काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार हिले उनीहरूको परिचय गोप्य राखिएको छ।
शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।
नवीनलाई भाइ बताउने २८ वर्षीय विपेन राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए ।
खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो । मृतकको टाउको, घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।
हत्यामा प्रयोग भएको हतियार प्रहरीले खोजिरहेको छ । प्रहरी कार्यालयमा विपेनको सोधपुछ जारी रहँदा अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो । त्यसपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो । कुकुर जडिबुटीसम्म पुगेको थियो ।
सोही आधारमा प्रहरीले थप चार जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
घटना भएको सःमिल दोलखाका एमाले नेता बालकृष्ण सिवाकोटीको हो । घटनाको अनुसन्धान काठमाडौं जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको छ।