काठमाडौं । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) ले दिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउन तयार पारिएको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार प्रतिवादी बनाउन राय दिइएको ५० जनामा ३२ जना पक्राउ परेको र १८ जना फरार छन् ।
आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ ।
सीआईबीले हङकङबाट ल्याइएको उक्त अवैध सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।
सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ ।
त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।
यो प्रकरणमा पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।