काठमाडौं । गुरुङ समुदायबाट सहसचिव बन्ने पहिलो महिला हुन्, मिना गुरुङ । सानैबाट सरकारी क्षेत्रमा काम गर्ने उनको चाहना थियो । सोही कारण उनी दिनरात मेहनत गर्थिन् । हुन त उनी विद्यालय तहमै पढाइमा अब्बल र जेहेन्दार विद्यार्थी हुन् । त्यसै कारण पनि उनलाई पढाइमा कुनै रोकटोक भएन ।
रामेछापको दुर्गम गाउँबाट विद्यालय शिक्षा हासिल गरेकी मिनाले एसएलसी पछि छात्रवृत्तिमा अध्ययन गरेकी थिइन । २०६९ सालमा उनले खुला प्रतिस्पर्धाबाट नेपाल न्याय सेवा अन्तर्गतको शाखा अधिकृत पदबाट सरकारी सेवामा प्रवेश गरेकी हुन् । हाल उनले जागिर खाएको १० वर्ष पुरा भएर ११ वर्ष लागेको छ । तर जागिरे जीवनमा उनले छिट्टै फड्को समेत मारिसकेकी छिन् ।
तीन वटा विषयमा स्नातकोत्तर गरेकी मिनाले आफूलाई न्याय सेवामा अब्बल प्रमाणित गरिसकेकी छन् । शाखा अधिकृत भएर न्याय सेवामा प्रवेश गरेकी उनले सर्वोच्च अदालतमा काम गरिन् ।
२०७४ सालमा उपसचिव भएकी उनी २०७९ सालमा सहसचिव बनेकी हुन् । हाल उच्च सरकारी वकिलको कार्यालय धनकुटामा सहन्यायाधिवक्ताको रूपमा कार्यरत उनी आफू सरकारी वकिल भएर राम्रो क्षेत्र रोजेकोप्रति खुसी व्यक्त गर्छिन् ।
कुनै पनि पेसाका लागि मेहनत नै ठुलो शक्ति भएको बताउने उनलाई हालसम्म लेखेका परीक्षामा फेल भएको अनुभव बेहोर्नु परेको छैन । हरेक परीक्षामा खुल्ला रूपमै पास भएको उनको अनुभव छ । तर उनी अन्तरवार्तामा भने धेरै पटक फेल भएको बताउँछिन् ।
आन्तरिक प्रतियोगितामा आरक्षणको सुविधा नभएको हुनाले उनलाई केही समस्या भने भएको थियो । हाल न्याय सेवाको मुख्य सेवामा भएको हुनाले हरेक क्षेत्रमा सहकार्य र समन्वय गरेर अगाडि बढिरहेको उनी बताउँछिन् । आफ्ना बुबा आमाले पनि सरकारी जागिरमा पहल गर्न निरन्तर साथ दिएकाले यो स्थानसम्म आउन सकेको मिनाको भनाई छ । हरेक अभिभावकले आफ्ना सन्तानलाई आफ्नो रुचि अनुसार सकारात्मक क्षेत्रमा सहयोग गर्नुपर्ने कुरामा उनी जोड दिन्छिन् ।
सरकारी सेवा १०-५ बजेसम्म मात्र होइन
मिना सरकारी पेसा जागिर खाने माध्यम मात्र नभएर सेवा र जनताको काम गर्ने थलो भएको बताउँछिन् । सोही सोच लिएर अरूले पनि काम गर्नुपर्नेमा उनको जोड छ ।
'सरकारी सेवा १० देखि ५ बजेसम्मको जागिर नभएर छुट्टै कार्यक्षेत्र र भार भएको क्षेत्र हो । अझ सरकारी वकिलको त कामको कुनै समय नै हुँदैन', उनी भन्छिन्, 'यो सेवामा आउँदा अपध्यानलाई निरन्तर प्राथमिकतामा राख्नुपर्छ । व्यवसायी क्षेत्रमा पनि छुट्टै पहिचान भएको क्षेत्र भएकाले मैले पनि यसलाई रोजेको हो ।' उनी न्याय सेवामा आएर आफूले धेरै ज्ञान बटुलेको बताउँछिन् ।
अधिकांश केशमा महिला, दलित, गरिब र पिछडिएको वर्ग नै पीडित भएको उनको भनाइ छ । सरकारी वकिल भएपछि कानुनको अधीनमा टेकेर पीडितको पक्षमा उभिनुपर्ने बताउँदै उनले यसका लागि साना साना कुराहरूको पनि अध्ययन गर्न जरुरी रहेको बताउँछिन् । आफूले १० वर्ष काम गर्दा आएका केशहरूमा अधिकांश मुद्दा हेर्दा महिला, दलित, गरिब र पिछडिएको वर्ग नै पीडित भएको उनको अनुभव छ । 'मेरो दश वर्षको यही क्षेत्रमा काग गरेको अनुभवले भन्छ । अधिकांश मुद्दाका महिला, दलित, गरिब पिछडिएको वर्ग र अल्पसङ्ख्यक नै बढी पीडित देखिनुहुन्छ', उनले भनिन् ।
अझै पनि मानिँदैन महिलालाई कार्यालय प्रमुख
मिनाले कहीँ कहीँ काम गर्दा आफू कार्यालय प्रमुख भएको स्थानमा महिलालाई प्रमुख नमान्ने जनता र कर्मचारीको धारणा समेत रहेको बताउँछिन् । यी सबै कुरा नजिकबाट नियालेकी उनले जे जसो भए पनि महिला आत्मनिर्भर हुन आग्रह गर्छिन् । सके सरकारी जागिर खाने र नसके पनि प्राइभेट जागिरमा महिलाले विशेष पहल गर्नुपर्ने उनको धारणा छ ।
उनी भन्छिन्, 'जनता र कर्मचारी पनि मेरो कार्यकक्षमा खै सर ? भनेर आउनुहुन्छ । यो अवस्था देख्दा बिस्तारै परिवर्तन होला भन्ने लागेको छ ।'
विश्वासमा कमी भएको अवस्था रहेकाले यस्ता कुरालाई चिर्नका लागि महिला निरन्तर माथिल्लो तहमा जानुपर्ने उनको भनाइ छ । यस्ता कुराले आफूलाई पाठ सिकाएको र अरूले पनि मेहनत गरे एक दिन महिलाको पनि उपस्थिति समान हुने बताउँछिन् ।
समयसँगै कानुन परिमार्जन गर्नुपर्छ
महिलालाई समेटेर बनेका कानुनहरू नीतिमा मात्र भएको र यसले व्यवहारमा समेट्न नसकेको उनी बताउँछन् । उनी समयअनुसार कानुनहरू परिमार्जन हुनुपर्ने र वर्तमान अवस्थामा बनेका सबै कानुनहरू सच्याएर अगाडि बढ्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, 'लामो समय एउटै खालको कानुन हुनु हुँदैन । पछि आएका नयाँ नयाँ इश्यूलाई पनि समेटेर कानुन बन्नुपर्छ ।'
कार्यान्वयन पक्ष कमजोर भएकाले पनि समस्या आएको उनको भनाई छ । महिलाका लागि बनेका मात्र नभएर अन्य २० वर्ष अगाडि बनेका कानुनहरू पनि सच्चाएर समयअनुसार परिमार्जन हुनुपर्ने उनको तर्क छ । पछिल्लो समय विभिन्न क्षेत्रबाट पनि यसका लागि आवाज उठिरहेकाले सच्चिएर अगाडि बढ्नुपर्ने कुरामा उनको जोड छ ।
शिक्षितबाट नै महिलालाई पछि पार्न खोजिन्छ
कतिपय ठाउँमा शिक्षित व्यक्तिबाट नै महिलाहरूलाई हेर्ने नजर फरक भएको उनको भनाइ छ । आफूभन्दा माथि महिला जान खोजेपछि पुरुषहरूले विभिन्न पक्षबाट रोक्न रोज्ने अवस्था पार गर्न आफू तयार हुनुपर्ने उनी बताउँछिन् ।
छोटो समयमा महत्त्वपूर्ण जिम्मेवारीमा पुगेकी उनी इच्छा राखेर लगनशीलता देखाएमा असम्भव हुने कुरा केही नभएको बताउँछिन् ।
उनी भन्छिन्, 'गर्यो भने असम्भव कुरा केही पनि छैन । आफूले आफूलाई हेर्दा मेरो ठाउँबाट ठुलो उपलब्धि हासिल गरेको जस्तो लाग्छ । महिलामा पनि जनजाति धेरै पछाडि परिरहनु भएको छ । तर बिस्तारै सुधार पनि भएर गएको छ । जनजाति क्षेत्रबाट महिलाहरू कम मात्र यो सेवामा भएकाले अरूले मप्रति गर्वै गर्नुहुन्छ । अझ गुरुङ समुदायले त गर्ने नै भयो ।'
मिना महिलाहरू अगाडि बढ्नुपर्ने कुरालाई जोड दिन्छिन् । विभिन्न संस्थाबाट सम्मान समेत भइसकेकी उनी पैसा कमाउन भन्दा सरकारी सेवामा सेवा भावले जोडिनुपर्ने कुरामा विश्वस्त छिन् । जस्तोसुकै काम गरेर पनि खुसी र आनन्द लिनुपर्ने बताउँदै शिक्षालाई महिलाले जहिले पनि प्राथमिकतामा राख्नुपर्ने बताउँछिन् ।