काठमाडौं । डाक्टर विकाश देवकोटाको नाम नसुन्ने सायद कम मात्रै होलान् । नेपालमा कोरोना (कोभिड १९) महामारीका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका देवकोटाले कोरोनाका बारेमा निरन्तर देशभरको अपडेट तथा जानकारी दिने गरेका थिए ।
हरेक दिन बेलुकीको ५ बज्ने बित्तिकै पछिल्लो २४ घण्टाको कोरोना संक्रमणबारे जानकारीको भिडियो हेर्न र जानकारी लिन सबै नेपाली हातमा मोबाइल तथा घरमा भएको टिभी खोल्न तम्सिन्थे । दुर्गम गाउँमा पनि रेडियोबाट सूचना लिन्थे । प्रत्येक दिन डा.देवकोटा हातमा डायरी र काँधमा जिम्मेवारी लिएर निडर रूपमा सूचना दिन उपस्थित हुन्थे ।
उनलाई थाहा थियो महामारी बेला 'म अत्तालिनु हुँदैन ।' उनलाई त्यो बेला लाग्थ्यो 'अब भोलि चाहिँ कोरोना घटेको र मृत्यु शून्य भएको जानकारी दिन पाइयोस् ।'
तर, सत्यसँग हरेक मान्छे जुध्नै पर्छ । कोरोना निरन्तर बढ्थ्यो र उनको मनको ढुकढुकी पनि उसैगरी बढेर जान्थ्यो । कोरोना शून्यमा आएको दिनको पर्खाइमा डा.देवकोटा अहिले पनि छन् । यताउता फ्याट फुट्ट रूपमा देखियो भने पनि उनको मनमा चिसो पस्छ ।
हाल स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेका डा. देवकोटासँग कोरोना महामारीमा स्वास्थ्य मन्त्रालय बस्दाको अनुभव, दुर्गम गाउँमा देखिएको स्वास्थ्यको स्थिति लगायतका विषयमा कुराकानी गरेका छौं ।
यस्तो रह्यो कोरोना अनुभव र हालसम्मको अवस्था
कोरोना महामारी नेपालको लागी मात्र नभएर विश्वकै लागि नयाँ रोग रह्यो । नयाँ रोग र महामारी आउँदा डर लाग्ने, चिन्ता लाग्ने र अनिश्चितताले घेर्ने कुरा स्वाभाविक रह्यो । आगामी गन्तव्य के हो ? यसले कस्तो असर गर्छ ? कतिसम्म हानिकारक छ ? भन्ने कुराको केही जानकारी थिएन । त्योबेला मानिसहरूले कोरोनालाई आफ्नै ढंगबाट विश्लेषण गर्न थालेका थिए । देवकोटालाई पनि स्वास्थ्य चुनौती हुने नै भयो ।
नयाँ विषय भएकाले के भन्ने ? के गर्ने ? कसरी डाटा ल्याउने ? भन्ने कुराको कुनै जानकारी थिएन । उनलाई कोरोना बढ्यो भन्दा पनि नेपालीलाई तनाव हुन्छ भन्ने डर थियो । कोरोना बिस्तारै बढ्दै थियो र बढ्छ भन्ने पनि पक्का थियो । उनले त्यो बेला अलिकति डरमा, अलिकति अनिश्चिततामा काम गर्नुपर्ने भयो । त्यो अनिश्चितताको भयले उनलाई पनि नराम्रोसँग निमोठी रहेको थियो ।कोरोनाबाट कसरी जोगिने र नेपालीलाई जोगाउने भन्ने चुनौती थियो ।
डा. विकाश भन्छन्, 'बोझो खाएर, बेसार खाएर, योगा गरेर, गुर्जो खाएर ठिक हुन्छ भन्नेहरूको जमात पनि थियो । एन्टिबायोटिक खाएर ठिक हुन्छ भन्नेहरू पनि थिए । हरेक मान्छेका यी सबै भ्रमलाई चिर्नु थियो ।'
पहिले कोभिडको भेरियन्टमा थोरै संक्रमित थिए । सेकेन्ड फेजमा अलि बढेर गएको अवस्था थियो । त्योबेला भने अवस्था धेरै नै गम्भीर भइसकेको थियो । देवकोटा सम्झन्छन्, 'पहिले त नेपालमा मास्क नै अभाव भयो । पछि मलाई याद छ चाइनालाई पनि नेपालबाट मास्क पठाइएको थियो । कुनैबेला नेपाल आएको मास्क भन्सारमा रोकिएको थियो । त्यो लगाउन उचित छ/छैन चेक गरेर ल्याइयो । सानो-सानो कुराको कमी थियो । दोस्रो पटकमा थोरै मान्छेलाई भयो तर धेरै सिरियस बिरामी भए । दोस्रो अवस्थामा भ्याक्सिन भएकाले अवस्था केहि सहज भयो ।'
भ्याक्सिन आएपछि गम्भीर बिरामी न्यून हुँदै गएको उनी बताउँछन् । 'भ्याक्सिन नेपालमा चाँडो नै आएकाले ठुलो भयबाट बचियो । यसलाई सहज बनाउन केही छिमेकी देशले पनि सहयोग गरे', उनले भने ।
कोरोनाको बेला नेपालीले आफू आत्मनिर्भर हुन सिकेको पाइन्छ । आफ्नै साधन स्रोत परिचालन गरेर देश आत्मनिर्भर बन्नुपर्छ भन्ने ज्ञान समेत भएको छ । डा. देवकोटा कोरोनापछि स्वास्थ्य मन्त्रालयलाई पनि अरू मन्त्रालय र सरकारले ध्यान दिएको बताउँछन् ।
कोरोनाले नागरिकलाई पनि स्वास्थ्यमा सोच्न र सजग रहन सिकाएको उनको भनाइ छ । देश र नागरिकको स्वास्थ्य खराब भएमा सारा कुरा बिग्रने रहेछ । मान्छे घरबाट निस्कन नै बन्द हुने रहेछ भन्ने ज्ञान समेत भएको उनी बताउँछन् । उनी भन्छन्, 'सबैभन्दा ठुलो धन र शक्ति त स्वास्थ्य रहेछ भन्ने भएको छ ।'
सहयोगी भावनाको विकास
कोरोना पछि मानिसमा सहयोग गर्ने बानी र अन्तर्क्रिया गर्ने बानीको समेत विकास भएको छ । तीन तहको सरकारले पनि कोरोनापछि सल्लाहमा काम गर्न केही हदसम्म प्रयास गरेको र कोरोनाको बेलामा तीन तहका सरकारबीच सहकार्य र समन्वय भएको देवकोटाको भनाइ छ ।
उनी भन्छन्, 'कोरोनालाई परास्त गर्नका लागि नेपालीहरू सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुभएको छ । कसैले स्वास्थ्यकर्मी, भ्याक्सिन, उपकरण र खाद्यान्न सहयोग गर्नुभयो । कतिपय सामान अहिले पनि प्रयोग भइरहेका छन् । भौतिक संरचनाले त अहिले पनि हामीलाई काम गर्न सजिलो भइरहेको छ ।'
कोरोना भयो कि भन्ने भय !
दिनदिनै बढेको कोरोना र त्यसको अपडेटले आत्तिएको जस्तो तथा आफूलाई पनि कोरोना भएजस्तो महसुस डा. देवकोटाले गर्थे । एक किसिमले केही होइन भन्ने विचार पनि राख्थे । अर्को कुरा मलाई त गाह्रो भयो ला कोरोना भयो होला ! म अब आइसलेसनमा जान्छु भन्ने डर भएका मान्छे पनि भेटिए । चिन्तित भएर बस्ने । आफ्नो परिवारको चिन्ता लिएका कारण मानसिक रोगका बिरामी पनि बढेको जस्तो देखियो । उनी भन्छन्, 'सामाजिक सञ्जाल, टिभी लगायतमा पनि त्यही मात्र आउने भएकाले मानिसलाई तनावको मात्रा बढ्ने डर थियो । भ्रमित समाचार पनि आउने भएकाले समस्या भयो ।'
त्यो बेलाको समयमा यी सबै समस्या नजिकबाट हेरिरहेको हुनाले पनि देवकोटालाई कोरोनाको त्रास हुने नै भयो । उनी घरमा पनि छुट्टै कोठामा बस्ने, बच्चाहरूबाट पनि टाढा रहने गर्थे । त्यसकारण उनी र उनको परिवारलाई कोरोना संक्रमण भएन । तर पनि उनी ढुक्क भने भएनन् । सजग भइरहे ।
मन्त्रालयको अपडेट गराउँदै गर्दा भोलि कति बढ्ला ? कस्तो अवस्था आउँला ? भन्ने कुराले भने पिरोलिरहन्थ्यो । मन्त्रालयका कर्मचारीलाई पनि संक्रमण देखिन थालिसकेको थियो । घरमा आफूले नै रोग सार्छु कि जस्तो तनाव भने भइसकेको थियो ।
तथ्यांक पाउनै मुस्किल
सुरु-सुरुमा देशभर देखिएको कोरोना संक्रमणको अवस्थाबारे तथ्यांक पाउन समेत मुस्किल थियो । ब्रिफिङ गर्दागर्दै तथ्यांक आउने र थप्दै पढ्नुपर्ने अवस्था थियो । जनतालाई आधिकारिक सूचना दिनुपर्ने चुनौती पनि उस्तै थियो । डा.देवकोटा अपडेट पढ्दापढ्दै कतिपय मोबाइलमा आएका सूचनालाई भर्खरै प्राप्त सूचनाअनुसार भनेर भन्ने गर्थे ।
उनी सम्झन्छन्, 'मेरो एउटा डायरी थियो । त्यसमा दिनभर कहाँबाट कस्तो सूचना आउँछ म टिपोट गर्थे । कुन सूचना पछि के पढ्ने भन्ने कुरा पनि अर्को रङको बल पेन प्रयोग गरेर लेख्थेँ । प्रविधिको समस्याले काम गर्न चाहिँ बाधा भयो ।'
उनलाई तथ्यांक पनि साथीहरूले संकलन गर्न सहयोग गरेका थिए । तर लाइभ आउन २० मिनेट बाँकी हुँदै गर्दा पनि तथ्यांक आधिकारिक नआउनाले कर्मचारी र उनले गाह्रो अवस्था भोग्नुपर्यो । उनी भन्छन्, ‘कोरोना पछि डेटा म्यानेजमेन्टको बारेमा पनि राम्रो सन्देश गएको छ । त्यो बेलामा स्थानीय तहको डाटा र मन्त्रालयको डाटा नमिल्दा पनि समस्या भयो । आधिकारिक निर्णय नहुँदा हाम्रो सिस्टममा नै समस्या देखियो ।’
सूचना प्रवाह गर्न सिकायो
डा. देवकोटा आफू स्वास्थ्य मन्त्रालयमा बसेर यी यावत कामहरू गर्दा सूचना कसरी प्रवाह कसरी गर्ने ? सूचनाको कस्तो महत्त्व छ ? लगायतका विषयमा जानकारी भएको बताउँछन् । महामारीको बेला कस्तो सूचनाले कस्तो असर गर्छ भन्ने कुराको जनाकारी समेत भयो ।
कोरोनाले दिएको ज्ञान
कोरोना महामारीले आफूले आफूलाई र देशलाई पनि आत्मनिर्भर बनाउने ज्ञान दिएको छ । हामीले 'डे टु डे' गर्ने कुरा आफ्नो, परिवार र राष्ट्रका लागि राम्रो हुनुपर्ने सन्देश दिएको छ । उनी आफूले गर्ने काम राम्रो गरे मात्र प्रकोप नियन्त्रणमा सहयोग पुग्ने बताउँछन् ।
महामारी भएको बेला आत्तिएर नहुने बताउँदै स्वास्थ्यलाई महत्त्व र पहुँचमा राख्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘कोरोनाकै बेला भेन्टिलेटर र आइसियु पुगेन । अस्पतालमा बेड पाइएन । महामारीलाई पर्खियो भने गाह्रो हुन्छ । साधन स्रोतमा व्यवस्थापन गर्नुपर्छ । साधन स्रोतलाई समयमै प्रयोग गरेर महामारी कम गर्न पहल गर्नुपर्छ । यसो हुँदा चेक एण्ड ब्यालेन्समा गइन्छ ।’
उनी यसो गर्दा महामारीको प्रतिशत घट्ने बताउँछन् ।
कोरोनाको बेला एम्बुलेन्समै बसेर ज्यान गुमाउने पनि भएकाले समयमै त्यसको बारेमा सोच्नुपर्ने देवकोटाको भनाइ छ । महामारी नियन्त्रण गर्न निरन्तर प्रयास र सबैको साझा बुझाइ हुन जरुरी रहेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले मात्र नभएर सबै जिम्मेवार निकायको पनि साझा बुझाइ सधैँभरि हुनुपर्ने उनले उल्लेख गरे । गलत बुझाइले पनि महामारीमा असर पुर्याउने हुनाले सही बुझाइ र सूचना प्रवाह हुन जरुरी रहेको उनी बताउँछन् ।
अब स्वास्थ्यलाई प्राथमिकतामा राखौँ
नेपालीहरूले स्वास्थ्यलाई प्राथमिकतामा नराख्ने समस्या रहेको भन्दै उनले यसबारे पटक –पटक कुराहरू उठ्ने गरेको बताए । कोरोना महामारीले स्वास्थ्यलाई प्राथमिकतामा राख्न सिकाएको भने पक्कै छ । बच्चा देखी वृद्धले स्वास्थ्यमा ख्याल गर्ने बानी बनाएका छन् । कतै बहिरबाट आएर घर भित्र पस्नु अगाडि राम्रोसँग हात धुने बनी गर्नाले मात्र पनी घेरै हदसम्म सरुवा रोग रोगथाम गर्न सकिने उनको भनाइ छ ।
उनी भन्छन्, ‘सिकाइ सिकेपछि सधैँलाई काम लाग्नुपर्छ । एकपल्ट गर्ने र छाडिदिने गर्नुहुँदैन । न्यूनतम स्वास्थ्यका मापदण्ड पालना गरियो भने पनि महामारीबाट धेरै हदसम्म बच्न सकिन्छ ।’
कोरोना पछि स्वास्थ्य मात्र नभएर, अर्थ, व्यवसाय तथा अन्य कुराहरूमा पनि असर पुगेको भन्दै यसका कारणले मानसिक समस्या समेत आएको देवकोटाले उल्लेख गरे । उनी भन्छन्, ‘कोरोनाले 'डे टु डे' हुने काम र व्यवसायमा असर गरेको छ । कमाउँदै खाने गरेको मान्छेलाई अभाव भएको छ । नजिकका आफन्त र साथीभाइ गुमाउँदाको पिडा र धर्मसंस्कार अनुसार अन्त्येष्टि गर्न नपाएकोमा पनि समस्या भएको थियो । कोरोना पछि धेरै फ्याक्टरले असर गरेर पनि मानसिक समस्याका बिरामी बढे । पहिले पनि केही देखिँदै गएको थियो तर कोरोनाले मात्रा अझ बढायो ।’
दुर्गमको स्वास्थ्य अवस्था
वर्तमान अवस्थामा नेपालमा बसाइसराइको उच्च प्रकोप छ । यसले गर्दा पहाडका गाउँहरू खाली र तराईका बस्तीहरू भरिभराउ भएका छन् । गाउँका दुर्गम स्थानमा स्वास्थ्यको पहुँच विस्तार हुन सकेको छैन । स्थानीय तहले पनि दुर्गम गाउँमा स्वास्थ्यको पहुँच पुर्याउन नसकेका कुराहरू उठेका थिए । यसमा बजेट अभाव पनि एउटा पाटो थियो । तीन तहको सरकारका कारण पनि दुर्गममा स्वास्थ्य सेवा पुर्याउन समस्या भएको उनको बुझाइ छ ।
हरेक वडामा एउटा अस्पतालको परिकल्पना गरिएको भए पनि कम जनसंख्या भएका दुर्गम गाउँमा अहिले पनि नागरिक स्वास्थ्यको न्यूनतम सेवाबाट वञ्चित हुनुपरेको उनी बताउँछन् ।
‘आधारभूत स्वास्थ्य सेवा चाहिँ सरकारले पुरा गर्नुपर्छ’, उनी भन्छन्, ‘बर्सेनि रेगुलर गर्ने रोकथाममूलक कार्यक्रममा बजेट र साधन स्रोतको पनि व्यवस्थापन हुनुपर्छ ।’
लुम्बिनी प्रदेशमा नयाँ सिकाइ
प्रदेश सरकारलाई अधिकार सम्पन्न प्रदेशको रूपमा विकास गर्न नसकेको आवाजहरू उठिरहेका छन् । प्रदेश सरकार खारेज गर्नुपर्ने समेत कुरा आएका हुन् । कोरोना महामारी कै बेला देवकोटाको लुम्बिनी प्रदेशमा सरुवा भयो । ०७८ वैशाखमा लुम्बिनी प्रदेश पुगेका उनलाई त्यहाँको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन ज्यादै नै सकस परेको थियो ।
एकातिर कोरोना महामारी थियो भने अर्कोतिर लुम्बिनीका दुर्गम गाउँका जनता स्वास्थ्यको पहुँचबाट वञ्चित थिए । उनी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको प्रमुख हुँदा देशमा अक्सिजनको हाहाकार थियो । लुम्बिनीमा मृत्युदर बढी नै थियो । १२ वटा जिल्ला भएको प्रदेश भएकाले औषधी र बेडको उस्तै समस्या । त्यो कुरा मसिनो गरी सम्बोधन गर्नु उनको दायित्व थियो ।
प्रदेश सरकार र स्थानीय तहको लिङ्क संस्थागत मात्र हुनाले काम गर्न उस्तै जटिल थियो । प्रदेशले स्थानीय तहलाई बजेट पनि नदिने र कर्मचारी पनि नखटाउने भएकाले समस्या भोग्नुपर्यो । प्रदेश सरकारसँग अवसरहरू प्रशस्त भएको र केही काम पनि बाध्यकारी नभएकाले आफैँ विचार गरेर उनले कार्यक्रम र बजेट राख्नुपर्ने थियो र राखे पनि ।
लुम्बिनी प्रदेशमा भएका सबै १ सय ९ पालिकालाई कोरोनाको बेला नछुटाईकन बजेट दिएका थिए । कोरोनापछि पनि अवस्था अनुसार प्रदेशले काम गर्नुपर्ने उनको भनाइ छ । ठ्याक्कै प्रदेश र संघ सरकारको संरचना उस्तै भएको तर प्रदेश सरकार बाध्यकारी नहुने भएकाले समस्या भएको उनको बुझाइ छ ।
आफू त्यहाँ काम गर्दा प्रदेशको कुल बजेटको १० प्रतिशत भन्दा बढी स्वास्थ्य क्षेत्रमा छुट्याएको बताउँछन् ।
उनी भन्छन्, ‘हरेक शताब्दीमा केही न केही महामारी आउन सक्ने हुनाले त्यसको लागि पूर्व तयारी हुनुपर्छ । भएका साधन र स्रोतको बेलामा सही प्रयोग गर्न सिक्नुपर्छ । स्वास्थ्य बाहेकका क्षेत्रले पनि स्वास्थ्यमा चासो दिने गर्नुपर्छ । नेपालले कोरोना महामारीको बेला प्रभावकारी भूमिका खेलेको थियो । हामी सबै सँगै थियौँ ।’