काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन रोकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरुले आन्दोलन रोकेका हुन् । उनीहरुले आन्दोलन रोकेर नियमित काम गर्न थालेका छन् ।
नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका थिए ।
यस्तै, २५ भदौमा कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गरेका थिए ।
भन्सार विभागसहित अर्थ मन्त्रालयले अनावश्यक रुपमा दुःख दिने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाएको भन्दै कर्मचारीहरु आन्दोलन रोकेर काममा फर्किएका हुन् ।
विनाप्रमाण केही कर्मचारीहरु पक्राउ गरेको भन्दै उनीहरुले २७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका थिए ।
तर, प्रहरीले हिजो २७ भदौमा नै प्रहरीले अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात् कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दाको प्रतिवादी बनाउन राय दिएको छ ।
सुन तस्करी प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।