काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई निजामती कर्मचारीहरूले ‘सम्माननीय प्रधानमन्त्रीज्यू, नासुका आँसु देख्नु भएन ?’ लेखी एसएमएस पठाएका छन् ।
प्रधानमन्त्रीको मोबाइलमा शुक्रवार कर्मचारीहरूले एसएमएस पठाएका हुन् । संसद्मा संघीय निजामती सेवा विधेयक सरकारले दर्ता गर्न लागेको हुनाले एसएमएस पठाएको जनाइएको छ । सरकार मन्त्रिपरिषद्ले पारित गरेको विधेयक संघीय संसद्मा पेश गर्ने तयारीमा रहेको छ ।
विधेयकमा आफ्ना माग सम्बोधन गर्न कर्मचारीहरूले भने तापनि माग सम्बोधन नभएको पाइएकाले प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघीय मामिला मन्त्री र मुख्य सचिवलाई एसएमएस पठाएको जनाइएको छ ।
देशभरिका कर्मचारीले राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको पहलमा माग सहित एसएमएस पठाएका हुन् । उनीहरूले माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने उल्लेख गरेका छन् ।
उनीहरूले निजामती सेवा अधिकृतमुखी बनाउँदै ५ वर्ष सेवा अवधि भएकालाई १ तह र १० वर्ष सेवा अवधि भएकालाई २ तह वृद्धि सहित तीनै तहमा तहगत प्रणाली लागु गर्न माग राखेका छन् । साथै, अधिकृत तहको सेवा प्रवेश बिन्दु छैटौँ तहलाई कायम गरिनुपर्ने र छैटौँ अधिकृत तहको पदपूर्तिमा ५० प्रतिशत खुला, १० प्रतिशत बढुवा र आन्तरिक/अन्तर तह प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।
चौथो तहको पदपूर्तिमा ७० प्रतिशत खुल्ला, २० प्रतिशत बढुवा र १० आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने, अन्य पदमा हालको व्यवस्था यथावत् राखी र तोकिएको सेवा अवधि तथा शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई एघारौँ र नवौँ तहको खुला प्रतिस्पर्धामा सहभागी हुन रोक्न नहुने आदि उनीहरूको माग छ ।