काठमाडौं । अपांगता भएका व्यक्तिहरूका लागि विपद्जन्य प्रकोप व्यवस्थापनका लागि सरकारले छुट्टै नीति बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको 'अपाङ्गतामैत्री विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन आवश्यकता' विषयक कार्यक्रमका सहभागीहरूले त्यस्तो बताएका हुन् ।
उनीहरूले भू-कम्प र कोभिडले धेरै असर पारेको भन्दै विपद्मा जति काम हुनुपर्ने त्यति नभएको बताएका थिए । अपांगता भएकालाई प्रकोप व्यवस्थापनको लागि सकारकारले नै छुट्टै नीति बनाउनुपर्ने भन्दै उनीहरूले तथ्यांक संकलन गरेर त्यसअनुसार राहत व्यवस्थापन तथा उपलब्ध गराउनुपर्ने बताएका थिए । अबका दिनमा गर्नुपर्ने काम केन्द्रमा राखेर नीति कानुन बनाउन आवश्यक रहेको भन्दै उनीहरूले सबै अपांगता भएका व्यक्तिहरूलाई समेट्न आवश्यक रहेको बताएका थिए ।
अपांगता भएका महिला हिंसामा पर्ने गरेको भन्दै यसको न्यूनीकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको उनीहरूले बताए । न्यूनतम पूर्वाधारको व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै सहभागीहरूले अपांगमैत्री शौचालय, अन्य पूर्वाधारहरू समेत अपांगता भएकाहरूका लागि व्यवस्थापन हुन नसकेको गुनासो गरेका थिए ।
विपद्मा परेका अपांगता भएका व्यक्तिलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा तालिम, विपद् जोखिममा सांकेतिक सूचना प्राप्त कसरी गर्ने भन्ने विषयमा प्रशिक्षणको आवश्यकता रहेको र राज्यले पनि त्यसअनुसार व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
उनीहरूले विपद् बाहेक अपांगता भएका व्यक्तिहरू दैनिक विभिन्न खाले जोखिममा पर्ने गरेको भन्दै त्यसमा सरकार तथा समाज सबैले सहयोग गर्नुपर्ने बताएका थिए । जोखिममा परेकालाई बीमा लगायतका सुविधा उपलब्ध गराउनुपर्ने समेत उनीहरूको भनाइ थियो ।
अपांगता भएका व्यक्तिलाई राहत उपलब्ध गराउँदा भौगोलिक, लैङ्गिक, सीमान्तकृत, आदिवासी, दलित सबैलाई समेट्नुपर्ने समेत उनीहरूको माग थियो । अपांगताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले आफ्नो कार्यक्षेत्र विस्तार गर्नुपर्ने समेत उनीहरूको भनाइ थियो । नेपालमा हुन सक्ने सम्भावित विपद्हरूको पहिचान गरे उद्धार तथा राहत व्यवस्थापन गर्न सजिलो हुने उनीहरूको भनाइ थियो ।
राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीको अध्यक्ष तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अवसरमा कार्यक्रमबारे जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष सत्यदेवी वाग्लेले अपांगता भएकाहरूका लागि साना साना कुराहरूमा समेत राज्य गम्भीर बन्न नसकेको बताएका थिए ।
कार्यक्रममा अपाङ्गतामैत्री विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन आवश्यकता सम्बन्धी विषयमा केपी अधिकारीले प्रस्तुतीकरण गरेका थिए । त्यस क्रममा उनले प्राकृतिक प्रकोप तथा महामारीमा अपांगतामैत्री सञ्चार तथा पहुँचको आवश्यकता अपांगता भएकालाई मात्र हैन सरकारले पनि थाहा पाउनुपर्ने बताएका थिए ।
कार्यक्रम बहिरा महासंघका महासचिव सन्तोष के सीले सञ्चारमाध्यमले अपांगता भएकाहरूका लागि सांकेतिक भाषाको प्रयोग, सूचनाको सही सदुपयोग तथा सम्प्रेषण गर्नुपर्ने बताए ।