काठमाडौं । दैलेखको आठबीस नगरपालिका भौगोलिक रूपमा सम्पन्न रमणीय वातावरण, मिलेको बस्ती, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदाले भरिएको छ । पालिकामा थोरै साधन तथा स्रोतको लगानीबाट सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा विकास गर्न सकिने सम्भावना रहेको छ ।
कर्णाली नदी, खोलानाला, स्लेट खानी, प्रशस्त मात्रामा वनजंगल तथा जडीबुटी पाइने नगरपालिकामा उद्योग व्यापार पर्यटन, कृषि, पशुपालनको उच्च सम्भावना रहेको छ ।
खेतीयोग्य जमिनका साथै भिर पाखाले सिँगारिएको रामाघाट, टुनीवगर र खिडकीजिउला बजार आठबीस नगरपालिकाका मुख्य व्यापारिक केन्द्र हुन् । नगरपालिका क्षेत्रका जनताका मुद्दा, विकास निर्माणका कार्य, भावी योजना, बजेटको अवस्था लगायतका विषयमा केन्द्रित रहेर नगर प्रमुख तर्कबहादुर बडुवालसँग व्यवस्था डटकमका रोशन भट्टराईले गरेको कुराकानीको सम्पादित अंश ।
प्रमुख पदमा रहनुभएको एक वर्ष भयो, काम गर्न कत्तिको सहज छ ?
अहिलेको परिस्थिति त्यस्तै भएर होला, मलाई काम गर्न त्यति सहज भएको छैन । बजेटको अत्यन्तै कमी रहेको छ । आर्थिक वर्ष ०७७/०७८ को ९ करोड बेरुजु थियो । मन्त्रालय, विभाग सबै ठाउँमा गए तर कतैबाट सम्बोधन भएन । तिर्नुपर्ने रकम तिर्नुपर्ने भयो । फिर्ता गर्नुपर्ने रकम पनि पहिले नै खर्च गरिएको रहेछ । त्यो सबै तिर्दा वर्षभरिको विकासको रकम सकियो । बजेटको अभावले विकासका पक्षमा काम गर्न सकिरहेका छैनौं ।
संघीय र प्रदेश सरकारले बजेट कटौती गरिरहेको छ । पालिकामा दिने बजेट घटाइँदै छ । आउने बजेट पनि घटेर आउने कुरा हामीले सुनिरहेका छौँ । यो समस्या आर्थिक मन्दीका कारणले पनि आएको हुनसक्छ । यसको असर समग्र पालिकालाई नै परेको देखिन्छ ।
पालिकाभित्र प्रमुख, उप-प्रमुख र कर्मचारीप्रति सहकार्य कस्तो रहेको छ ?
खराब र असल मान्छे त जहाँ पनि हुन्छन् । कर्मचारीहरू इमन्दारिताका साथ काम गरिरहेकै छन् । बानी बिग्रेका कर्मचारीसँग काम गर्न गाह्रो हुन्छ । अरू कुरामा त त्यस्तो अप्ठ्यारो भएको छैन । जनप्रतिनिधिहरू जनताको काम गर्ने भएकाले कुनै दुबिधा रहेको छैन ।
विपक्षी दलको सहयोग छ कि छैन ?
विपक्षी दलले पनि अनावश्यक रूपमा अवरोध गरेका छैनन् । दलको भन्दा पनि यहाँ प्रवृत्तिको कुरा आउने रहेछ । खराब प्रवृत्ति भएका मान्छेले आफ्नो मात्र हित सोच्छन् । असल प्रवृत्तिका मान्छे छन् भने दल जुनसुकै भएपनि फरक पर्दैन ।
विकासका मुद्दामा यसअघि र अहिले जनताको अपेक्षा कस्ता रहेका छन् ?
हामी हुनु नहुनुले भौतिक विकासको काम रोकिँदैन । कुनै व्यक्ति असल हुँदा अलि छिटो र खराब हुँदा काममा ढिला हुने हो । बजेट अभावका कारण गर्न खोजेका काम पनि सम्पन्न गर्न सकेका छैनौं । जनताका अपेक्षा शिक्षाको पहुँच, सुलभ र सरल स्वास्थ्य सेवा, सफा खानेपानी, फराकिला बाटा र सहज यातायात हुन् । अहिले पनि यिनै र यस्तै अपेक्षा राख्ने गरेको पाइएको छ ।
घोषणापत्रका आधारमा काम गर्न सक्ने अवस्था छ कि छैन ?
आफ्नो कार्यकालमा घोषणापत्रमा बाचा गरिएका काम गर्ने प्रयास गर्नेछु । नसक्ने र असम्भव कुरा घोषणा पत्रमा उल्लेख गरेका छैन । धेरै काम सकिन्थ्यो तर बजेटको अभावले चुनौती थपिएको छ । बाटो, शिक्षा तथा स्वास्थ्यमा काम गरिरहेका छु । दैनिक रूपमा गर्नुपर्ने कामहरू भइरहेका छन् । सेवा दिनुपर्ने विषयमा गति बढाइरहेको छु । भौतिक संरचना बनाउन बजेटको अवरोध भएपनि अन्य क्षेत्रको काम भइरहेको छ ।
धार्मिक सम्पदाको अवस्था कस्तो रहेको छ ?
नगरपालिकामा जाक्सीकोट मालिका माई, भैरव मन्दिर जस्ता धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरू रहेका छन् । धार्मिक सम्पदाले सम्पन्न रहेको हाम्रो पालिकामा पर्यटकीय सम्भावना उच्च रहेको छ । हामीले पर्यटन प्रवर्धन गर्न विभिन्न विषयमा विचार गरिरहेका छौँ ।
अन्त्यमा केही कुरा राख्न चाहनुहुन्छ ?
समाजमा सबै मान्छे मिलेर काम गर्ने हो । भ्रमको खेती गरेर कसैको फाइदा हुँदैन । सत्य र सही कुरामा रहेर काम गर्ने हो । नितान्त व्यक्तिगत भलो हुने काम जो कोहीले गर्छ भने त्यस्ता मान्छे पदमा बस्न उचित हुँदैन ।