काठमाडौं । प्रधानमन्त्रीको नाममा असुली धन्दा सञ्चालन गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले फेला पारेको छ । सरकारी कार्यालय तथा निजी क्षेत्रलाई विज्ञापनको नाममा पत्र लेखेर असुलीको योजना तयार गरेको पाइएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्मा (नारायणप्रसाद ढुंगाना)ले प्रधानमन्त्रीको स्वकीय सचिवालयको नाममा पत्र पठाउने गरेको खुल्न आएको छ । पत्रमा ‘जो जससँग सम्बन्धित छ’ भन्दै रकम उपलब्ध गराउन भनिएको छ ।
यही भदौ २ गते शनिवारदेखि प्रत्येक हप्ता शनिवार ८:५० देखी ९:५० सम्म प्रसारण हुन लागेको राष्ट्र निर्माण कार्यक्रमलाई व्यावसायिक रुपमा सहकार्य गर्न व्यवस्थापनको जिम्मेवारी 'मिडिया हब प्रा.लि'लाई दिइएको छ । उक्त अभियानमा आवश्यक सहयोगको अपेक्षा गर्दै 'मिडिया हब प्रालि'मार्फत कार्यक्रम उत्पादन तथा प्रसारण शुल्क व्यवस्थापन लागि व्यावसायिक सहकार्यमा सहयोग गरिदिनुहुन पत्रमा अनुरोध गरिएको छ ।
कार्यक्रम उत्पादन 'अल थ्री मिडिया'ले गर्ने पत्रमा उल्लेख गरिएको छ ।
रकमको माग गरिएको पत्र गत साउन २८ गतेको मितिमा पठाइएको हो । पत्रको आधारमा प्रधानमन्त्रीको सचिवालयको निर्देशन बताउँदै 'मिडिया हब'ले सरकारी कार्यालयमा विज्ञापनबापत रकम माग गरेको छ । 'मिडिया हब'का कार्यकारी निर्देशक सोम धितालले पत्र साथमा राखेर प्रधानमन्त्रीको सचिवालय अन्तर्गत रहेको मिडिया टिमको अगुवाइमा भन्दै विज्ञापन मागसहित पत्र पठाएको पाइएको छ ।
धितालले पत्रमा प्रधानमन्त्री कार्यालयकै आह्वान बताउँदै 'यस टेलिभिजन कार्यक्रममा आफ्नो संस्थाको प्रवर्द्धनात्मक सामाग्री प्रचार-प्रसार गरी राष्ट्र निर्माणको अभियानमा सहभागी भई सहयोग गरिदिन हुन नेपाल सरकार प्रधानमन्त्री कार्यालय हार्दिक आह्वान गर्दछ,’ लेखेका छन् ।
पत्रमा १० मिनेटको १० लाख र ५२ मिनेटको ४० लाख भन्दै २६ वटा कार्यक्रमका लागि विज्ञापन शुल्क तोकिएको छ ।
यसबारे मलाई जानकारी नै छैन: शर्मा
यसबारे शर्माले आफूलाई यो विषयमा कुनै पनि जानकारी नभएको व्यवस्था डटकमलाई बताएका छन् । उनले भने, ‘यो पत्र कसरी बाहिर आयो थाहा छैन । म यसको बारेमा आफैँ अनुसन्धान गरिरहेको छु । नियतवश आएको जस्तो छ । म आफैँलाई थाहा छैन ।’