काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।
आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए बापत उनीहरूले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा मंगलबार नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




























