काठमाडौं । संसदमा पेस भएको शिक्षा विधेयक शिक्षकले नै जलाएका छन् । शिक्षा विधेयक शिक्षकको हकहितमा नभएको भन्दै ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ नेपाल शिक्षक संघ धादिङनिकट शिक्षकहरूले जलाएका हुन् ।
जिल्ला सदरमुकाम धादिङबेँसी बीचबजारमा शिक्षकहरू जम्मा भई नयाँ शिक्षा विधेयकको विरोध गरेका छन् ।
उनीहरुले ०२८ सालमा आएको शिक्षा ऐनभन्दा पनि प्रतिगामी भएको भन्दै प्रस्तावित शिक्षा विधेयक फिर्ता गर्न माग राखेका छन् ।
सरकार, सांसद, विभिन्न दलहरूसँग पटक–पटक छलफल र कुराकानी भए पनि शिक्षकमैत्री विधेयक आउने आश्वासन मात्रै दिएको नेपाल शिक्षक संघ धादिङले जनाएको छ ।
नेपाल शिक्षक संघ धादिङका अनुसार ‘सरकारसँग ५१ र ३० बुँदे सम्झौता भएको थियो । तर, सम्झौता गरिएका मागहरू ऐनमा आएका छैनन् । विधेयकमा शिक्षकले पाउनुपर्ने सेवा–सुविधाबाट समेत बञ्चित गरेको छ
शिक्षक हुन स्नातक अध्ययन गरेको हुनुपर्ने, तर पुरानै सेवा सुविधा छ । नयाँ विधेयकमा शिक्षकको अधिकार, ट्रेड युनियन अधिकारहरू वञ्चित छन् । यस्ता थुप्रै बुँदाहरू हेरफेर हुनुपर्ने उनीहरुको माग छ ।
शिक्षकहरुले विधेयक नमान्ने भन्दै सरकारले आफ्नो माग पुरा नगरेसम्म विद्यालय बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।