हुप्सेकोटका एक सय पाँच सुकुम्बासीलाई लालपूर्जा

हुप्सेकोटका एक सय पाँच सुकुम्बासीलाई लालपूर्जा

नवलपुर । हुप्सेकोट गाउँपालिका–२ नवलपुरका १ सय ५ घरपरिवारले एकसाथ जग्गा धनीपुर्जा पाएका छन् ।पहाडबाट बसाइसराइ गरेर पाँच दशक पहिले तराई झरेका स्थानीयलाई लालपुर्जा प्रदान गरिएको हो । 

एउटै वडाका ती व्यक्तिले तीन पुस्तासम्म पनि सुकुम्वासी बनेर बस्नुपरेकाको थियो । लालपुर्जाले ठुलो राहत दिलाएको उनीहरूले बताएका छन् । 

सरकारले पछिल्लो समय भूमि आयोग गठन गरेपछि तत्कालै आयोगसँग सम्झौता गरेर काम गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।

'पालिकाको मुख्य समस्या नै सुकुम्वासी र भूमिहीनको थियो,’ उनले भनिन्, ‘३ पुस्तासम्म आफ्नो भूमि नभएका दलित तथा भूमिहीनलाई लालपुर्जा प्रदान गर्दा म पनि खुसी छु । अब पालिकाभर नै पुर्जा वितरणलाई निरन्तरता दिइनेछ ।’

जिल्लाको कावासोती, देवचुली, मध्यबिन्दु र गैंडाकोट नगरपालिकामा अहिले धमाधम जग्गा नाप नक्साको काम भइरहेको छ । विनयी त्रिवेणी र बौदीकाली गाउँपालिकामा भने कामले गति लिन सकेको छैन । 

स्थानीय तह र आयोगको सक्रियतामा अहिले जग्गा नाप नक्सा गर्ने काम धमाधम भइरहेको राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले बताए । जिल्लामा ३० हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएका छन् । जिल्लामा पहिलो पटक हुप्सेकोट नगरपालिकामा लालपुर्जा वितरणको काम सुरु भएको हो ।