काठमाडौं । सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहितविपरीत रहेको बताउँदै सडक आन्दोलन गर्ने घोषणा गरेको हो । साथै, महासंघले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको हकमा विधेयकले उचित ध्यान नदिएको आरोप लगाएको छ ।
असोज ३ गतेबाट देशभरिका विद्यालय बन्द गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने महासंघले उल्लेख गरेको छ ।
महासंघकी अध्यक्ष कमला तुलाधरले विधेयकले अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन आदि विषयमा समेत उचित ध्यान नदिएको जनाएकी छिन् ।
शिक्षकको नियुक्ति, सरुवा, बढुवाको जिम्मेवारी स्थानीय तहलाई दिए मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने उनको भनाइ छ । यस्तो जिम्मेवारी जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केही भूमिका प्रदेश तहलाई दिनुपर्ने उनले माग राखेकी छिन् ।
सरकारले यसअघि शिक्षकहरूको आन्दोलनमा सहमति जनाए तापनि कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको उनले जनाएकी छिन् ।