरू के के छन् र कसरी गर्ने योजना छ ?
छायानाथ रारा नगरपालिकाले पहिलो प्राथमिकतामा गर्नुपर्ने काम बिजुली बत्ती सेवा छ । छायानाथ रारा नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ का बस्तीमा विद्युत्को पहुँच छैन । ती बस्तीमा विद्युत् विस्तार गर्नलाई लुम्स बगरबाट विद्युत् उत्पादन गर्नलाई लुम्स हाइड्रोपावरको डीपीआर भइसकेको छ र आउने आर्थिक वर्षबाट काम सञ्चालन हुने छ । विगतका वर्षमा टुक्रे योजना वितरण हुँदै आएका थिए । त्यस्ता टुक्रे योजनाले समुदायमा पारदर्शिता नहुँदा यस्ता वितरणमुखी योजनाको अन्त्य गर्न कार्यविधिको तयारी गरिरहेका छौँ । त्यस्तै समयको बचत गर्ने उद्देश्यले स्वच्छ खानेपानीका लागि एक घर एक धारा योजनाका लागि गैरसरकारी निकायसँग समन्वय गरी योजना सञ्चालन गर्ने योजनामा छौँ ।
अहिलेसम्मका मुख्य उपलब्धिहरू के के हुन् ?
सार्वजनिक लेखा परीक्षणको कार्यविधि अनुसार तीन तीन महिनामा सार्वजनिक सुनुवाइ, गुणस्तरीय योजना निर्माणका लागि योजनाको नियमित अनुगमनबाट दिगो विकास र समान सहभागिताको पारदर्शिता स्थापना गरेका छौँ । छायानाथ रारा नगरपालिकाको कार्यसमिति रचनात्मक र सकारात्मक सोच भएकाले नगरका दलित समुदायलाई दसैँ भत्ता, अन्तरजातीय विवाह गर्नेलाई पुरस्कृत, अपाङ्गमैत्री कार्यविधि ऐन र विधेयक निर्माण गरेका छौँ ।
यस पालिकाको मुख्य समस्या के के हुन् र कसरी समाधान गर्ने योजना छ ?
आन्तरिक पर्यटकको राजस्व सम्बन्धित स्थानीय निकायले सङ्कलन गर्न सक्ने नीति नियम हुँदाहुँदै पनि रारा राष्ट्रिय निकुञ्जको कार्यालयले छायानाथ रारा नगरपालिकाको कार्यालयलाई आन्तरिक पर्यटकबाट राजस्व सङ्कलनमा रोक लगाएको छ । उक्त राजस्व सङ्कलन कार्य रारा राष्ट्रिय निकुञ्जको कार्यालयले गर्दै आएको छ । त्यस्तै स्थानीय व्यापारीबाट पनि राजस्व सङ्कलनमा समस्या आएको छ । यी समस्यालाई समाधान गरी यो आर्थिक वर्षबाट छायानाथ रारा नगरपालिकाबाट राजस्व सङ्कलन आर्थिक कार्यविधि र ऐन बनाउँदै छौँ ।
पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?
नगरपालिकाको एक्लो प्रयासले नगरको विकास गर्न सम्भव छैन । नीतिगत रूपमै अहिले पनि सङ्घ र प्रदेशसँग समन्वय नगरी नहुने अवस्था छ । कतिपय व्यावहारिक कठिनाइले पनि समन्वय गर्नुपर्ने हुन्छ । कतिपय योजनामा हामीले सङ्घ तथा प्रदेशसँगको समन्वयमा काम गर्दै आएका छौँ । अहिले पनि धेरै योजना सञ्चालन गर्नुपर्ने छन् । जिल्ला सदरमुकाम गमगढी बजारलाई ढल निकास र व्यवस्थित बजारीकरणको खाँचो भएकाले सङ्घीय सरकारको समन्वयमा छ करोड ३५ लाख रुपियाँको अनुदान रहेको छ । जिल्ला आँखा अस्पताल भवनबाट सेवाग्राहीलाई उपचारमा समस्या आएकाले उक्त भवन आधुनिक प्रविधि सम्पन्न भवन निर्माण गर्नलाई कर्णाली प्रदेश सरकारको अनुदानमा सहयोग छ । छायानाथ रारा पालिकाकाले रचनात्मक काम गर्ने भएकाले सङ्घीय र प्रदेश सरकारसँग समन्वय राम्रो भएको छ ।
समृद्ध पालिका निर्माणका लागि अबको चार वर्षको अवधिमा के के काम गर्ने योजना छ ?
अबको चार वर्षमा नगरपालिका विपन्न परिवारका १८० जना घरधुरी पहिचानका आधारमा कृषि, पशुपालन, होटल व्यवसायमा अनुदान दिई आत्मनिर्भर र स्वरोजगार बनाई गरिबी न्यूनीकरण गर्ने लक्ष्य राखेका छौँ । त्यसै गरी नगरका १४ वटै वडाका बस्तीसम्म सेवा दिने उद्देश्यले नगर बस सेवा सञ्चालनमा ल्याउने छौँ । नगरपालिका अधिकांश सामुदायिक विद्यालयको परिसर घेराबार गर्ने, हरियाली बनाउने र सरसफाइसँगै गुणस्तर शिक्षामा जोड दिएका छौँ । सामुदायिक विद्यालयबाट दक्ष र राष्ट्रका लागि नै आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने सम्बन्धमा छलफल भइरहेको छ ।
गोरखापत्रबाट