काठमाडौं । शुक्रबार न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । तर सोही सिफारिसमा परेकामध्ये दुई न्यायाधीश यसै वर्ष अवकाशमा जाँदैछन् ।
शुक्रबार उच्च अदालतको न्यायाधीशमा सिफारिस भएकामध्ये विनोदकुमार पोखरेल पनि एक हुन् । उनी इजलासमा बस्नै नपाई अवकाश हुने परिस्थितिमा छन् । न्यायाधीश पोखरेल ९ मंसिर २०८० मा ६३ वर्षे उमेर हदका कारण अवकाश हुँदैछन् । छिटोमा ३१ भदौ सम्ममा उनको नियुक्ति भएमा त्यसपछिको एक महिना उनी राष्ट्रिय न्यायिक प्रतिष्ठानको तालिममा बस्नुपर्नेछ।
उच्च अदालतमा नियुक्त न्यायाधीशलाई न्यूनतम एक महिनाको तालिमपछि मात्रै कार्यक्षेत्रमा पठाउने व्यवस्था छ । यसरी उनको कात्तिक लागेपछि मात्रै पदस्थापन हुने सम्भावना छ । चाडपर्व पनि नजिकै आइसकेकाले उनी इजलासमा बस्न नपाई अवकाश हुने सम्भावना देखिन्छ ।
अवकाशमा जाने न्यायाधिशहरूले अवकाशको एक महिनाअघि न्यायाधीशहरूले न्याय निरूपण छाडेर त्यसअघि आफैँले गरेका फैसलाको पूर्णपाठ तयार गर्न लाग्ने अभ्यास छ । यदि त्यसतर्फ केन्द्रित हुने हो भने पोखरेल ९ कार्तिकदेखि नै इजलासमा बस्न पाउने छैनन् ।
सिफारिसमा परेकामध्ये अर्का न्यायाधीश योगेन्द्रप्रसाद साह पनि ४ पुसमा अवकाश हुँदैछन् । अवकाशको समय नजिकिइसकेको र चाडबाडको बिदा समय समेत आइसकेकाले उनी एक महिना मात्रै इजलासमा बस्न पाउने देखिन्छ । यस्तै अर्का न्यायाधीश धनसिंह महराको पनि २०८१ को साउन ४ गते अवकाश हुँदै छ । उनी पनि छोटो समय करिब करिब ९ महिना उच्च अदालतमा रहने देखिन्छ ।
त्यस्तै उच्च अदालतमा सिफारिस भएका न्यायाधीशद्वय हरिशचन्द्र ढुंगाना २०८१ को २१ मंसीरमा र राधाकृष्ण उप्रेती २०८१ को फागुन १ मा अवकाश हुँदै छ ।
६३ वर्षे उमेर हदको नजिक पुगेका न्यायाधीशहरूलाई उच्च अदालतमा सिफारिस गर्दा उनीहरूको पेन्सनमा बढोत्तरी हुने भए पनि न्यायपालिकाले उनीहरूबाट प्रतिफल लिन नपाउने अवस्थाको सिर्जना भएको छ ।