काठमाडौं । शारदादेवी रोकाया विगत ३० वर्षदेखि राजनीतिमा सक्रिय छिन् । ०५४ सालको निर्वाचनमा मालखेती गाविसको वडा नं ५ को वडा सदस्य ( महिला)मा निर्वाचित भएकी उनी ०५४ सालपछि लामो समय निर्वाचन हुन नसक्दा वडा सदस्यका रूपमा पालिकामा सेवारत रहिन् ।
०७४ सालमा पार्टीबाट उप-प्रमुखको टिकट पाएपनि उनले आफूभन्दा अग्रज दिदी सावित्रालाई अवसर दिइन् । र, ०७९ सालको स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिकाको उप-प्रमुखमा निर्वाचित भएकी शारदादेवी रोकायासँग उप-प्रमुखको कार्यभार सम्हालेपछि बटुलेका अनुभव र भोग्नुपरेका समस्या, चुनौतीलगायतका विषयमा व्यवस्था डटकमका लागि रोशन भट्टराईले गरेको कुराकानीको सम्पादित अंश ।
गोदावरी नगरपालिकाको बारेमा केही बताइदिनुहोस् न ।
गोदावरी नगरपालिका सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लाको एक नगरपालिका हो । २०७१ ज्येष्ठ ४ गते साबिकको अत्तरिया, मालाखेती, श्रीपुर र गेटा गाउँ विकास समिति मिलाएर नगरपालिका निर्माण भएको हो ।
धार्मिक महत्त्व बोकेको नगरपालिका परापूर्व कालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले तपस्या गरी ज्ञान आर्जन गरेको क्षेत्र हो । साथै, द्वापर युगमा भगवान् श्रीकृष्ण, भिष्मपितामह तथा पाँच पाण्डव जस्ता तपस्वीहरूले यस क्षेत्रमा रहेको पवित्र गोदावरी नदीमा स्नान गरी ज्ञान समेत हासिल गरेको विश्वास गरिन्छ । जसको सम्झना स्वरूप हरेक वर्ष माघे (मकर) सङ्क्रान्ति विशेष मेला लाग्ने गरेको छ ।
चुरे पर्वत शृङ्खलाको काखमा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम धनगढी बजारबाट १५ कि.मी उत्तरमा अवस्थित छ । यो नगरपालिकाको केन्द्र अत्तरिया बजार हो, जुन गोदावरी नगरपालिकाको प्रमुख सेवा केन्द्रको रूपमा समेत रहेको छ । वर्तमान समयमा सहरीकरणको चापले कृषि क्षेत्र आवासमा परिणत भइरहेको अवस्था छ ।
महिलालाई राजनीतिमा आउन कत्तिको सहज रहेछ ?
महिलालाई राजनीतिमा आउन त्यति धेरै सहज र सरल भने छैन । अझै पनि विभिन्न चुनौतीहरू रहेका छन् । आर्थिक, सामाजिक, नैतिक परिवेशले महिलालाई जेलेको अवस्था छ । समावेशीको कुरा गरेपनि कतिपय अवस्थामा महिलालाई टिकट नै दिइँदैन । सबैभन्दा बढी अप्ठ्यारो आर्थिक पाटो रहेको छ । अझै पनि महिलालाई विश्वास गरी जिम्मेवारी दिइएको देखिँदैन ।
पद दिने तर, जिम्मेवारीबाट टाढा राख्ने भन्न खोज्नुभएको हो ?
हो, जिम्मेवारी भएको पद भनेको प्रमुख नै हुँदो रहेछ । उप-प्रमुखको जिम्मेवारी सीमित हुन्छ । यही जिम्मेवारी पनि पुरा हुन नसक्ने विभिन्न कारण छन् । मेरो न्यायिक समिति, बजार अनुगमन, राजस्व समितिमा मात्र केही जिम्मेवारी छन् । अझैसम्म पनि कामको जिम्मेवारी अत्यन्त कम छ । क्षमता र योग्यता भएका दिदीबहिनीहरूले पदका साथै जिम्मेवारी पनि पाउनुपर्छ ।
यसरी त निर्वाचनका समयमा जनतालाई दिएका आश्वासन कसरी पुरा गर्नुहुन्छ ?
घोषणापत्र अनुसार काम गर्न आफू कार्यकारी पदमा हुनुपर्ने रहेछ । त्यहीँ पनि आफ्नो कार्यक्षेत्रले दिएको अधिकारमा रहेर शिक्षा, स्वास्थ्य, कृषि जस्ता विषयमा गम्भीर भएर काम गरिरहेको छु । सरकारले आर्थिक मन्दी देखाएकाले महिला सशक्तीकरणको अभियान चलाउन पाइएन । महिलाको हितमा काम गर्न पाएकै छैन ।
शिक्षा, स्वास्थ्य जस्ता जनताका मुद्दामा सबैको एउटै बाचा हुन्छ त्यही भएर पनि त्यस्ता काम भने अघि बढिरहेकै छ । तर, घोषणापत्रमा उल्लेख भएका सबै कुरा पुरा गर्न धरै चुनौती रहेको छ ।
तपाईंको योजना पालिकामा कसरी सम्बोधन हुन्छ ?
प्रत्येक कार्यपालिकाको बैठकमा जनताका कुरा राख्ने गर्छु । सधैँ शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका कुरामा मेरो ध्यान केन्द्रित हुन्छ । कतिपय ज्येष्ठ नागरिक स्वास्थ्य चौकी आएर उपचार गर्न सक्दैनन् । त्यसकारण हामी ज्येष्ठ नागरिकको उपचारका लागि घरमै डाक्टर पठाउने गर्छौँ ।
कृषि उत्पादनका हिसाबले सबै खाले कृषि बालीको उत्पादन हुनुका साथै फलफूलका लागि पनि उत्तिकै उत्पादनमूलक तथा योग्य क्षेत्र रहेकाले हामी यसमा लागिरहेका छौँ । शिक्षामा गुणस्तर कायम गर्न तालीम प्रदान गर्ने काम भइरहेको छ ।
रोजगारीको अवस्था कस्तो रहेको छ ?
रोजगारी सिर्जना गर्न उद्योग चाहिन्छ । हाम्रो पालिकामा उद्योगधन्दा, कलकारखाना छैन । युवाहरू बिदेसिन बाध्य छन् । कृषिमा लगानी गरेर पनि युवालाई बिदेसिन रोक्न सकिन्छ भन्ने मेरो धारणा रहेको छ । कृषियोग्य जमिन बाझो छ । युवालाई तालिम, अनुदान प्रदान गरेर व्यावसायिक कृषि खेती गराउन सकिन्छ ।
पालिकामा कृषि तालिम, अनुदान प्रदान भएको छैन ?
अहिले कृषिमा कुनै कार्यक्रम आएको छैन । आउने भनेको अनुदान पनि अहिलेसम्म आएको छैन । यो भन्दा अघिको कार्यकालमा पावर प्लान्ट जडान भएको थियो । गत वर्ष पालिकाले अनुदानमा बोका वितरण गरेको थियो, यो वर्ष कुखुराका चल्ला वितरण गरेको छ । पशुलाई औषधिको व्यवस्था गरिएको छ ।
कृषिलाई पालिकाले सोचेजसरी अघि बढाउन सकेको छैन । पालिकाले एउटा वडामा एउटा व्यवसाय कार्यक्रम लागु गरेको छ । वडैपिच्छे छुट्टाछुट्टै रूपमा व्यावसायिक खेती हुने गरेको छ । कनै वडामा कागती, कुनैमा प्याज, लसुन खेती हुन्छ ।
बजेटको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
बजेट त आउँछ तर सही समयमा आउँदैन । बजेट ढिलो आएपछि काम पनि ढिलो हुन्छ । ढिलो आउने बजेट पुरै खर्च हुन सक्दैन र फिर्ता जान्छ । समयमा बजेट आउँदा जनताका मुद्दा सम्बोधन गर्न हुन्थ्यो । विकास निर्माणको काम समयमा सकिन्थ्यो । पालिकाको बजेट समयमा नै खर्च गर्न सकिन्छ । यसपालि पालिकाको राजश्व पनि कम उठ्यो । बालुवा गिट्टी निकासी र कित्ताकाट नखुल्दा राजश्वमा गिरावट आएको हो ।
जनता पालिकाको कामप्रति कत्तिको सन्तुष्ट छन् ?
सेवा प्रणाली पहिलाको भन्दा त धेरै नै सहज र सरल भएको छ । गाविस हुँदा थोरै बजेट आउँथ्यो भने अहिले एउटै वडामा करोड भन्दा बढी बजेट आउँछ । कर्मचारीलाई मेरो आग्रह छ, सेवा लिन आएका आम जनतासँग राम्रो तरिकाले बोल्नुहोला । कागजपत्र अपुरो रहेछ भने सहजीकरण गरिदिनुहोला । ०७४ पछि धेरै बाटा बनेका छन् । जनताले पनि गरेका कामको मूल्याकंन गर्न जरुरी रहेको छ । हामीले कर नबढाउने करको दायरा बढाउने लक्ष्य लिएका छौँ । मलाई काम गर्न सहज नै छ । कामको जिम्मेवारी त्यति धेरै नभएर पनि होला कतैबाट त्यस्तो दबाब आएको छैन ।