काठमाडौं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले बोर्डले गरेको काम कार्वाहीको बारेमा समयमै डाटा उपलब्ध गराइने बताएका छन् ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले धुलिखेलमा सञ्चालन गरेको वैदेशिक रोजगार सम्बन्धित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मंगलबार र बुधबार धुलिखेलमा गरिएको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूले रोजगार बोर्डले गरेको काम कार्वाहीको विषयमा महिना महिना साइडमा अपडेट गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यकारी निर्देशक उप्रेतीले बोर्डमा आएपछि गरेको महत्त्वपूर्ण कामको जानकारी गराउँदै वैदेशिक रोजगारमा जाने युवाको श्रम स्वीकृर्तिमा पारदर्शी गरेको र वैदेशिक रोजगारबाट फर्किएकालाई पनि व्यवसायमा जोड्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गरे ।
यस्तै सचिवालय निर्देशक राजन पौडेलले पनि बोर्डले आर्थिक वर्ष २०८०÷८१ मा गरेका कामहरूको समीक्षा तथा पत्रकारहरूले राखेको जिज्ञासाको समाधान गरेका थिए ।
त्यसैगरी, कार्यक्रमको दोस्रो दिन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले वैदेशिक रोजगारलाई सुरक्षित भरपर्दो, मर्यादित र व्यवस्थित बनाउन सञ्चारकर्मीको भूमिका र बोर्डले सञ्चारकर्मीसँग समन्वय गर्नुपर्ने बताएका थिए ।
अन्त्यमा बोर्डका उपसचिव सीता दुवाडीले गत आर्थिक वर्ष २०७९/८० मा बोर्डको सचिवालयद्वारा सम्पादित कार्यहरूको प्रगति तथा चालु आर्थिक वर्ष २०८०/८१ को लागि बोर्ड सचिवालयका स्वीकृत कार्यक्रमहरूबारे जानकारी गराएकी थिइन । यस्तै उनले बोर्ड स्थापना भएदेखि हालसम्मको कामका विषयमा पनि प्रस्तुति गरेकी थिइन ।
उनले प्रस्तुत गरेको विवरण अनुसार बोर्डले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आर्थिक सहायता लिने बिरामी परेर मृत्यु भएका ४ सय ५ जना छन् । यस्तै आत्महत्या र सडक दुर्घटनाबाट समान मृत्यु १ सय ४३ जना मृत्यु भएका परिवारले आर्थिक साहायता लिएका छन् । यस्तै सबैभन्दा कम ५ जना हत्या भएकाले आर्थिक सहयता लिएका छन् । उनका अनुसार बोर्डमा आएको र नेपाल सरकारबाट स्वीकृत भएको तथ्याङ्क हो । यसमा केही थपघट पनि हुन सक्छ ।
उपसचिव दुवाडीका अनुसार वैदेशिक रोजगार बोर्डको कल सेन्टरमा पछिल्लो समय रोजगार परामर्श लिने र वैदेशिक रोजगारको बारेमा चासो लिनेहरूको संख्या बढेको छ ।
यता बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीका अनुसार सबैभन्दा बढी श्रमिक मलेसिया गएका र मृत्यु दर पनि मलेसियामै बढी भएको बताए । कुवेत, ओमन र बहराइनमा महिलाहरू बढी पीडित भएको जनगुनासो आएको र यसको सम्बोधन गर्नका लागि सो देशका सम्बन्धित राजदुतहरुसँग छलफल भइरहेको उनले बताए ।
उनले दूतावासले वैदेशिक रोजगारमा गएका व्यक्तिहरूको कुरा नसुनेको जनगुनासो आएकाले यसको पनि सम्बोधन बोर्डले गरिरहेको बताए ।
उनका अनुसार जापान र कोरिया गएका बढी भन्दा बढी श्रमिकहरूको मृत्यु हुने गरेको र यो वर्षबाट बोर्डले आत्महत्या रोक्न मेडिटेसनको कार्यक्रम सञ्चालन गर्ने बताए ।